“हामी आयौं”
सम्पादकीय
‘अझ राम्रो गर्ने’ अभिलाशामा थातथलो छाडेर बसाइ सर्ने क्रम मानव सभ्यताको विकाससँगै हाल सम्म पनि निरन्तर छ । परिस्थिति र समयले मानिसलाई भूगोलको दूरीमा निकै टाढासम्म पाइला लम्काउन बाध्य पारेको छ ।
तर भूगोलले जति नै टाढा पुर्याए पनि प्रविधिले विश्वलाई समिपमा राखेको छ । अहिलेको विश्व प्रविधिको हो । यही प्रविधिको उपज डिजिटल पत्रिकाको भिडमा आज देखि हामी पनि जोडिन आइपुगेका छौं ।
जुनसुकै बहानामा परदेशिएको भए पनि भूगोल बाहिरको नेपालमा नेपालीभाषीको ठूलो ‘समाज’ विस्तार भएको छ । विभिन्न सपना बोकेर विश्वमा छरिएको नेपालीभाषी समाजमा दोहोरो जिम्मेवारी छ । थातथलो छाडे पनि आफ्नो पहिचान, परम्परा, संस्कृतिलाई जोगाउदै नयाँ समाजमा रुपान्तरित हुनु पर्ने छ । आफ्नो सभ्यता जोगाउदै नयाँ सभ्यतामा घुलमिल हुने पर्ने छ ।
प्रवासी समाजमा नेपाली र नेपालीभाषी विभिन्न गतिविधिमा सक्रिय हुने गरेका छन् । पहिलो पुस्ता नै विभिन्न व्यापार व्यवसायमा सफल कहलिन थालेका छन् । उच्च शिक्षा अध्ययनमा पनि अब्बल देखिन थालेका छन् । अझ भनौ नेपाललाई विश्व भर चिनाउन सफल भएका छन् । नेपाली कला,संकृतिलाई विश्वव्यापीकरण गर्न सफल भएका छन् । नेपाल विस्तार गरेका छन् । परिश्रम गरेर आफ्नो जीवन यापन सहित नेपालको आर्थतन्त्रमा पनि मुख्य सहयोग गर्न सफल भएका छन् ।
प्रवासमा रहेका नेपाली समाजमा सुख दु:ख सरोवरी छन् । तीनै सुख दु:खमा ‘समाज र समयसँग सँगसँगै’ भन्ने स्लोगन सहित आजबाट हामीले समाज टाइम्सको प्रकासन शुरु गरेका छौं ।
नेपालका साथ साथै प्रवासमा रहेका नेपाली भाषीका सामाजिक-सांस्कृतिक पहिचान, राजनीतिक, खेलुकुद, व्यापार – व्यावसाय, जीवन शैली, मनोरञ्जन, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवन जगतका विभन्न आयामका समाचार-विचार र विश्लेषणलाई समेट्छ ।
स्थानी कानुन्, परिवर्तन भइरहने नीति नियमका बारेमा प्रवासमा रहेका नेपाली र नेपाली भाषीलाई अध्यावधिक राख्ने हाम्रो प्रयास रहने छ । स्थानीय स्तरमा राज्यबाट पाउने सेवा सुविधा, बेहोर्न पर्ने क्षतिका बारेमा नेपाली समाजलाई जानकारी गराउनु पनि हाम्रो कर्तव्य हुने छ ।
हामी गालि र स्तुतिगानबाट टाढा रहने छौं । पत्रकारिताको आधारभूत सिद्धान्त भन्दा बाहिर हामी जाने छैनौ । हाम्रो कामको मुल्याङ्क गर्ने जिम्मा तपाईलाई सुम्पदै समाज र समयसँग सँगसँगै हिड्न हामीले आजबाट औपचारिक शुरु गरेका छौं ।