एनआरएनए अभियान किन जन्ती विहीन दुलाहाहरुको भीड बन्दैछ ?
भोजबहादुर बलायर
एउटा तिब्बती भनाई छ । जो मानिस खुशी खोज्न आफु भित्रको अन्तर मनसँग बारम्बार सम्बाद नगरी, सत्यको बिश्लेषण भन्दा बाहिर रहेर एकोहरो पुर्बाग्रही दृष्टिकोण बनाउन्छ, आफुलाई विश्वास नगरी अरुमा भरपर्छ भने त्यस्ता मानिसको सुख र खुसी उत्तर दिशा मुख फर्केको गुफाको सुर्यको किरण समान हुन जान्छ । जो नत कहिले प्राप्त हुन्छ नत कसैकोलागी उपयोगी नै हुन्छ ।
हो ! अहिले गैर आवासीय नेपाली संघ (एनआरएनए) संस्था पनि उत्तर तर्फ फर्केको गुफा जस्तै बनेको छ । जसले कुरा आदर्शका गर्छ तर स्वयम् चरम विवाद, सत्ता र पद लोलुपता एवं वैश्य वर्गको समाजसेवा नीतिबाट संचालित छ ।
जबसम्म एनआरएनए भित्र वैश्यवादी समाजनीति चल्छ तबसम्म नत संस्था सुध्रिन्छ नत सेवामुखी संस्था नै बन्छ । वैश्यवादी समाजनीतिले सेवालाई केवल ब्यापारको रुपमा हेर्छ भने हरेक पटक सेवा भित्र नाफा र घाटाको कुरा गर्छ । आमूक व्यक्ति भन्दा माथि उठेर प्रवासी नेपालीको सुख दुःखको सारथी र नेपालीको सहयोगी संस्था नबन्नुको मूल कारण नै वैस्यवादी समाजसेवा र खुम्चिएको सोचाई जिम्मेवार छ । यसलाई मलजल गर्ने काम स्वार्थी भावका दरिद्र टिप्पणिकार, दाममा विकेकाहरुको सेवाले यसको अभियानको मार्ग नै घाम नलाग्ने गुफा झै उत्तर दिशा फर्काई दिएका छन् ।
एनआरएनए सँग अथाह तागत छ । यसमा केवल वैश्यवादी समाजसेवी मात्र छैनन् बौध्दिक रुपमा नेपलको नीति, नियम, विधी, विधान र विकास योजना बनाउन सहयोग गर्न सक्ने काबिल जनशक्ति पनि छ । यो शक्तिले प्रवासलाई नेपालसँग जोड्न र नेपालका नेतृत्व बर्गको थिंकट्याङ्कको रुपमा काम गर्न सक्ने क्षमता राख्न सक्छ । तर संस्थाको नेतृत्व सडकहरुमा रातोबत्तीमा गाडि चलाउने चालकको हातमा पुगेको अवस्था छ ।
कहिले आमुक देश भित्र रहेका एनसीसीको चुनाव रोक्न मुद्दा हाल्न लगाईन्छ, कहिले आफै घोटलामा फस्छ, कहिले आमुकलाई चुनाव जिताउन देश दौडाहमा लाखौ रकम स्वाहा गरेर हिड्छन।
एक आदर्श संस्था आज लाजमर्दो किसिमले अगाडि बढेको छ । कहिले आमुक देश भित्र रहेका एनसीसीको चुनाव रोक्न मुद्दा हाल्न लगाईन्छ, कहिले आफै घोटलामा फस्छ, कहिले आमुकलाई चुनाव जिताउन देश दौडाहमा लाखौ रकम स्वाहा गरेर हिड्छन । यी र यस्तै कैयौं धट्नाका अलावा यहाँ एक विग्रहको समूह चल्तिमान छ । जो भाईभाईहरु जोड्नु भन्दा फोड्नमा तल्लिन रहन्छन । अनि खाएको दानापानी र राशनको साछी बस्न जे पनि लेख्न र ओकल्न लाज मान्दैनन । यसैले यो समूह पनि एनआरएनको अभियानमा धक्का लागाउन जिम्मेवार त्यतिकै छ जति वैश्य वर्गका समाजसेवी अभितन्ता छन ।
विकृत स्वार्थमा डुबेकाहरुले नेपाल आमाको सेवा र सहयोगको नाटक मन्चन गरि भोटर सदस्यहरु किन्ने, आवास र जहाज खर्च तिरेर गुटगत डफ्फा नेपालमा उतार्ने गराएको बिगतलाई छुपाउनु पर्दैन होला । यस्ता कैयौ गलत कामहरुले गन्हाएका रातोबत्तीमा गाडी चलाउने चालक जस्तै अभियन्ताहरुबाट चलिरहेको एनआरएनएको गाडिको गन्तव्य र भावी मार्ग प्रति सवार नयाँपुस्ताका यात्रु रुपी एनआरएनएहरु भने पक्का पनि सुरक्षित छैनन । एनआरएनएको भावी गन्तव्य पनि यस्तै बाट संचालन हुने हो भने संगठन भित्रै अनिस्चिता र दुर्धटना पक्का देखिन्छ ।
यसैले नयाँ कार्यसमितिको चयनको समय भनेको एनआरएनएका अभियन्ताहरुका कामलाई कसौटीमा राखेर जाच्ने बेला हो । केही एनआरएनएका अभियन्ताहरु हिजो सम्म विभिन्न पदमा रहेर काम नगरेर उल्टो दिशामा एनआरएनए पुरयाउने काममा लागे । मुद्दा मामिला र लफडामा लागि संस्था धरासयी बनाए । तिनी नै भोलीका दिनमा मलाई जितायौ भने यो गर्छु, त्यो गर्छु भन्ने बाँचाहरु गर्ने तर पदमा रहँदा समाज फुटाउने र सामाजिक संजालमा बरालिने बाहेक केही गरेको देखिदैनन ।
आफु राम्रो बन्न आफैले केही गर्नु पर्छ नकी अरुलाई गाली गरेर भन्ने हेक्का समाजले राम्ररी बुझेको छ ।
धेरै एनआरएनएका पदधारी अभियन्ताहरु गररे देखाउनुको सट्टा बोलेर मात्र कार्यकालमा बिताउने पदभोगीको रुपमा मात्र देखिएका पनि छन । अर्को एक किसिमको एनआरएनएका अभियन्ताहरुले आफु राम्रो भएर देखाउनु पर्नेमा सधै अरुमाथी मात्र औला उठाएर आफु राम्रो हुने होडबाजी गरि रहेका छन । यस किसिमका अभियन्ताहरुलाई पनि समाजले राम्ररी नै चिनेको छ । आफु राम्रो बन्न आफैले केही गर्नु पर्छ नकी अरुलाई गाली गरेर भन्ने हेक्का समाजले राम्ररी बुझेको छ । जसलाई नयाँ पुस्ताका एनआरएनएका युवा सन्ततीहरुले त झनै नजिकबाट औंलाई रहेको पनि देखिन्छ ।
अमेरिकाको एनआरएनए भित्रको नेपाली संस्कारको एक थरी सोच जहिले पनि अरुलाई गाली गर्न माहिर र अर्को समूह त्यो गाली गर्ने समूहलाई उल्टै थप नैतिक समर्थन गर्ने परम्परा बढ्दो छ । यहाँ सही कामको प्रशंसा गर्न सक्ने तागत भित्रै मन देखि थोरैमा देखिन्छ ।
दाईहरुको चाकरी बजाउने संस्कार । दाईको सेवामा हाजिरहुने र नूनको सोझो बन्ने संस्कार ।
चलन नै छ यहाँ, आफुभन्दा कान्छो भए पनि । सम्पतिवाल भाईहरु कपाल फुलेकाहरुका पनि दाई बन्छन । दाईहरुको चाकरी बजाउने संस्कार । दाईको सेवामा हाजिरहुने र नूनको सोझो बन्ने संस्कार । जसले हामी सबैलाई एनआरएनएको निस्वाःर्थ अभियन्ता हुन र विना पद सामाजिक सेवामा लाग्नु पर्छ भन्ने चेतनाको स्तर नै स्खलित बनाई दिएको छ । दाईहरुले जे भन्या औंठाछाप ठोक्ने । अझै जहाँ नै गए पनि नेपालीहरुको संस्कार नै हो कि कसो ? सबैलाई दुलाहा नै बन्नु पर्ने ।
झनै यहाँ थोरै गन्तिका अभियन्ता होलान जो जन्ती भएर एनआरएनएको अभियन्ताको रुपमा सहयोग गर्न मन्जुर छन । चलन नै चलिसक्यो । एनआरएनए अभियान भन्नु सेवा गर्नु हैन सबैले नेता वा दुलाहा नै बन्नु पर्छ भन्ने । यहाँ प्रश्न उठ्छ । बिना जन्ती सबै दुलाह हुँदा त्यसको औचित्य भोली के हुन सक्छ ? अमेरिका कै कुरा गर्ने हो भने पनि करिव पाँचलाखको हाराहारीमा रहेका नेपाली मध्ये यो संस्थाको सदस्यता लिने केवल बीस हजार छन । यस किसिमले, यो अभियान कहाँ पुग्छ?
यसैले एनआरएनएका अभियन्ताहरुको मुल समस्याको जड नै सिमित वैश्यवादी समाजसेवीहरुको साँगुरो घेरा र धनमा आधारित एनआरएनए अभियान बनाउँदा जन्ती विनाको बेहुलाहरुको भिडको रुपमा केहीलाई उपस्थित गराउन खोजेको देखिन्छ । जसले यस अभियानमा रहेका धेरै भावी पुस्ताका जन्तीहरुमा नैरस्यता उत्पन्न गरेको देखिन्छ । यसैले हालको एनआरएनएको अभियानलाई जन्ती सहितको सच्चा दुलाहाको रुपमा रुपान्तरण गर्न युवा र बौध्दिक बर्ग जागरुक हुनु पर्छ ।
(बलायर अमेरिकामा विद्यावारधी गर्दै हुनुहुन्छ )