फुटबल प्रशिक्षक प्रदिप हुमागाईंको समस्या के एनआरएनएको मुद्दा बन्न सक्छ ?

सम्पादकीय
दुई दिन अगाडि फुटबल प्रशिक्षक प्रदिप हुमागाईंले सामाजिक सञ्जालमा स्टाटस लेख्दै क्लब छाडेको घोषणा गरे। राष्ट्रिय टिमको समेत प्रशिक्षक भइसकेका प्रदिपले पछिल्लो समय शहीद स्मारक ए डिभिजन लिग खेल्दै गरेको चर्च ब्वाईजका प्रशिक्षण दिदै आएका थिए।
उनी नेपालीमुलका अमेरिकन नागरिक हुन्। उनी सन् २०१३ मा अमेरिका आएका हुन्। अमेरिका आउनु अगाडि उनी सो वर्षको लिग च्याम्पियन थ्रीस्टारको प्रशिक्षक थिए। प्रदिप अमेरिकामा पनि पेन्सिलभेनियाका केही फुटबल एकेडेमीमा आवद्द भए। उनी फुटबल भन्दा बाहिर जान सकेनन्। त्यो भन्दा पनि उनले नेपाली फुटबल विर्सन सकेनन्।
बीचमा उनले अमेरिकन नागरिकता ग्रहण गरे। तर पनि नेपाली फुटबलका लागि ‘पागल’ बने। नेपाली नागरिकता त्यागे तर नेपाली फुटबल त्याग्न सकेनन्।
नेपालको संविधान अनुसार उनी गैरआवासीय नेपाली नागरिक (एनआरएन) हुन् । प्रदिपका अनुसार उनी सँग एनआरएन कार्ड पनि छ। तर पनि उनले क्लबमा प्रशिक्ष दिन पाएनन्। कारण बन्यो श्रमस्वीकृति ।
‘एक पटकको नेपाली सधैको नेपाली’ गैरआवासीय नेपाली संघ (एनआरएनए)को नारा नै छ। अनि विदेशमा सिकेको सिप र पुँजीलाई नेपालको विकासमा प्रयोग गर्ने भन्ने गरिन्छ। तर झण्डै आधा दशक अमेरिकामा फुटबल सिकेका प्रदिप अहिले नेपालमा कानुनी उल्झनका कारण आफ्नो ज्ञान बाढ्न नपाउने अवस्थामा छन्।
निरास हुदै उनले सामाजिक सञ्जालमा लेखे ‘श्रमस्वीकृति नपाएको हुनाले मैले चर्च ब्वाइज क्लब छाडे ।’
‘मसँगै एनआरएनए कार्ड पनि छ । यो कार्डले राजनीतिकबाहेक अरु जम्मै अधिकार प्रयोग गर्न पाइन्छ भन्ने कुरा त सुनेको हो, तर पाइएन ।’ प्रदिप समाज टाइम्स सँग उनले भने।
ए डिभिजन लिगमा अहिले छैटौं चरणको खेल चलिरहेको छ । जसमा चर्च ब्वाईज उत्कृष्ट लयमा पनि रहेको छ । अहिलेसम्म १२ अंक जोडेको चर्च ब्वाईज तालिकाको दोस्रो स्थानमा रहेको छ भने जावलाखेल युथ क्ल्ब १३ अंकका साथ शीर्ष स्थनमा रहेको छ।
प्रदिपका अनुसार श्रमस्वीकृतिका लागि क्लबले पहल गरेको थियो । चर्च ब्वाइजका अध्यक्ष रुवेन राईले पनि कानुनी उल्झनले सबैमा निरास छाएको बताउछन्।
‘उहाँधेरै निराश हुनुभयो । सुरुमा उहाँले भोलेन्टियर कोच बस्छु भन्नुभयो । त्यसैअनुसार एन्फामा पनि कुरा भयो । एन्फाले अनुमति दिएर भोलेन्टियर कोचको रुपमा बस्नुभयो । समाज टाइम्स सँग अध्यक्ष रुवेनले भने।
‘सवैले मुख्य प्रशिक्षक हुनलाई प्रोफेसनल कोच नै हुनुपर्छ भन्नुभयो र यस्तो हुँदा उहाँ नेपाली भए पनि अमेरिकन नागरिकता भएकाले श्रमस्वीकृतिका लागि जानु पर्छ भन्ने भयो । श्रमस्वीकृति नहुँदासम्म खेल हुँदा टच लाइनमा जान पाँदैन, मिडिया कन्फ्रेन्समा सहभागी हुन पाइँदैन भनियो । त्यसपछि हामीले भोलेन्टियर कोचबाट टर्मिनेट गरेर सम्झौतामा जाँउ र श्रमस्वीकृति लिएर अघि बढौं भन्यौं ।’
अध्यक्ष रुवेनका अनुसार कन्ट्रयाक्टमा गएर दुई खेल पनि सकिएको थियो। ‘उहाँको श्रमस्वीकृतिको प्रक्रिया हामीले (क्लबले एजेन्टमार्फत) अघि बढाएका थियौं । पाँचौं चरणको खेलपछि बीचमा ग्याप थियो । यसबीचमा हाम्रो टिम गोल्डकप खेल्न पनि गयो । त्यहाँ पनि उहाँले ने कोचिङ गर्नुभयो । त्यसपछि छैटौं चरणको खेल खेल्यौ । श्रमस्वीकृतिका लागि विभिन्न नीति नियमहरु चेन्ज भएको रहेछ ।’
अन्य विदेशी खेलाडी भन्दा कोचका लागि धेरै झण्झट भएको अझ एनआरएनएको हकमा मन्त्रालयबाट पूर्व स्वीकृति लिनु पर्ने कुरा आफूहरुले ढिला गरि थाहा पाएको अध्यक्ष रुवेनको भनाई।
‘एनआरएनएको हकमा मन्त्रालयबाटै पूर्व स्वीकृति पनि लिनुपर्ने रहेछ, पहिलो पटक हामीले यो कुरा थाहा पायौं । श्रमस्वीकृतिको विषयमा एक पछि अर्को झमेला आउन थालेपछि क्लबका साथीहरु पनि निराश भयौं, उहाँ पनि निराश हुनुभयो । उहाँ धेरै नै निराश भएर बरु म कोच नै हुँदैन भनेर छोड्नु भयो ।’
सरकारी प्रक्रिया पूरा हुन कति समय लाग्छ भन्ने टुङ्गो नहुदा पनि प्रशिक्षकलाई रोक्न नसकिएको अध्यक्षको भनाई छ।
‘हामीले उहाँलाई फकाउने आधार पनि भएन । कहिलेसम्म सरकारी प्रक्रिया पूरा हुन्छ, त्यो पनि थाहा भएन । उहाँको श्रमस्वीकृतिका लागि क्लबको बैठक बसेर गरेको माइनुटसमेत हामीले पेश गरेका थियौं । खेलाडीको हकमा यतिका कुराहरु नचाहिने कोचमा मात्रै चाहिने रहेछ । उहाँको लजिस्टिक खर्चहरु मात्रै हामीले व्यहोरेका छौं ।’
एनआरएनए कार्डले भिसा लगाउन नपर्ने भए पनि नेपालमा काम गर्न श्रमस्वीकृति अनिवार्य भएको वरिष्ठ अधिवक्ता सुनिल पोख्रेलको भनाई छ।
‘एनआरएनए कार्ड भएकाले भोट हाल्न बाहेक सवै चिज गर्न पाउँछ । विदेशकै पासपोर्टभएको गैर आवासीय नेपाली हो भने उसले श्रमस्वीकृति लिन पर्छ । उसलाई एनआरएनए कार्डले भिसा लगाउन पर्दैन । तर, नेपालमा काम गर्नका लागि तलब खानका लागि श्रमस्वीकृति अनिवार्य चाहिन्छ ।’ उनले भने।
वरिष्ठ अधिवक्ता सुनिलका अनुसार एनआरएनए मात्रै होइन विदेशीको हकमा मुस्किलले एक वर्षलाई श्रमस्वीकृति दिन्छ । त्यसपछि दिन अप्ठेरो हुन्छ ।
‘श्रमस्वीकृति एक वर्षलाई दिँदा पनि कन्डिसन्ल हुन्छ । नेपालमा श्रमस्वीकृति दिने भनेको यो जनशक्ति नेपालमा उपलव्ध छैन, त्यसले गर्दा मैले विदेशीलाई ल्याउनु परेको हो भनिएको हुन्छ । अनि श्रमस्वीकृति दिँदा एक वर्षलाई त मैले अनुमति दिएँ, नेपालमै एक वर्षभित्र नेपालमै त्यस्तो जनशक्ति उत्पादन गर भनेर शर्तसहित दिन्छ ।’
नेपालको संविधानले एनआरएनए नागरिकताको कल्पना गरेको छ। भलै दलहरुको राजनैतिक खिचातानीले नागरिकता ऐन अझै लागु हुन सकेको छैन्।
संविधनले एनआरएनए नागरिकलाई राजनीतिक अधिकार बाहेक अन्य अधिकार दिने भनिसकेको छ। एनआरएनए नागरकिता लागु नहुदाँ सम्म एनआरएनए कार्ड काम गर्ने भनिएको छ। तर हातमा एनआरएनए कार्ड बोकेको एउटा फुटबल प्रशिक्षकले श्रमस्वीकृति नपाउदा क्लब छोड्नु परेको छ।
विदेशमा सिकेको सिप नेपालमा प्रयोग गर्छु भन्ने सोच बनाएका एनआरएनएले अब के गर्ने ?
एनआरएनएका तीन तीन अध्यक्ष अहिले काठमाडौंमा छन्। अनि एउटा एनआरएनए जो फुटबल प्रशिक्षक पनि हो उ एक्लै निरास हुनु पर्ने हो ?
के यो विषय एनआरएनएको मुद्दा बन्न सक्छ ?