भर्जिनियाको डिटी फेस्ट : झन्डै १० हजार सहभागी
एसबर्न, भर्जिनिया / अमेरिकाको भर्जिनियास्थित एसबर्नमा शनिवार आयोजित डिटी फेस्ट २०२६ मा झन्डै १० हजार नेपाली तथा स्थानीय सर्वसाधारण सहभागी भएका छन्।
नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारको अवसरमा आयोजित सांस्कृतिक उत्सवमा नेपाली कला, संस्कृति, परम्परा र संगीतको उत्सव मनाइएको थियो।
मध्यान्ह १२ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको फेस्टिभलमा विभिन्न व्यापारिक तथा सांस्कृतिक स्टल राखिएका थिए।
कार्यक्रममा नेपाली दूतावासको समेत विशेष उपस्थिति थियो। नेवा संस्कृति झल्काउने नेवा रथ प्रदर्शन र परम्परागत ‘पुलु किसि’ अर्थात् हात्ती नृत्यले सहभागीको ध्यान आकर्षित गरेको थियो।

दसैँ–तिहारको झल्को दिने गरी आयोजना गरिएको चङ्गा उडाउने गतिविधि तथा क्यारमबोर्ड खेलमा पनि सहभागीले मनोरञ्जन लिएका थिए।
अपराह्न १ बजेदेखि सुरु भएको औपचारिक कार्यक्रममा बालबालिकाले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

सांगीतिक कार्यक्रमअघि आयोजित मःम खाने प्रतियोगिताले दर्शकको उत्साह बढाएको थियो। बालबालिकाका लागि प्रस्तुत गरिएको ‘गोरिल्ला डान्स’ पनि सबै उमेर समूहका दर्शकमाझ लोकप्रिय बनेको थियो।
नेपाली कलाकारको प्रस्तुतिमा झुमे दर्शक
साँझ आयोजित सांगीतिक कन्सर्टमा नेपाली कलाकारले प्रस्तुति दिएका थिए। मोक्ष मन्त्र ब्यान्डले आफ्नो प्रस्तुतिबाट कन्सर्टको सुरुआत गरेको थियो। त्यसपछि गायिका समीक्षा अधिकारीले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई नचाएकी थिइन्।
गायक शिव परियारले आफ्ना कर्णप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमको अन्त्यमा रक ब्यान्ड मुक्ति एन्ड रिभाइभलले प्रस्तुति दिएको थियो।

दिनभर मौसम अनुकूल रहेकाले सहभागीले उत्सवको भरपूर आनन्द लिएका थिए।
अमेरिकामा नेपाली समुदायले आयोजना गर्ने यस्ता सांस्कृतिक उत्सवले नेपाली कला, संस्कृति, परम्परा र संगीतलाई नयाँ पुस्तामाझ परिचित गराउनुका साथै नेपाली समुदाय र स्थानीय समाजबीचको सम्बन्ध विस्तार गर्न योगदान पुर्याउँदै आएका छन्।


















