‘अब हाँस्छ अमेरिका’का विनोद अधिकारी पक्राउको विवरण एक महिनापछि औपचारिक रुपमा सार्वजनिक
न्यु ह्याम्पसायर, अमेरिका / नेपाली कलाकारहरू ल्याएर साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएका फाइ नेपाका सञ्चालक समेत रहेका विनोद अधिकारी अमेरिकामा पक्राउ परेको विवरण एक महिना पछाडी सोमबार औपचारिक रुपमा सार्वजनिक भएको छ ।
अधिकारी माथि एक महिला माथि घरेलु हिंसा, घाँटी थिचेको र आपराधिक धम्की दिएको लगायतका आरोप लागेको प्रहरी अभिलेखबाट खुलेको छ।
न्यु ह्याम्पसायरको हुक्सेट प्रहरी विभागको अक्टोबर महिनाको डिस्प्याच लगअनुसार अधिकारीलाई अक्टोबर १, २०२६ मा घरेलु विवादसम्बन्धी घटनामा पक्राउ गरिएको थियो। प्रहरी अभिलेखमा उनको उमेर ४० वर्ष उल्लेख छ।
स्थानीय नेपाली समुदायका अगुवाहरूका अनुसार प्रहरीले सार्वजनिक गरेको सूचिमा रहेका अधिकारी ‘अब हाँस्छ अमेरिका’ सहितका विभिन्न शीर्षकमा नेपाल बाट कलाकार अमेरिका ल्याइ कार्यक्रम गर्ने व्यक्ति नै हुन ।
उनलाई यस अगाडि नै पटक पटक अदालतमा उपस्थित गराइएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा दोस्रो तहको आक्रमण, घाँटी थिचेको, सामान्य आक्रमण, घरेलु हिंसा, आपराधिक धम्की र अपराध वा चोटपटकसम्बन्धी रिपोर्ट गर्न अवरोध पुर्याएको लगायतका आरोप समावेश छन्।
अक्टोबर महिनाको डिस्प्याच लगमा नोभेम्बर २, २०२६ मा प्रिन्ट गरिएको उल्लेख छ।
हुक्सेटका अभियन्ताहरूका अनुसार अधिकारीलाई नोभेम्बर ९ सम्म हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
न्यु ह्याम्पसायरको कानुनअनुसार घाँटी थिचेको कार्य निश्चित परिस्थितिमा दोस्रो तहको आक्रमणअन्तर्गत क्लास बी फेलोनी हुन सक्छ। यस अपराधमा दोषी ठहर भए अधिकतम सात वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ। तर प्रहरीको अभिलेखमा आरोप उल्लेख हुनु दोषी ठहर हुनु होइन।
अधिकारीले अमेरिकामा नेपाली कलाकारहरूलाई आमन्त्रण गरी विभिन्न सहरमा साङ्गीतिक कार्यक्रम गर्दै आएका थिए। उनी कुनै समय नेपाल सरकारको पर्यटन दूतका रूपमा पनि चिनिन्थे।
यसअघि अमेरिका भ्रमणमा आएकी गायिका एलिना चौहानलगायत केही कलाकारले उनीमाथि अभद्र व्यवहार, मानसिक तनाव र व्यावसायिक अपरिपक्वताको आरोप लगाउँदै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए।
















