पेन्सिल्भेनियामा हेडलाइट फुटेको गाडी चलाउँदा पक्राउ परेका योर्कका पास्टर डिपोर्टको मुख सम्म
योर्क, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको योर्क काउन्टीमा हेडलाइट फुटेको गाडी चलाउदा प्रहरीको कारबाहीमा परेका हाइटी नागरिक पास्टर मोलिस अगस्टभलाई देश निकाला (डिपोर्ट) गर्ने प्रयास अन्तिम समयमा रोकिएको छ। सेप्टेम्बर १७ मा हाइटी पठाउने तयारी गरिए पनि उनी विमानमा नराखिएको र अहिले पनि अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) को हिरासतमा रहेको अधिकारकर्मी समूह ‘वी आर कासा’ले शुक्रवार जारी विज्ञप्तीमा जनाएको छ।
अगस्टभलाई सेप्टेम्बर ५ मा वेस्ट योर्क बरो पुलिसले गाडीको फुटेको हेडलाइटसम्बन्धी कारणले रोकेको थियो। त्यस क्रममा प्रहरीले अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) लाई सम्पर्क गरेपछि उनी आईसीईको हिरासतमा पुगेका थिए। स्थानीय प्रहरी र आईसीईबीचको सहकार्य २८७(जी) सम्झौताअन्तर्गत रहेको वेस्ट म्यानचेस्टर टाउनसिप प्रहरी प्रमुखले बताएका छन्।
सामान्यतया हेडलाइट फुटेको गाडी चलाउँदा प्रहरीले जरिवानाको टिकट मात्र दिने गर्छ। तर २८७(जी) सम्झौता सक्रिय भएकाले, ‘वेस्ट योर्क बरो पुलिस’ ले मोलिसलाई टिकट दिनुको सट्टा सिधै आइसको हिरासतमा बुझाइएको बताइएको छ
प्रहरीको कारबाहीपछि अगस्टभलाई सुरुमा पेन्सिल्भेनियाको अध्यागमन हिरासत केन्द्रमा र त्यसपछि लुइजियानास्थित सेन्ट्रल लुइजियाना आईसीई प्रोसेसिङ सेन्टरमा सारिएको थियो। सेप्टेम्बर १६ मा उनलाई हाइटी पठाउने तयारीका लागि मियामीतर्फ सारिएको समाचार सार्वजनिक भएको थियो।
तर सेप्टेम्बर १७ मा तय गरिएको उडानमा उनलाई अन्तिम समयमा नराखिएको ‘वी आर कासा’ले जनाएको छ। शुक्रबार सार्वजनिक गरिएको संस्थाको विज्ञप्तिअनुसार अगस्टभ अझै आईसीईकै हिरासतमा छन्।
‘वी आर कासा’का अनुसार उनको परिवार, धार्मिक अगुवा, समुदायका संस्था तथा निर्वाचित प्रतिनिधिहरूले उनलाई अमेरिकामै राख्न माग गर्दै राष्ट्रव्यापी अभियान चलाएका थिए। संस्थाका कानुनी प्रतिनिधिहरूले अध्यागमन मुद्दा पुनः खोल्न र डिपोर्ट रोक्न आपत्कालीन निवेदनसमेत दायर गरेका छन्।
अगस्टभकी श्रीमती ओमारा नुनेज अमेरिकी नागरिक हुन्। उनीहरूका दुई सन्तान छन्। अगस्टभको स्थायी बसोबासको अनुमति अर्थात् ‘ग्रीन कार्ड’का लागि आवेदन पनि विचाराधीन रहेको अधिकारकर्मीहरूले बताएका छन्।
स्थानीय समाचार संस्था डब्ल्यूआईटीएफका अनुसार अगस्टभ सन् २०१६ मा कानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए। उनको शरणसम्बन्धी आवेदन सन् २०१८ मा अस्वीकृत भए पनि उनी हाइटीका नागरिकका लागि रहेको अस्थायी संरक्षित हैसियत (टीपीएस) अन्तर्गत अमेरिकामै रहँदै आएका थिए। हाइटीका लागि उक्त संरक्षण समाप्त भएपछि उनको डिपोर्ट प्रक्रिया अघि बढेको हो।
अगस्टभको ग्रीन कार्ड आवेदन अझै विचाराधीन रहेको र बोर्ड अफ इमिग्रेसन अपिल्समा उनको मुद्दा पुनः खोल्न निवेदन तथा लुइजियाना संघीय अदालतमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन पनि विचाराधीन रहेको ‘वी आर कासा’ले जनाएको छ।
‘वी आर कासा’की कानुनी तथा सेवा प्रमुख आमा फ्रिम्पोङले विमानमा पठाउने प्रयास रोकिएपछि थप कानुनी प्रक्रिया अघि बढाउन समय प्राप्त भएको बताएकी छन्। तर अगस्टभको अवस्था अझै टुंगोमा नपुगेको र उनी आईसीई हिरासतमै रहेको उनको भनाइ छ।
पेन्सिल्भेनिया राज्यकी प्रतिनिधि क्यारोल हिल–इभान्सले अगस्टभको ग्रीन कार्ड आवेदनलाई निष्पक्ष रूपमा समीक्षा गर्नुपर्ने बताएकी छन्। नागरिक अधिकार संस्था एनएएसीपीको पेन्सिल्भेनिया राज्य सम्मेलनले पनि उनको अध्यागमन प्रक्रियालाई स्थापित कानुनी प्रक्रियाअनुसार अघि बढाउन आग्रह गरेको छ।
यसैबीच, आईसीईले अगस्टभको अन्तिम डिपोर्ट आदेश रहेको र उनी डिपोर्ट नभएसम्म हिरासतमा रहने बताएको छ। त्यसैले बिहीबारको उडानमा नपठाइए पनि उनको डिपोर्ट प्रक्रिया पूर्ण रूपमा समाप्त भएको छैन।
कभर फोटो एआईको सहायतामा















