फुटको संघारमा एनआरएनए, ‘संस्था विघटनबाट जोगाउ’ भन्दै एक पछि अर्को विज्ञप्ति आउन थाले
संस्थापनइतर पक्ष निर्वाचन बहिस्कारको तयारीमा
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको निर्वाचन जति नजिकिदै छ, विवाद झन पेचिलो बन्दै गएको छ । संस्था विखण्डन हुनबाट जोगाउ भन्ने अपिल सहित एक पछि अर्को विज्ञप्ति आउन थालेका छन् ।
एनआरएनए राष्ट्रीय समन्वय परिषद् (एनसीसी) अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले मंगलवार विज्ञप्ति मार्फत एनआरएनए दुर्घटना तर्फ धकेलिएको आवास भएको बताएका छन् ।
सोमवार मात्र एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा आइसीसीमा महासचिवका उमेदवार डाक्टर केशव पौडेलले पनि विज्ञप्ति मार्फत संस्था विघटनबाट जोगाउन अपिल गरेका थिए ।
सुवेदीद्वारा जारी विज्ञप्तिमा आइसीसीद्वारा सार्वजनीक गरिएको प्रतिनिधि प्रति आपप्ति जनाइएको छ । ‘एनसीसीहरुको अधिकार क्षेत्रलाई मिचेर मनोमानी ढङ्गले आइसीसी प्रतिनिधिको नाम सूचि प्रकाशित गरिनु दुर्भाग्यपूर्ण छ ।’ सुवेदीले भनेका छन् ।
‘विश्वका ७० प्रतिशत गैर आवासीय नेपालीहरूलाई प्रतिनिधित्व गर्ने एनसीसीहरुलाई निर्वाचनमा सहभागी नै हुन नदिने वातावरण बनाएर गर्ने निर्वाचनले कस्तो परिणाम निकाल्न खोजिएको हो भन्ने सबैले बुझ्नु पर्ने बेला आएको छ ।’ सुवेदीले प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘इसीसीको ड्राइभिङ सिटमा बसेकाहरूबाट संस्थालाई सुरक्षित निकास दिने भन्दा पनि निर्वाचनको नाममा जबरजस्ती दुर्घटना तर्फ धकेलिरहेको आभास भएको छ ।’
हस्तक्षेप, अन्याय र धाँधलीका विरुद्ध प्रमाण सहित आवाज उठाइरहेका एनसीसीहरु, सरोकार राख्ने निकाय, र नेतृत्वका आकांक्षिहरुलाई संवादमा ल्याएर प्रतिनिधि चयनको समस्या समाधान गरी निर्वाचन गरिए मात्र संस्था विवाद र विखण्डन हुनबाट जोगिने छ भन्दै सुवेदीले संस्थालाई छिन्न भिन्न गर्ने प्रयासलाई निस्तेज गर्न आह्वान गरेका छन् ।
‘आम प्रवासी नेपालीहरूको साझा संस्थामा अप्रिय घटना हुन नदिन सबैले संयमता पूर्वक सही निकासको पहल र प्रतीक्षा गरौँ ।’
स्रोतका अनुसार संस्थापनइतर आसन्न चुनाव बहिस्कारको तयारीमा लागेको छ । संस्थापन पक्षले जसरी पनि पेलेर जाने नीति लिएको मुल्याङ्कन गर्दै कुल आचार्यको टिमले नै आसन्न चुनाव बहिस्कार गर्ने भएको छ । संस्थापन पक्ष जसरी पनि निर्वाचन गर्ने र संस्थापनइतर पक्ष निर्वाचन बहिस्कार गर्ने अवस्थाले एनआरएनए फुटको संघारमा पुगेको अड्कल काटिएको छ ।