१८ वर्षको मौनतापछि बोल्दै भुटानका पूर्व राजनीतिक बन्दी
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ भुटानका राजनीतिक बन्दीहरूको विश्वव्यापी अभियान (जीसीआरपीपीबी ) ले भुटानमा लामो समय राजनीतिक बन्दीका रूपमा कारागारमा रहेका दुई पूर्व बन्दीसँग विशेष भर्चुअल अन्तरक्रिया आयोजना गर्ने भएको छ।
‘१८ वर्षको मौनता—अब उनीहरू बोल्दैछन्’ शीर्षकमा आयोजना हुने कार्यक्रममा हालै रिहा भएका हस्ता बहादुर राई र चतुरमान तामाङ सहभागी हुनेछन्। उनीहरूले भुटानको चेम्गाङ केन्द्रीय कारागारमा झन्डै १८ वर्ष बिताएको आयोजकले जनाएको छ।
कार्यक्रममा राई र तामाङले आफूहरूको गिरफ्तारी तथा कारागार जीवन, लामो समयको बन्दी अवस्थापछि भएको रिहाइ र भुटानका राजनीतिक बन्दीहरूको वर्तमान अवस्थाबारे आफ्ना अनुभव तथा धारणा सार्वजनिक गर्नेछन्।
कार्यक्रममा सहभागीहरूले उनीहरूका अनुभवबारे प्रत्यक्ष प्रश्नसमेत सोध्न सक्ने आयोजकले जनाएको छ।
भर्चुअल अन्तरक्रिया अक्टोबर १०, २०२६ शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म (अमेरिकी पूर्वी समय) जुममार्फत हुनेछ।
कार्यक्रममा सहभागी हुन अक्टोबर ८ सम्म नाम दर्ता (आरएसभीपी) गर्नुपर्नेछ। फ्लायरमा रहेको क्यूआर कोड स्क्यान गरी दर्ता गरेपछि सहभागीहरूलाई जुमको पहुँच लिंक पठाइने आयोजकले जनाएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि gcrppb@gmail.com मा सम्पर्क गर्न सकिनेछ।















