कम पारिश्रमिक देखाएर एच–१बी ल्याउन खोजेको आरोपमा आईटी कम्पनीका आवेदन अस्वीकार
भर्मोन्ट, अमेरिका / सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेस ( यूएससीआइएस) को भर्मोन्टस्थित कार्यालयले एउटा ठूलो आईटी परामर्श कम्पनीले विदेशी प्रविधि कामदारका लागि दायर गरेका एच–१बी आवेदनमा गम्भीर अनियमितता फेला पारेको जनाएको छ।
यूएससीआइएसले शुक्रवार जारी गरेको सूचनामा उक्त कम्पनीले उच्च दक्षता आवश्यक पर्ने प्रविधिसम्बन्धी पदहरूको कामको प्रकृति, जिम्मेवारी र आवश्यक योग्यता हेर्दा कायम हुनुपर्नेभन्दा कम तलब पर्ने श्रेणी देखाएर एच–१बी आवेदन दायर गरेको उल्लेख छ ।
पदका लागि आवश्यक सीप, अनुभव र जिम्मेवारी उच्च भए पनि कम्पनीले ती पदलाई तुलनात्मक रूपमा कम पारिश्रमिक पर्ने श्रेणीमा राखेर विदेशी कामदार नियुक्त गर्न खोजेको यूएसीआइएसको भनाइ छ।
“भर्मोन्टस्थित एउटा ठूलो आइटी कन्सल्टिङ कम्पनीका तर्फबाट पेश गरिएका एच –१ बी पेटिसनहरू पहिचान गरेको छ, जसमा दक्ष प्रविधि सम्बन्धी कामहरूलाई पदको कर्तव्य र आवश्यकताले माग गरेभन्दा कम तलबको तहमा वर्गीकरण गरिएको थियो।” यूएससीआइएसले सामाजिक सञ्जालमा भनेको छ,”यो अभ्यासले तोकिएको न्यूनतम पारिश्रमिकलाई घटाउँछ र अमेरिकी श्रमिकहरूका लागि अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्दछ।”
“हामीले अमेरिकी श्रमिकहरूको रक्षा गर्न र रोजगारमा आधारित आप्रवासन कार्यक्रमहरूको निष्पक्षता कायम राख्नका लागि धेरै निवेदनहरू अस्वीकार र खारेज गरेका छौँ।” सूचनामा भनिएको छ, “अमेरिकी कामदारको रक्षा गरौँ ।”














