ह्यारिसबर्ग ओपन : एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो ल्यानक्यास्टर टिम च्याम्पियन
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ह्यारिसबर्गस्थित सेन्ट्रल डल्फिन हाई स्कुलमा शनिबार सम्पन्न दोस्रो ह्यारिसबर्ग ओपन तेक्वान्दो च्याम्पियनसिपमा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो, ल्यानक्यास्टर पेन्सिल्भेनिया टिम च्याम्पियन बनेको छ।
युनाइटेड एभरेस्ट तेक्वान्दो एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयोजक टोलीले सर्वाधिकले ५० स्वर्ण, ४३ रजत र २ कांस्य पदक जितेको थियो।
तर आयोजक टोलीले नै सबैभन्दा धेरै स्वर्ण जितेको अवस्थामा आयोजकबाहेक सहभागी टोलीमध्ये सबैभन्दा धेरै स्वर्ण जित्ने टोलीलाई टिम च्याम्पियन ट्रफी प्रदान गरिएको हो।
एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो, ल्यानक्यास्टरले ३८ स्वर्ण र ३४ रजत पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको हो। हिङमाङ तेक्वान्दो एकेडेमी, मेकानिक्सबर्ग ३२ स्वर्ण र २८ रजत पदक सहित टिम तर्फ दोस्रो स्थानमा रह्यो । हिङमाङ तेक्वान्दो एकेडेमी पहिलो संस्करणको टिम च्याम्पियन हो ।

टिम च्याम्पियन ट्रफी एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो, ल्यानक्यास्टरकी प्रमुख प्रशिक्षक ममिता सुवेदी र उप विजेता हिङमाङका डेक दर्जीलाई आयोजक युनाइटेड एभरेस्ट तेक्वान्दो एकेडेमीकी सञ्चालिका तथा मुख्य प्रशिक्षक एवं स्वातारा टाउनसिपकी आयुक्त विनिता पुरी राईले ट्रफी हस्तान्तरण गरिन ।

च्याम्पियनसिपमा आठ स्टेटबाट २३ स्कुलका दुई सय ३२ खेलाडीले भाग लिएका थिए । प्रतियोगिताले पेन्सिल्भेनियामा तेक्वान्दो खेलको विकाससँगै युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
टुर्नामेन्ट चियरम्यान मास्टर कुमार कार्की र को चेयर कल्पना कार्की रहेका थिए ।
यसैबीच, प्रतियोगिताको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि तथा समुदायका अगुवाहरूले च्याम्पियनसिपको सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा स्वातरा टाउनसिपका प्रहरी प्रमुख थोमस स्टाउफर, डा. खेम अधिकारी, स्वतारा काउनसिपका कमिस्नर टम कोनोली र स्टेट रिप्रेजेन्टेटिभ डेभिड म्याड्सेनले शुभकामना मन्तव्य दिएका थिए।
















