अमेरिकामा जन्मिएका विदेशी सरकारी कर्मचारीका बच्चाहरूका लागि नयाँ नियम घोषणा
वासिङ्गटन / अमेरिकामा जन्मिएका विदेशी सरकारी कर्मचारीका बच्चाहरूका लागि नयाँ नियम घोषणा गरिएको छ । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) द्वारा शुक्रवार साँझ जारी विज्ञप्तीमा विदेशी सरकारका कर्मचारीका अमेरिकामा जन्मिएका निश्चित सन्तानलाई वैधानिक स्थायी बासिन्दाका (ग्रीनकार्ड) रूपमा दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
यो नियम सेप्टेम्बर ४ तारिख शुक्रवार देखि नै लागु हुने जनाइएको छ ।
यस अगाडि अमेरिकामा विदेशी कूटनीतिक अधिकारीका रूपमा कार्यरत व्यक्तिका सन्तानलाई मात्र वैधानिक स्थायी बासिन्दाका रूपमा दर्ता गर्न सकिने व्यवस्था थियो ।
तर अब राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार अब दुवैमध्ये कुनै पनि अभिभावक अमेरिकी नागरिक नभएको र बच्चा जन्मिँदा कम्तीमा एक जना अभिभावक विदेशी सरकारका कर्मचारी रहेको अवस्थामा योग्य सन्तानलाई पनि यस्तो दर्ताको अवसर दिइएको छ।
अन्तरिम अन्तिम नियमले यसअघि प्रयोग हुँदै आएको “विदेशी कूटनीतिक अधिकारी” भन्ने शब्दावलीलाई हटाएर यसको स्थानमा अझ व्यापक “विदेशी सरकारका कर्मचारी” भन्ने शब्दावली प्रयोग गरेको छ।
नयाँ नियमअनुसार “विदेशी सरकारका कर्मचारी” भन्नाले अमेरिकाका लागि मान्यता प्राप्त विदेशी कूटनीतिक अधिकारी, सम्बन्धित विदेशी देशकै नागरिक रहेका केही विदेशी दूतावास वा वाणिज्य दूतावासका कर्मचारी, विदेशी सरकारका तर्फबाट आधिकारिक हैसियतमा कार्यरत व्यक्ति तथा अन्तर्राष्ट्रिय संगठनबाट प्राप्त विशेष प्रतिरक्षा सुविधा भएका अन्तर्राष्ट्रिय संस्थामा कार्यरत व्यक्तिलाई समेटिने जनाइएको छ।
तर, विदेशी अधिकारीका व्यक्तिगत कर्मचारी वा सहयोगी, राज्यको स्वामित्वमा रहेका केही प्रतिष्ठानका कर्मचारी, तेस्रो देशका नागरिक भएर विदेशी सरकारका लागि काम गर्ने व्यक्ति, निश्चित प्रकारका ठेकेदार तथा व्यक्तिगत प्रयोजनका लागि अमेरिका भ्रमण गरिरहेका विदेशी सरकारका कर्मचारीलाई भने यस परिभाषामा समावेश गरिएको छैन।
डीएचएसले फारम आई–४८५, अर्थात् स्थायी बसोबास दर्ता वा स्टाटस समायोजनका लागि दिइने आवेदन फारम र त्यससँग सम्बन्धित निर्देशनमा पनि संशोधन गरेको छ।
संशोधनपछि “कूटनीतिक हैसियतअन्तर्गत अमेरिकामा जन्मिएका व्यक्तिहरू” भन्ने उल्लेखको स्थानमा “अमेरिकामा विदेशी सरकारका कर्मचारीका रूपमा कार्यरत व्यक्तिका सन्तान” भन्ने शब्दावली प्रयोग गरिनेछ। नियममा भएको परिवर्तनअनुसार फारममा अन्य आवश्यक संशोधनसमेत गरिएको छ।
त्यसैगरी, डीएचएसले फारम जी–३२५आर, अर्थात् जीवनीसम्बन्धी विवरण तथा दर्ता फारममा पनि संशोधन गरेको छ। अमेरिकामा जन्मिए पनि जन्मकै समयमा अमेरिकी नागरिकता प्राप्त नगर्ने, संशोधित नियमअनुसार स्थायी बसोबासका लागि दर्ता नगर्ने र आप्रवासन तथा राष्ट्रियता ऐनअन्तर्गत विदेशी नागरिक दर्तासम्बन्धी आवश्यकतामा पर्ने बालबालिकालाई समेट्न फारममा परिवर्तन गरिएको जनाइको छ ।














