बाढी पुनःस्थापनाका लागि नेपाललाई ३६ मिलियन डलरभन्दा बढी अमेरिकी सहायता
काठमाडौं/ गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई उद्धार, राहत तथा पुनःस्थापनाका लागि अमेरिकाले ३६ मिलियन (३ करोड ६० लाख) डलरभन्दा बढी सहायता उपलब्ध गराइरहेको जनाएको छ।
नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँगको भेटमा अमेरिकी सहयोगबारे जानकारी गराएकी हुन्। उनले भेटका क्रममा नेपाल–अमेरिका साझेदारीको महत्त्वसमेत दोहोर्याएकी छन्।
अमेरिकी दूतावासका अनुसार बोल्डिनले नेपालको व्यावसायिक वातावरण सुधार गर्न आवश्यक आर्थिक सुधारलाई तीव्रता दिन पनि आग्रह गरेकी छन्।
आर्थिक सुधारले अमेरिकी कम्पनीहरूलाई निष्पक्ष प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनामा गुणस्तरीय अमेरिकी प्रविधि र पूर्वाधारको उपयोग सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ छ।
भेटमा मानव बेचबिखनविरुद्धको कानुन निर्माण तथा बेचबिखनमा संलग्न व्यक्तिलाई जवाफदेही बनाउने विषयमा सभामुख अर्यालले देखाएको प्रतिबद्धताप्रति पनि बोल्डिनले आभार व्यक्त गरेकी छन्।
अमेरिकाले बाढीपछिको पुनःस्थापनामा सहयोग जारी राख्दै नेपालसँगको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
















