विविधताबाट सिकाइ र संस्कृतिप्रतिको सम्मानले समाजलाई जोड्छ : सांसद निक्की रिभेरा
ल्यान्कास्टर, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यकी सांसद (पेन्सिल्भेनिया स्टेट हाउस अफ रिप्रेन्जेटिभ्सकी सदस्य) निक्की रिभेराले विविधता, भाषा र संस्कृतिबाट प्राप्त हुने ज्ञानले मानिसहरूबीच सम्बन्धको पुल निर्माण गर्ने बताएकी छन्।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनिया, ल्यान्कास्टरद्वारा आइतबार आयोजित दसैँ–तिहार शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले शिक्षा र विविधताले समाजलाई जोड्ने धारणा व्यक्त गरेकी हुन्।
रिभेराले आफूले जीवनमा प्राप्त गरेको शिक्षा, विभिन्न संस्कृतिसँगको सम्बन्ध र तीन दशक लामो शिक्षण अनुभवबारे चर्चा गर्दै अरूको संस्कृति बुझ्नु र सम्मान गर्नु पनि शिक्षाकै महत्त्वपूर्ण पक्ष भएको बताइन्।
पेन्सिल्भेनियाको कार्लाइलमा हुर्किएकी रिभेराले युनिभर्सिटी अफ पिट्सबर्गमा स्पेनिस भाषा अध्ययन गरेपछि सन् १९९५ मा ल्यान्कास्टर आएको बताइन्। उनले वारविक हाई स्कुलमा ३० वर्षसम्म स्पेनिस भाषा अध्यापन गरेको उल्लेख गर्दै विद्यार्थीहरूलाई भाषा सिकाउनुका साथै अन्य संस्कृतिसँग जोड्ने काम आफ्नो जीवनको प्रमुख उद्देश्य रहेको बताइन्।
उनका अनुसार सार्वजनिक शिक्षा र सामुदायिक सेवाप्रतिको रुचिले उनलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको थियो। म्यानहाइम टाउनसिप स्कूल बोर्डमा आठ वर्ष सेवा गरेकी उनी पाँच वर्ष बोर्ड अध्यक्षसमेत बनेकी थिइन्। सुरुमा शिक्षण पेसामै अवकाश लिने सोच बनाएको भए पनि नयाँ कुरा सिक्ने जिज्ञासाले आफूलाई राजनीतितर्फ डोर्याएको उनले बताइन्।
सन् २०२४ मा पेन्सिल्भेनिया स्टेट हाउस अफ रिप्रेन्जेटेटिभ्समा निर्वाचित भएकी रिभेराले आफ्नो पहिलो दुई वर्षको कार्यकालमा धेरै नयाँ अनुभव हासिल गरेको बताइन्। आफूले तयार पारेका दुई विधेयकमा गभर्नर जोस शपिरोले हस्ताक्षर गरिसकेको जानकारी दिँदै उनले आगामी दिनमा पनि प्रगतिलाई निरन्तरता दिने आशा व्यक्त गरिन्।
‘शिक्षा विभिन्न स्वरूपमा आउँछ। विविधताबाट, आफूभन्दा फरक मानिसहरूबारे सिकेर र उनीहरूलाई बुझ्ने तथा सम्मान गर्ने भावनाबाट पनि शिक्षा प्राप्त हुन्छ,’ उनले भनिन्।
रिभेराले कार्यक्रममा सम्मानित विद्यार्थीहरूको सुखद भविष्यको कामना गर्दै नेपाली समुदायलाई दसैँ–तिहारको शुभकामनासमेत दिइन्।
नेपाली राष्ट्रिय गानदेखि देउसी–भैलोसम्म
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाले आयोजना गरेको कार्यक्रममा अमेरिकामा जन्मिएर हुर्किएका बालबालिकाहरूले आफैले नेपाली राष्ट्रिय गान गाएका थिए । कार्यक्रममा अमेरिकी राष्ट्रिय गान पनि बजाइएको थियो।
प्रमुख अतिथि रिभेराले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेकी थिइन्। त्यसपछि बालबालिकाहरूले तिहारसम्बन्धी गीतमा नृत्य प्रस्तुत गरेका थिए।
संस्थाकी अध्यक्ष शृजना पौडेलले संस्थाका वार्षिक गतिविधिबारे जानकारी गराएकी थिइन्। कार्यक्रममा यसै वर्ष विभिन्न तहमा दीक्षित भएका समुदायका विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। सांसद रिभेराले सम्मानित विद्यार्थीहरूलाई सम्मानपत्र हस्तान्तरण गरेकी थिइन्।
सम्मानित हुनेहरूमा सुमित घिमिरे, सुजित घिमिरे, सेमन गुभाजु, सन्ध्या ताज्या, सन्ध्या खड्का र बिनिता पाण्डे थिए। खड्का र पाण्डे भने कार्यक्रममा अनुपस्थित थिए।
कार्यक्रममा बालबालिकाहरूले देउसी–भैलो खेलेका थिए। देउसी–भैलोका क्रममा संकलित रकम बालबालिकाहरूलाई दामासाहीका आधारमा वितरण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा आमाहरूको समूहले पनि देउसी–भैलो प्रस्तुत गरेको थियो। उक्त कार्यक्रममा सांसद रिभेरा पनि सहभागी भई नेपाली समुदायसँगै देउसी–भैलो खेलेकी थिइन्।
नेपाली संस्कृति, चाडपर्व र नयाँ पुस्ताको सहभागितालाई समेटिएको कार्यक्रममा स्नातक विद्यार्थीहरूको सम्मानसँगै नेपाली समुदाय र स्थानीय अमेरिकी जनप्रतिनिधिबीच सांस्कृतिक सम्बन्धसमेत अभिव्यक्त भएको थियो।
















