एनभिडियाका सिइओ जेन्सन ह्वाङद्वारा नेपाललाई एक करोड अमेरिकी डलर सहयोग, दैवीप्रकोप उद्धार कोष १० अर्ब नाघ्यो
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइयो) जेन्सन ह्वाङले नेपालको प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहतका लागि एक करोड अमेरिकी डलर झण्डै एक अर्ब ५२ करोड नेपाली रुपैयाँ सहयोग प्रदान गरेका छन्।
रसुवा जिल्लाको भोटेकोशी नदी बेसिन क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट पीडित परिवारको उद्धार, राहत र पुनर्निर्माण कार्यका लागि उनले सो रकम सहयोग गरेका हुन्।
नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत एक भिडियो संदेश जारी गर्दै यस अभूतपूर्व सहयोगको आधिकारिक जानकारी दिएका हुन्। भिडियो सन्देशमा अर्थमन्त्री वाग्लेले नेपाल सरकार र सम्पूर्ण नेपालीका तर्फबाट सिइओ ह्वाङप्रति हार्दिक आभार प्रकट गरेका छन्।
के हो एनभिडिया र को हुन् जेन्सन ह्वाङ?
सन् १९९३ मा जेन्सन ह्वाङसहित ३ जना इन्जिनियरहरूले स्थापना गरेको वर्तमान प्रविधिको संसारमा आर्टिफिसियल इन्टेलिजेन्स क्रान्तिको मुख्य मेरुदण्ड मानिन्छ।
सुरुमा भिडियो गेमका लागि ग्राफिक्स कार्ड बनाउने यो कम्पनी, हाल एआई मोडेलहरू ट्रेन गर्न र चलाउन आवश्यक पर्ने अत्याधुनिक सुपर-चिप्स उत्पादनमा विश्वकै एकाधिकार जस्तै राख्ने सबैभन्दा महँगो प्रविधि कम्पनीहरूमध्ये एक हो।
कम्पनीका सिइओ जेन्सन ह्वाङ प्रविधि जगतका एक प्रभावशाली दूरदर्शी नेता र विश्वकै शीर्ष धनीहरूको सूचीमा पर्छन्। उनको नेतृत्वमा रहेको एनभिडियाले एआई बजारको तीव्र विस्तारसँगै ट्रिलियन डलर क्लबमा आफ्नो बलियो स्थान बनाएको छ।
प्रधानमन्त्री राहत कोषमा नयाँ रेकर्ड
अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाका सिइओबाट प्राप्त भएको यो ऐतिहासिक र ठूलो वैदेशिक सहयोगसँगै ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा संकलित कुल रकम १० अर्ब रुपैयाँ नाघेको छ।
“नेपाल सरकारको तर्फबाट म श्री जेन्सन ह्वाङलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड डलर सहयोग गर्नुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” मन्त्री वाग्लेले आफ्नो सन्देशमा भनेका छन्।
उनले यो सहयोग नेपालका लागि अत्यन्तै अर्थपूर्ण रहेको र यसले संकटको घडीमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता दर्शाएको उल्लेख गरे।
अन्य दाताहरूलाई पनि प्रोत्साहन मिल्ने अपेक्षा
पछिल्लो समय नेपालले निकै ठूला जलवायुजन्य र प्राकृतिक विपत्तिहरूको सामना गरिरहेको सन्दर्भमा विश्वप्रसिद्ध एआई तथा सेमिकन्डक्टर क्षेत्रका लिडरबाट आएको यो सहयोगले विश्वभरका अन्य परोपकारी संस्थाहरू, बहुराष्ट्रिय कम्पनीहरू र दाताहरूलाई पनि नेपालको राहत अभियानमा जोडिन ठूलो प्रोत्साहन मिल्ने विश्वास मन्त्रालयले लिएको छ।
बाढी र पहिरोका कारण अर्बौं डलरको क्षति व्यहोर्नुपरेको अवस्थामा यो रकम प्रभावित समुदायको पुनर्स्थापना र संकट व्यवस्थापनका लागि तत्कालै सरकारी प्रणाली (बैंकिङ च्यानल) मार्फत परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।














