रसुवा बाढीपीडितको सम्झनामा ह्यारिसबर्गमा दीप प्रज्वलन
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / नेपालको रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ताहरूको शीघ्र उद्धार र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आइतवार संयुक्त दीप प्रज्वलन कार्यक्रम गरिएको छ।
डाउफिन काउन्टीअन्तर्गत स्वातारा टाउनसिपको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागीहरूले नेपालको नक्सा र राष्ट्रिय झण्डाको आकृति बनाएर सयौँ दीप प्रज्वलन गरेका थिए।
बाढीपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा घटनापछि अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सम्झनामा गरिएको कार्यक्रममा सहभागीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि ऐक्यबद्धता जनाएका थिए।
साथै पाकिस्तानको बोर्ड पिक हिम पैरोमा पनि निधन भएका गैर आवासीय नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना नेपाली र अन्य चार गरि दश आरोहीको आत्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका पेन्सिल्भेनिया च्याप्टर, पेन्सिल्भेनिया नेपाल डे परेड, इनास पेन्सिल्भेनिया र पेन्सिल्भेनिया नेपाली गुठी (पीएनजीए) को संयुक्त आयोजनामा भएको हो। कार्यक्रममा पेन्सिल्भेनियास्थित विभिन्न नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वातारा टाउनसिपका कमिश्नरद्वय टम कोलोनी र विनिता पुरी राईको समेत उपस्थिति रहेको थियो। नेपाली समुदायसँग ऐक्यबद्धता जनाउँदै स्थानीय जनप्रतिनिधिका रूपमा उनीहरूले विपत्तिमा परेका नेपालीप्रति सहानुभूति तथा सहयोगको भावना व्यक्त गरेका थिए।

कार्यक्रममा एनआरएनए एनसीसी अमेरिका पेन्सिल्भेनिया च्याप्टरका अध्यक्ष नविन लामा, पेन्सिल्भेनिया नेपाल डे परेडका संयोजक यदु बञ्जरा, हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी)का उपाध्यक्ष ठाकुर घिमिरे, सामाजिक अभियन्ता डा. खेम अधिकारी, मानवअधिकारवादी नेता विश्व क्षेत्री, जीबीएचओका अध्यक्ष नारद अधिकारी उपस्थिति थियो ।



यसै गरि जीबीएलओका अध्यक्ष पातलो अन्तरे, यूनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (यूजीएसए)का उपाध्यक्ष अगम गुरुङ, क्रियामण फाउन्डेशनका सिइओ भरत तिम्सिना, इनास पेन्सिल्भेनियाका अध्यक्ष अभिषेक थापा तथा इनासका पूर्वअध्यक्ष विकास घले गुरुङ लगायतको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण एनआरएनएका पूर्वसचिव रमेश लामिछानेले गरेका थिए।
रसुवामा ठूलो मानवीय क्षति
नेपालको उत्तरी सीमा क्षेत्रमा आएको आकस्मिक बाढीपछि भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको तिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना, बस्ती तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको छ। घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकाय खोज तथा उद्धारमा परिचालित छन्।

कार्यक्रममा प्रस्तुत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट–२०८३ अनुसार नेपाली समय भदौ १५ गते साँझ ६ बजेसम्म बाढी तथा पहिरोमा परी ९३९ जनाको मृत्यु भएको र विभिन्न जिल्लामा शव फेला परेको उल्लेख छ।
प्राधिकरणका अनुसार रसुवामा २३, नुवाकोटमा १५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा १९६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जनाको शव फेला परेको विवरण सार्वजनिक गरिएको छ।
सोही विवरणमा करिब ३ हजार ३२५ जना सम्पर्कविहीन रहेको उल्लेख छ। यसमा नुवाकोटका करिब १ हजार ४५८ जना, जलविद्युत् आयोजनाबाट करिब ६३९ जना, सम्पर्कविहीन विदेशी नागरिक ५९२ जना, विदेशमा घुम्न गएका नेपाली १४६ जना तथा अन्य विभिन्न निकायसँग सम्बन्धित व्यक्तिहरू समावेश छन्।
हालसम्म २६७ जना घाइते भएको र विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेको प्राधिकरणको विवरणमा उल्लेख छ। नेपाली सेनाबाट मात्रै २ हजार ७०० जनाले स्वास्थ्य उपचार पाएको जनाइएको छ।
खोज तथा उद्धारका क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो संख्यामा परिचालन भएका छन्। प्राधिकरणका अनुसार हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकोप्टरमार्फत विदेशी २५३ जना र नेपाली ३ हजार ४०४ जनाको उद्धार गरेको तथा निजी हेलिकोप्टरमार्फत काठमाडौंबाट २९ वटा उडान गरिएको विवरणमा उल्लेख छ।
सरकारले रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित जिल्लामा नगद राहतसमेत उपलब्ध गराएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा सडक, सञ्चार, इन्धन तथा खाद्यान्न आपूर्तिमा समेत समस्या उत्पन्न भएको छ। खोज तथा उद्धारसँगै राहत वितरण र सम्पर्कविहीनहरूको खोजीलाई तीव्र बनाइएको छ।
ह्यारिसबर्गमा आयोजित दीप प्रज्वलनले विदेशमा रहे पनि नेपाली समुदाय आफ्नो देशमा आइपरेको विपत्तिमा भावनात्मक रूपमा जोडिएको सन्देश दिएको छ। कार्यक्रममा सहभागीहरूले विपत्तिमा परेका परिवारलाई साथ दिनुका साथै राहत, उद्धार र पुनःस्थापनाका लागि सामूहिक सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।














