ह्यारिसबर्गमा तीज कार्यक्रमबाट नेपालमा बाढीपीडितका लागि १५ सय डलर सहयोग
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा माउन्ट एभरेस्ट रेस्टुरेन्टद्वारा आयोजित तीज कार्यक्रमबाट नेपालका बाढीपीडितका लागि १५ सय अमेरिकी डलर (करिब २ लाख ७८ हजार रुपैयाँ) सहयोग गरिएको आयोजकले जनाएको छ।
गत सेप्टेम्बर १२ मा डाउन टाउनमा रहेको माउन्ट एभरेष्ट रेस्टुरेन्टमा आयोजित तीज कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा एउटा टिकटको मूल्य २० डलर राखिएको थियो। आयोजकले यसअघि नै प्रत्येक टिकटबाट ५ डलर नेपालका बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेको थियो।
टिकटबाट प्राप्त रकमसँगै सेप्टेम्बर ८ देखि ११ तारिखसम्म रेस्टुरेन्टबाट भएको नाफाबाट समेत रकम थप गरी कुल १ हजार ५ सय डलर नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाइएको आयोजकले जनाएको छ।
माउन्ट एभरेस्टको तीज कार्यक्रम गत वर्षदेखि सुरु गरिएको हो। कार्यक्रमको उद्देश्य नाफा–घाटाभन्दा पनि पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गको डाउन टाउनमा नेपाली कला, संस्कृति र परम्परालाई परिचित गराउनु रहेको रेस्टुरेन्ट सञ्चालक श्री पुनले बताए।
पुनले कार्यक्रम सफल बनाउन सहभागी तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाली कला र संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक कार्यलाई निरन्तरता दिने बताए।















