पेनडटले गरायो सचेत : “वाइपर अन, लाइट अन”
ह्यारिसबर्ग पेन्सिल्भेनिया / पेन्सिल्भेनिया डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन पेनडटले खराब मौसममा वाइपर चलाउँदा हेड लाइट बाल्न अनिवार्य सचेत गराएको छ ।
पेनडटले यो नियम भएकाले पालना नगरे कानुनी कारबाही हुन चेतावनी दिएको छ ।
“वाइपर अन, लाइट अन” भन्ने राष्ट्रिय अभियानलाई जोड दिँदै यो एक सुरक्षित बानी मात्र नभएर पेन्सिलभेनियाको कडा सडक कानून समेत भएको स्पष्ट पारेको छ।
पेनडटले सुरक्षित यात्राका लागि पानी परेको बेला तीव्र गतिमा गाडी नचलाउन, अगाडिको गाडीभन्दा सुरक्षित दूरी कायम राख्न र ‘हाई बीम’ को सट्टा सधैँ ‘लो बीम’ बत्ती मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।
पेन्सिलभेनियाको ट्राफिक नियम अनुसार पानी परेको, हिउँ परेको वा कुहिरो लागेको बेला यदि गाडीको विन्डशिल्ड वाइपर प्रयोग भइरहेको छ भने सोही समयमा गाडीको हेड लाइट पनि पूर्ण रूपमा बलिरहेको हुनुपर्छ।
खराब मौसममा बत्ती बाल्दा सडकमा गुडिरहेका अन्य चालकहरूले पनि अर्को गाडीलाई टाढैबाट स्पष्ट रूपमा देख्न सक्ने र जसले गर्दा दुर्घटनाबाट जोगिन्छ।
आधुनिक गाडीहरूमा कहिले काँही दिउँसो अगाडिको बत्ती आफैँ बले पनि यसले गाडीको पछाडिको बत्ती नबल्न पनि सक्ने भएकाले खराब मौसममा चालक आफै सतर्क हुनु पर्ने हुन्छ ।
पेन्सिलभेनियाको ट्राफिक नियम अनुसार खराब मौसममा वाइपर चलाउँदा हेड लाइट नबाल्नु एक प्राथमिक अपराध मानिन्छ। यसको अर्थ प्रहरीले बत्ती नबालेकै आधारमा मात्रै गाडी रोकेर कारबाही गर्न सक्छ।
भारी वर्षा, हिउँ पात वा कुहिरो लागेको बेला सधैँ ‘लो बीम’ लाइट मात्र बाल्नु राम्रो मानिन्छ ।
‘हाई बीम’ बाल्दा त्यसको तीव्र प्रकाश पानीका थोपा वा हिउँका कणहरूमा ठोकिएर सिधै आफ्नै आँखामा फर्किन्छ। यसले गर्दा अगाडिको बाटो झन् धमिलो देखिन्छ र दुर्घटनाको जोखिम बढ्छ।
फोटो : पेनडट














