राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई ‘जुनसुकै सहयोग’ गर्ने प्रतिबद्धता, ९० अमेरिकी बेपत्ता भएको पुष्टि, बाढीमा मृतकको सङ्ख्या ३५९ पुग्यो
वासिङ्गटन डीसी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लेक ओन्टारियोको नाम परिवर्तन गर्ने सम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरे लगत्तै बिहीबार वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने “हामीले नेपालमा फोन गरेर उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोगको प्रस्ताव राखेका छौँ”।
राष्ट्रपति ट्रम्पले हिमाली क्षेत्रमा आएको बाढीको भयावह भएको बताए ।
‘अत्यन्तै शक्तिशाली, बलिया र राम्ररी निर्माण गरिएका भवनहरू पनि दाँत कोट्याउने सिन्का जस्तै गरी ध्वस्त भए।’ उनले नेपाली अधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गर्नुका साथै कयौँ अमेरिकी नागरिकहरू अझै बेपत्ता रहेको कुरालाई स्वीकार गरे ।
यसै बीच अमेरिकी विदेश मन्त्रालयले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीको चपेटामा परी ९० जना अमेरिकी पर्यटक प्रभावित भएको पुष्टि गरेको छ ।
स्टेट डिपार्टमेन्टले बिहीबार जारी गरेको विवरण अनुसार बाढीका कारण हालसम्म ९० जना अमेरिकी नागरिकहरू प्रभावित भएका छन् र उनीहरू अझै सम्पर्कविहीन रहेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले अमेरिकी निकायहरू बेपत्ता नागरिकहरूको खोजी र पहिचानका लागि नेपालका स्थानीय अधिकारीहरूसँग निरन्तर समन्वयमा रहेको जानकारी दिए ।
हालसम्म कुनै पनि अमेरिकी नागरिकको हताहतीको पुष्टि नभएको र नेपाली सेनाद्वारा ३ जना अमेरिकी नागरिकको सुरक्षित उद्धार भइसकेको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकाले आपत्कालीन मानवीय आवश्यकताका लागि तत्काल ५ लाख डलर सहायता घोषणा गरिसकेको छ ।
यसैबीच, नेपालबाट प्राप्त पछिल्लो सुरक्षा प्रतिवेदन अनुसार विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ३५९ पुगेको छ।
नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झण्डै एक हजार मानिसहरू अझै पनि बेपत्ता छन्, जसमा ३२ देशका पाँच सय भन्दा बढी विदेशी पर्यटकहरू सामेल छन्।
नेपाल प्रहरीले नदी तटीय क्षेत्र र लेदोले पुरिएका बस्तीहरूबाट शवहरू संकलन गर्ने कार्य जारी राखेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।
हिमाली क्षेत्रमा हिमनदी भत्किएर आएको हिम पहिरोका कारण रसुवा र नुवाकोटका गाउँ तथा शहर पूर्णरुपमा प्रभावित भएका छन् ।














