न्यु जर्सीमा इन्द्र जात्रा : संस्कृति संरक्षणसँगै बाढीपीडितलाई सहयोग गर्ने उद्देश्य
न्यु जर्सी, अमेरिका / नेपाली तथा नेवा समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, कला र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले इन्द्र जात्रा २०२६ न्यु जर्सीमा आयोजना हुने भएको छ। यस वर्षको इन्द्र जात्रालाई नेपालमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यसँग पनि जोडिएको आयोजकले जनाएको छ।
एनजे धिमे डान्स ग्रुप को आयोजनामा तथा विभिन्न स्थानीय संघ–संस्था र समुदायको सहकार्यमा सेप्टेम्बर २०, २०२६ मा भ्यान साउन काउन्टी पार्क, प्यारामस, न्यु जर्सीमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।
नेपालको प्राचीन तथा महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको इन्द्र जात्रालाई प्रवासमा पनि जीवन्त राख्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रममा परम्परागत तथा सांस्कृतिक नृत्य, धिमे बाजा, संगीत, मनोरञ्जन, परम्परागत खानाका परिकार तथा सामुदायिक भेटघाट लगायतका कार्यक्रम रहनेछन्। आयोजकका अनुसार कार्यक्रममा परम्परागत खाना पनि निःशुल्क उपलब्ध गराइनेछ।
बाढीपीडितका लागि सहयोग
यस वर्षको इन्द्र जात्रालाई ‘उद्देश्यसहितको उत्सव’का रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। हालै नेपालमा आएको बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमार्फत बाढीपीडित परिवारको राहतका लागि उपलब्ध गराइने आयोजकले जनाएको छ।
कार्यक्रमका माध्यमबाट विपद्मा परेका नेपालीलाई सहयोग गर्नुका साथै सांस्कृतिक पर्वको निरन्तरतालाई पनि कायम राख्ने उद्देश्य रहेको आयोजकको भनाइ छ। आयोजकले ‘शोकलाई शक्तिमा रूपान्तरण गर्दै संस्कृति र मानवीय सहयोगलाई सँगसँगै अघि बढाउने’ आह्वान गरेको छ।
सहयोगलाई थप प्रभावकारी बनाउन सीमित अवधिका लागि प्राप्त सहयोग बराबरको रकम म्याचिङ फन्डमार्फत थपिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सहयोग र प्रायोजनको आह्वान
इन्द्र जात्रा सफल बनाउन आयोजकले न्यु जर्सी तथा आसपासका नेपाली, नेवा समुदाय, व्यवसायी, संघ–संस्था तथा संस्कृतिप्रेमी सबैलाई सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।
प्रायोजनका लागि ब्रन्ज १०० डलर, सिल्भर २०० डलर, गोल्ड ३०० डलर र प्लाटिनम ५०० डलरका तह निर्धारण गरिएको छ। अन्य कुनै पनि रकमको सहयोगलाई समेत आयोजकले स्वागत गर्ने जनाएको छ।
सहयोगका लागि जेलमार्फत njdhimedance@gmail.com मा रकम पठाउन सकिनेछ।
आयोजक एन. जे. धिमे डान्स ग्रुप ले परिवार तथा साथीभाइसहित कार्यक्रममा सहभागी भएर इन्द्र जात्रालाई सफल बनाउन तथा नेपाली कला–संस्कृतिको संरक्षणमा योगदान गर्न सबैलाई आग्रह गरेको छ।















