मध्यावधि निर्वाचन परिणामले आप्रवासन नीतिमा असर नपार्ने, देश निकाला जारी रहने गृहमन्त्रीको भनाइ
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिल्भेनिया / अमेरिकाको गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा जित हासिल गरे पनि आप्रवासीलाई देश निकाला गर्ने अभियान जारी रहने बताएका छन्।
बुधवार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मुलिनले भनेका छन्, “देश निकाला गर्ने प्रक्रिया जारी रहनेछ।”
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि बढाएको कडा आप्रवासन नीतिको विरोध गर्दै डेमोक्र्याटिक पार्टीले मध्यावधि निर्वाचनमा अभियान सञ्चालन गरेको थियो। निर्वाचन प्रचारका क्रममा केही डेमोक्र्याटिक नेताहरूले यू.एस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट ‘आइस’ खारेज गर्नुपर्ने माग समेत उठाएका थिए।
मुलिनले भने ‘आइस’ खारेज गर्नुपर्ने माग र उक्त निकायमाथि गरिएका आलोचनाको विरोध गर्दै आएका छन्। निर्वाचनअघि पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले मतदान केन्द्रमा ‘आइस’का अधिकारीहरूले मतदातालाई डर धम्की दिन सक्ने चेतावनी दिएपछि मुलिनले उनको आलोचना गरेका थिए। उनले क्लिन्टन अझै किन चर्चामा रहेको भन्दै प्रश्नसमेत गरेका थिए।
निर्वाचनमा जित हासिल गरेपछि डेमोक्र्याटिक नेताहरूले अब संसदमा आफ्नो शक्ति प्रयोग गर्दै ‘आइस’को गतिविधि नियन्त्रण गर्ने योजना अघि सारेका छन्। उनीहरूले भविष्यमा ‘आइस’का लागि छुट्टाइने बजेट रोक्ने तथा उक्त निकायको काम कारबाहीमाथि संसदीय निगरानी बढाउने प्रयास गर्न सक्नेछन्।
यस्तो प्रयासमा रिपब्लिकन सांसदहरूको विरोध सामना गर्नुपर्ने सम्भावना छ। त्यस्तै, संसदबाट पारित हुने कुनै पनि विधेयक राष्ट्रपति ट्रम्पले भिटो अर्थात् राष्ट्रपतीय निषेधाधिकार प्रयोग गरेर रोक्न सक्नेछन्। राष्ट्रपति ट्रम्पले पनि डेमोक्र्याटहरूले संसदमा पुनः नियन्त्रण हासिल गरे आफूले ‘मिस्टर भिटो’ को भूमिका निर्वाह गर्ने बताएका छन्।
यसैबीच, इलिनोइसकी डेमोक्र्याटिक सांसद डेलिया रामिरेजले गत महिना ‘रिइम्याजिनिङ सेफ्टी एक्ट’ नामक विधेयक प्रस्तुत गरेकी थिइन्। उक्त विधेयकमा अमेरिकी आप्रवासनसम्बन्धी सरकारी निकायहरूको संरचनामा व्यापक परिवर्तन गर्ने तथा गृह सुरक्षा विभाग ‘डीएचएस’ को सट्टा समुदाय केन्द्रित नयाँ विभाग स्थापना गर्ने प्रस्ताव गरिएको छ।
‘आइस’को आलोचक तथा प्रतिनिधिसभाको गृह सुरक्षा समितिकी सदस्य रामिरेजले आइस र अमेरिकी भन्सार तथा सीमा सुरक्षा ‘सीबीपी’ को हिरासतमा रहेका व्यक्तिहरूको मृत्यु तथा अमेरिकाबाट देश निकाला गरिएका व्यक्तिहरूको मृत्युले गृह सुरक्षा विभागको वर्तमान संरचना विघटन गरी नयाँ व्यवस्था स्थापना गर्नुपर्ने आवश्यकता देखाएको बताएकी थिइन्।
तस्विर सौजन्य : मार्कवेन मुलिन फेसबुक



















