अमेरिकामा पहिलोपटक ‘एलियन टेररिस्ट रिमुभल कोर्ट’ प्रयोग, अफगान महिला निष्कासन
सन् २०२४ को निर्वाचन दिवसमा आईएसआईएसद्वारा घटाइएको सामूहिक गोलीकाण्डको योजनालाई समर्थन गरेको आरोपमा नाजिरा हाजी जादा अमेरिकाबाट डिपोर्ट
वासिङ्टन / अमेरिकी सरकारले पहिलोपटक ‘युनाइटेड स्टेट्स एलियन टेररिस्ट रिमुभल कोर्ट’ (एटीआरसी) विदेशी आतंकवादी निष्कासन अदालत प्रयोग गर्दै अफगान नागरिक नाजिरा हाजी जादालाई अमेरिकाबाट निष्कासन गरेको जनाएको छ।
४७ वर्षीया जादा टेक्ससको फोर्ट वर्थमा बस्दै आएकी थिइन्। उनले आफूलाई ‘एलियन टेररिस्ट’ भएको स्वीकार गर्दै निष्कासन आदेशविरुद्ध अपिल नगर्ने सहमति गरेकी थिइन्।
अमेरिकी न्याय विभागका अनुसार जादा परिवारकी प्रमुख सदस्यका रूपमा २०२४ को निर्वाचन दिवसमा आईएसआईएसबाट प्रेरित सामूहिक गोलीकाण्ड गर्ने योजनालाई समर्थन गरेकी थिइन्। उक्त योजनामा उनका छोरा अब्दुल्लाह हाजी जादा र ज्वाइँ नासिर अहमद तवहेदी संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए।
एटीआरसीले अगस्ट २०, २०२६ मा जादालाई अमेरिकाबाट हटाउने आदेश जारी गरेको थियो। उक्त आदेश सेप्टेम्बर ११ मा सार्वजनिक गरिएको हो, जबसम्म जादा आफ्नो मूल देश फर्किसकेकी थिइन्। न्याय विभागका अनुसार यो सन् १९९६ मा अमेरिकी कांग्रेसले स्थापना गरेको एटीआरसीमा परेको पहिलो मुद्दा हो।
न्याय विभागका अनुसार जादामाथिको निष्कासन प्रक्रिया अघि बढाउन महान्यायाधिवक्ता टोड ब्लान्चेबाट प्रमाणित आवेदन जुलाई १५ मा दायर गरिएको थियो। उनी जुलाई ३० मा पहिलोपटक खुला अदालतमा उपस्थित भएकी थिइन्। एटीआरसीका प्रमुख न्यायाधीश जोआन एन. एरिक्सनले सुनुवाइको अध्यक्षता गरेकी थिइन्।
सरकारले राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील सूचना सार्वजनिक गर्न नमिल्ने अवस्थामा एटीआरसीसम्बन्धी कानुनअनुसार वर्गीकृत सूचना पनि प्रयोग गरेको जनाएको छ। जादा र उनका दुई संघीय सार्वजनिक प्रतिरक्षा वकिललाई सरकारको मुद्दासँग सम्बन्धित करिब आधा टेराबाइट दस्तावेज उपलब्ध गराइएको थियो। त्यसपछि जादाले आफू ‘एलियन टेररिस्ट’ भएको स्वीकार गर्दै निष्कासन आदेशविरुद्ध अपिल गर्ने अधिकार त्यागेकी थिइन्।
निर्वाचनका दिन आक्रमणको योजना
जादाका छोरा अब्दुल्लाह र ज्वाइँ तवहेदीलाई अक्टोबर ७, २०२४ मा पक्राउ गरिएको थियो। उनीहरूले निर्वाचन दिवसमा आक्रमणका लागि प्रयोग गर्ने उद्देश्यले हतियार र गोलीगठ्ठा गोप्य रूपमा काम गरिरहेका एफबीआईका कर्मचारीबाट खरिद गर्न खोजेको न्याय विभागले जनाएको छ।
अब्दुल्लाह पक्राउ पर्दा १७ वर्षका थिए। उनले वयस्कका रूपमा दोष स्वीकार गरेपछि १५ वर्षको संघीय जेल सजाय पाएका छन्। सजाय पूरा गरेपछि उनलाई अफगानिस्तान पठाउने न्यायिक आदेशमा पनि उनले सहमति जनाएका थिए।
२८ वर्षीय तवहेदीले जुन १३, २०२५ मा आईएसआईएसलाई सामग्री तथा स्रोत उपलब्ध गराउने षड्यन्त्र र संघीय आतंकवादी अपराधका लागि हतियार तथा गोलीगठ्ठा प्राप्त गर्ने षड्यन्त्रसम्बन्धी दुई अभियोगमा दोष स्वीकार गरेका थिए। उनीमाथि अझै सजाय निर्धारण हुन बाँकी रहेको न्याय विभागले जनाएको छ।
अदालती कागजातअनुसार तवहेदीले २०२४ को जुनदेखि अक्टोबरसम्म कम्तीमा अर्को एक व्यक्तिसँग मिलेर दुईवटा एके–४७ राइफल, ५०० राउन्ड गोली र १० वटा म्यागजिन खरिद गर्ने योजना बनाएको स्वीकार गरेका थिए। उद्देश्य नोभेम्बर ५, २०२४ को निर्वाचन दिवस आसपास आईएसआईएसका तर्फबाट ठूलो जनधनको क्षति हुने आक्रमण गर्नु रहेको कागजातमा उल्लेख छ।
१९९६ मै बनेको थियो एटीआरसी
अमेरिकी न्याय विभागका अनुसार एलियन टेररिस्ट रिमुभल कोर्ट सन् १९९६ मा कांग्रेसले स्थापना गरेको विशेष संघीय अदालत हो। सरकारले कुनै विदेशी नागरिक आतंकवादी भएको कुरा सम्भावनाको प्रधानताका आधारमा प्रमाणित गर्न सकेमा त्यस्तो व्यक्तिलाई अमेरिकाबाट छिटो निष्कासन गर्ने अधिकार यस अदालतसँग छ।
अदालतमा राष्ट्रिय सुरक्षामा जोखिम पर्ने वर्गीकृत सूचना प्रयोग गर्न सकिने व्यवस्था छ। आवश्यक परे विदेशी नागरिकलाई सरकारी खर्चमा कानुनी प्रतिनिधित्व उपलब्ध गराउने र दुवै पक्षलाई डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किटको अमेरिकी अपिल अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था पनि रहेको न्याय विभागले जनाएको छ।
यस प्रक्रियामा न्याय विभागको राष्ट्रिय सुरक्षा डिभिजन, एफबीआई, यूएस मार्सल्स सर्भिस तथा होमल्यान्ड सेक्युरिटीअन्तर्गतका इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई), होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई) र यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) लगायतका निकाय सहभागी भएको न्याय विभागले जनाएको छ।















