‘एनआरएनएले सरकार सँग मुद्दा लड्नु गलत’ : एनसीसी अध्यक्ष विश्व भेला
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) को दोस्रो विश्व भेलाले एनआरएनएले नेपाल सरकार सँग मुद्दा लड्नु गलत भएको ठहर गरेको छ ।
भर्चुअल मार्फत बुधवार सम्पन्न भेलाले एनआरएनए अन्तर्राष्ट्रिय परिषद (आइसीसी) का अध्यक्ष कुमार पन्तले सरकार विरुद्द दायर गरेको मुद्दा फिर्ता लिन र संरक्षक परिषदबाट नै एनआरएनए आइसीसीको निर्वाचन गराउन पनि माग गरेको छ ।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीका अनुसार भेलामा बोल्ने अधिकांश वक्ताले सरकारसँग मुद्दा मामिलामा जान नहुने राय राखेका थिए । सुवेदीका अनुसार भेलामा ४८ एनसीसीका प्रतिनिधिको सहभागिता रहेको थियो । जस मध्ये ३३ जना अध्यक्ष थिए । अहिले आइसीसीमा ६५ वटा एनसीसी आवद्द छन् ।
भेलाका वक्ताहरुले आइसीसीका अध्यक्ष कुमार पन्तलाई मुद्दा फिर्ता गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । यद्यपी एनसीसी अध्यक्षहरुको विश्व भेलालाई आइसीसीले अवैधानीक भनि सकेको छ । मंगलवार नै आइसीसीका प्रवक्ता डिभी क्षेत्रीले विज्ञप्ती जारी गर्दै विश्व भेला नगर्न र त्यसमा सहभागि नहुन भनेका थिए । यस्तै आइसीसी अध्यक्ष कुमार पन्तले समाजिक सञ्जाल मार्फत भेलामा सहभागि भएमा आइसीसीले एनसीसीको आवद्दता नै खारेज गर्ने चेतावनी दिएका थिए ।
आइसीसीका अध्यक्ष र प्रवक्ताको निर्देशन वर्खिलाप गर्दै आयोजना गरिएको भेलाले आइसीसीको निर्वाचन नेपाल सरकारको निर्देशन अनुसार नै गर्नु पर्ने निर्णय गरेको छ । नेपाल सरकार पराष्ट्र मन्त्रालयले आइसीसीको वर्तमान कार्यसमितिले समयावदीमा निर्वाचन नगरेको भन्दै संरक्षक परिषदलाई चुनाव गर्ने जिम्मा दिएको थियो ।
सरकारको सोही निर्देशनको विरुद्दमा कुमार पन्त पुनरावेदन अदालत पाटनमा पुगेका थिए । पाटन अदालतले अर्को निर्णय नहुँदा सम्म सरकारको निर्देशन कार्यन्वयन नगर्न आदेश दिएको छ । यस अगाडि आइसीसीको प्रतिनिधि छनौटमा धाधली भएको भन्दै एनआरएनएका तीन जना सदस्यले परराष्ट्र मन्त्रालयमा उजुरी गरेका थिए । त्यस पछि परराष्ट्र मन्त्रालयले एनआरएनए निर्वाचनमा चासो राख्दै आएको छ ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीका अनुसार आइसीसीका वर्तमान पदाधिकारी पनि आसन्न चुनावमा उमेदवार रहेका कारण अबको चुनाव संरक्षक परिषदले नै गराउदा निष्पक्ष हुने भेलाले ठहर गरेको छ । संरक्षक परिषद्को अध्यक्ष आइसीसीका पूर्व अध्यक्ष शेष घले छन् । आइसीसीले भने आफ्नो निर्वाचन समिति मार्फत चुनावी कार्यक्रम अगाडि बढाइ सकेको छ ।
आइसीसीले अवैध भनेको भेलामा आइसीसीकै उपाध्यक्ष सोनाम लामा र मन केसी सहभागि थिए । उपाध्यक्ष लामाले अध्यक्ष कुमार पन्तले एकलौटी रुपमा सरकार विरुद्ध मुद्दा लड्न गएको आरोप लगाए । उनले सरकार विरुद्ध मुद्दा लड्ने कुरा अध्यक्षको एकल निर्णय भएको र सो मुद्दाका लागि एनआरएनएको खाताको पैसा खर्च गर्ने अधिकार अध्यक्ष पन्तलाई नभएको बताए । भेलामा आइसीसीका सल्लाहाकार विश्व आदर्श पण्डित, एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगर, अष्ट्रेलियाका अध्यक्ष नन्द गुरङ लगायतले आ आफ्नो धारणा राखेका थिए ।