पेन्सिल्भेनिया मेकानिक्सबर्गमा बाल यौन दुर्व्यवहारको आरोपमा देव पौडेल पक्राउ
अपर एलेन टाउनसिप, पेन्सिलभेनिया / पेन्सिलभेनियाको मेकानिक्सबर्गमा बाल यौन दुर्व्यवहारको आरोपमा ५० वर्षीय देव पौडेल पक्राउ परेका छन्।
अपर एलेन प्रहरीले सेप्टेम्बर १०, २०२६ मा विगत केही वर्षदेखि भएको बाल यौन दुर्व्यवहारसम्बन्धी घटनाबारे सूचना पाएपछि अनुसन्धान थालेको जनाएको छ।
अनुसन्धानका क्रममा पौडेलले १३ वर्षभन्दा कम उमेरका एक नाबालिगमाथि अनुचित यौन सम्पर्क गरेको आरोप पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सेप्टेम्बर ११ मा पौडेलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। सेप्टेम्बर १२ मा उनलाई फेला पारेर कुनै घटना नभई नियन्त्रणमा लिइएको थियो।
पौडेलमाथि बालिकामाथि बलात्कार, यौन दुर्व्यवहार, जबर्जस्ती यौन सम्पर्क, गम्भीर अश्लील यौन दुर्व्यवहार, अश्लील यौन दुर्व्यवहार, नाबालिगलाई भ्रष्ट बनाएको तथा बालबालिकाको कल्याण जोखिममा पारेको लगायतका आरोप लगाइएको छ।
पौडेललाई कम्बरल्यान्ड काउन्टी जेलमा राखिएको छ। उनको प्रारम्भिक सुनुवाइको मिति पछि तोकिने प्रहरीले जनाएको छ।
अनुसन्धानमा अपर एलेन प्रहरीलाई अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग तथा यूएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनका एजेन्टहरूले सहयोग गरेका थिए।
प्रहरीले घटनाको अनुसन्धान अझै जारी रहेको जनाएको छ। अदालती प्रक्रियाबाट दोष प्रमाणित नभएसम्म पौडेलमाथि लागेका आरोपलाई आरोपकै रूपमा लिनुपर्नेछ।















