पेनडटको रिपोर्ट: २०२५ मा सडक दुर्घटनामा मृत्युदर इतिहासकै कमी, यद्यपी एक हजार बढीले गुमाए ज्यान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनिया डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन पेनडटले सन् २०२५ मा सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या इतिहासकै सबैभन्दा कम भएको जनाएको छ ।
पेनडटले हालै सार्वजनीक गरेको ‘पेन्सिलभेनिया क्र्यास फ्याक्ट्स एण्ड स्ट्याटिस्टिक्स प्रतिवेदनमा’ सन् २०२५ मा एक लाख नौ हजार पाँच सय १५ वटा दुर्घटना भएको र एक हजार ४७ जनाको ज्यान गएको उल्लेख छ ।
पेनडटका अनुसार यो संख्या सन् १९२८ मा रेकर्ड राख्न सुरु गरेयताकै सबैभन्दा कम हो भने सन् २०२४ को तुलनामा ८० ले कम हो।
सन् २०२५ मा पेन्सिलभेनियामा दैनिक औसत करिब तीन सय दुर्घटनाहरू भएको रिपोर्टमा उल्लेख छ । जस अनुसार प्रति घण्टा लगभग १३ वटा दुर्घटना हुने गरेका छन् । तथ्याङ्कले देखाए अनुसार सन् २०२५ मा दैनिक औसत तीन जनाको मृत्यु भएको र एक सय ७८ जना घाइते भएका थिए ।
रिपोर्टमा मादक पदार्थ सेवन गरेका चालक, लेन अनुशासन मिच्ने र सिट बेल्ट नलगाएका चालक वा यात्रुहरू सम्मिलित दुर्घटनाहरूमा हुने मृत्युको संख्या घटेको उल्लेख छ।
“एउटा मात्रै पनि अमूल्य जीवन गुम्नु धेरै दुःखद कुरा हो, त्यसैले यो कमी सकारात्मक समाचार भए तापनि पेन्सिलभेनिया हाम्रा सडकहरूमा ‘शून्य मृत्यु’ को लक्ष्यतर्फ अघि बढ्न प्रतिबद्ध छ,” पेनडटका सचिव माइक कार्रोलले भने, “पेनडटले शिक्षा र चेतनामूलक कार्यक्रमहरू मार्फत सडक मृत्युदर घटाउन आफ्नो भूमिका खेलिरहनेछ, तर हामी सबैले मिलेर काम गरेमा मात्र शून्यको लक्ष्यमा पुग्न सक्छौं।”
उनले सुरक्षित रूपमा सवारी चलाउन अपिल गरे ।
“स्टेयरिङ समातेका बेला फोन नचलाउनुहोस्। सधैं गति सीमाको पालना गर्नुहोस् र मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी नजलाउनुहोस्। अनि सिट बेल्ट बाँध्नुहोस्! दुर्घटनामा तपाईंको सिट बेल्टले तपाईंको ज्यान जोगाउन सक्छ।” कार्रोलले भने ।
पेनडटको रिपोर्ट अनुसार सन् २०२५ मा जम्मा एक लाख नौ हजार पाँच सय १५ वटा रिपोर्ट योग्य दुर्घटनाहरू भएका थिए, जुन सन् २०२० कोभिड-१९ महामारीका कारण ट्राफिक कम भएको वर्ष पछिको इतिहासकै दोस्रो सबैभन्दा कम हो।
‘कुल दुर्घटनाहरू मध्ये सात सय ७९ वटा घातक दुर्घटनाहरू थिए, जुन इतिहासकै सबैभन्दा कम हो र २०२४ को एक हजार ६० बाट घटेको हो।’ रिपोर्टमा भनिएको छ ।
गभर्नर जोस शापिरोको सबै पेन्सिलभेनियावासीहरूका लागि सुरक्षित यातायात प्रणाली उपलब्ध गराउने लक्ष्य अन्तर्गत, पेनडटले सडक मृत्यु र गम्भीर चोटपटक कम गर्न व्यवहारिक सुरक्षा कार्यक्रमहरूमा राज्यभर ७ करोड डलरभन्दा बढी संघीय अनुदान रकम लगानी गरेको रिपोर्टमा उल्लेख छ।
“व्यवहारिक सुरक्षाका अतिरिक्त, पेनडटले सुरक्षा सुधार्न पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेको छ। सन् २०२३ देखि २०२५ सम्ममा संघीय राजमार्ग सुरक्षा सुधार कार्यक्रम (एचएसआइपी) को कोषबाट ३५ करोड ७० लाख डलरभन्दा बढी रकम ती सय १२ वटा विशिष्ट सुरक्षा आयोजनाहरूमा लगानी गरिएको थियो।” रिपोर्टमा भनिएको छ, “सोही अवधिमा, सयौँ स्थानहरूमा कम लागतका सुरक्षा सुधारहरूका लागि थप ३ करोड डलर राज्य कोषबाट लगानी गरिएको थियो।”
पेनडटसँग हाल २०२६ मा एक सय ९८ वटा विशिष्ट सुरक्षा आयोजनाहरूका लागि १० करोड ६५ लाख डलरको एचएसआइपी कोष प्रतिबद्ध छ।
रिपोर्ट अनुसार मादक पदार्थ सेवन गरेका चालकहरूका कारण हुने दुर्घटनामा मृत्यु हुनेको संख्या २०२४ को तीन सय ४२ बाट घटेर गत वर्ष दुई सय ५८ मा पुगेको छ, जुन इतिहासकै सबैभन्दा कम संख्या हो।
पेनडटले राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनबाट मादक पदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको प्रवर्तनका लागि वार्षिक ६७ लाख डलरभन्दा बढी वितरण गर्ने गरेको जनाइएको छ ।
“लेन छोडेर हुने दुर्घटनाहरूमा मृत्यु हुनेको संख्या २०२४ को पाँच सय ३७ बाट घटेर गत वर्ष चार सय ९२ मा पुगेको छ, जुन इतिहासकै सबैभन्दा कम हो। पेनडटको कम लागतको सुरक्षा सुधार कार्यक्रमले विगत १५ वर्षमा हजारौं स्थानहरूमा प्रमाणित सुरक्षा उपायहरू लागू गरेको छ।” रिपोर्टमा भनिएको छ ।
“सिट बेल्ट नलगाएका चालक वा यात्रुहरूको मृत्यु हुने संख्या २०२४ को तीन सय ११ बाट घटेर गत वर्ष दुई सय ५९ मा झरेको छ, जुन रेकर्ड राख्न थालेयताकै सबैभन्दा कम हो।” रिपोर्टमा भनिएको छ, “यी मृत्युहरू पूर्ण रूपमा रोक्न सकिने खालका थिए र तथ्याङ्कले देखाउँछ कि सिट बेल्टले ज्यान जोगाउँछ। अनुमान गरिए अनुसार प्यासेन्जर गाडीमा यात्रा गर्दा सिट बेल्ट नलगाई ज्यान गुमाएका ९० प्रतिशत व्यक्तिले सिट बेल्ट बाँधेको भए उनीहरू बाँच्न सक्थे।”
रिपोर्ट अनुसार सन् २०२५ मा अधिकांश प्रकारका दुर्घटनाहरूमा मृत्युदर घटेको भए तापनि केही क्षेत्रमा भने वृद्धि देखिएको छ ।
सन् २०२० को रेकर्ड न्यून वर्षयता आक्रामक ड्राइभिङका कारण हुने मृत्युमा ३१ प्रतिशितले ले वृद्धि भएको छ।
“आक्रामक ड्राइभिङ अन्तर्गत स्टप साइन वा रातो बत्ती मिच्नु, अगाडिको गाडीको धेरै नजिक बस्नु , अचानक गति कम गर्नु वा रोक्नु, लापरवाहीपूर्वक ओभरटेक गर्नु र तीव्र गतिमा चलाउनु पर्दछन्।” विज्ञप्तीमा भनिएको छ, “पेनडटले राज्य र स्थानीय प्रहरीसँग साझेदारी गरी आक्रामक ड्राइभिङमा केन्द्रित उच्च-सतर्कता अभियानका लागि वार्षिक करिब एक करोड ८४ लाख डलर संघीय अनुदान लगानी गर्छ।”
यस्तै साइकल चालकहरूको मृत्यु संख्या २०२४ को १९ बाट बढेर गत वर्ष २८ पुगेको छ। मृत २८ साइकल चालकहरू मध्ये १४ जनाले हेलमेट लगाएका थिएनन्। पेन्सिलभेनियामा १२ वर्ष मुनिका बालबालिकाले साइकल चलाउँदा हेलमेट लगाउनु अनिवार्य छ, तर पेनडटले सबै साइकल चालकहरूलाई हेलमेट लगाउन दृढ आग्रह गरेको छ ।
१२ जना मृतकहरू ई-बाइक चलाइरहेका थिए। ई-बाइकहरूमा इलेक्ट्रिक असिस्ट हुने भएकाले यिनीहरू उच्च गतिमा गुड्छन्।
चालकको ध्यान भङ्ग भएका कारण हुने दुर्घटनामा मृत्यु हुनेको संख्या २०२४ को ४९ बाट बढेर गत वर्ष ५४ पुगेको छ । तर अब पेन्सिलभेनियाको नयाँ ह्यान्ड्स-फ्री कानूनका कारण दीर्घकालीन रूपमा यो घट्दो क्रममा हुने विश्वास पेनडटको छ।
पेन्सिल्भेनियामा अब सवारी चलाउदा फोन चलाउन पूर्णरुपमा प्रतिवन्द कानुन लागु भइसकेको छ ।
जुन २०२४ मा हस्ताक्षर भई जुन २०२५ देखि लागू भएको ‘पल मिलर कानून’ ले गाडी चलाउँदा, ट्राफिक वा रातो बत्तीमा अस्थायी रूपमा रोकिएको बेला समेत हातमा फोन समातेर प्रयोग गर्न निषेध गर्दछ।
चालकहरूले आपतकालीन अवस्थामा अधिकारीहरूलाई सचेत गराउन फोन प्रयोग गर्न सक्छन् र फोन कल गर्न, जीपीएस प्रयोग गर्न र संगीत सुन्न ह्यान्ड्स-फ्री प्रविधि प्रयोग गर्न सक्छन्।
जुन ५, २०२६ देखि गाडी चलाउँदा हातमा डिभाइस प्रयोग गरेको कसूरमा ५० डलर जरिवाना र अदालतको शुल्क लाग्नेछ। चालकहरू दुर्घटनाको समयमा आफ्नो ध्यान भङ्ग भएको स्वीकार गर्न हिचकिचाउने भएकाले ध्यान भङ्ग भएका दुर्घटनाको डाटा कम रिपोर्ट गरिएको मानिन्छ।
रिपोर्टले जेष्ठ नागरिक चालक रहेको दूर्घटना भने बढेको देखाएको छ ।
“६५ देखि ७४ वर्ष उमेर समूहका चालकहरू सम्मिलित दुर्घटनाहरूमा मृत्यु हुनेको संख्या २०२४ को एक सय ६२ बाट बढेर २०२५ मा एक सय ८५ पुगेको छ। यस उमेर समूहका इजाजतपत्र प्राप्त चालकहरूको संख्या विगत १० वर्षमा २४% ले बढेको छ, जबकि समग्र पेन्सिलभेनियाका चालकहरूको वृद्धि दर करिब दुई प्रतिशत मात्रै छ।” रिपोर्टमा भनिएको छ ।
१६ देखि १७ वर्षका किशोर चालकहरू सम्मिलित दुर्घटनाहरूमा मृत्यु हुनेको संख्या २०२४ को २७ बाट बढेर गत वर्ष ३१ पुगेको रिपोर्टमा उल्लेख छ ।
“पेन्सिलभेनियाका सडकहरूमा वार्षिक रूपमा हुने घातक दुर्घटनाहरू मध्ये ८३ प्रतिशत दुर्घटनाको मुख्य कारक चालकको ध्यान भङ्ग हुनु, मादक पदार्थ सेवन, आक्रामक ड्राइभिङ आदि पाइएको छ।” रिपोर्टमा भनिएको छ, “यी व्यवहारहरू चालकका आफ्ना रोजाइ हुन्। चालकहरूले दुर्घटना गराउने उद्देश्य राख्दैनन्, तर तिनीहरूका गलत रोजाइले हरेक दिन निर्दोष मानिसहरूको ज्यान लिइरहेको हुन्छ।”
पेनडटको रिपोर्ट अनुसार सन् २०२५ को डिसेम्बर महिनामा सबैभन्दा बढी ११ हजार नौ वटा दुर्घटना भएका थिए भने जुलाई र अक्टोबर महिनामा सबैभन्दा बढी ११४/११४ जना को मृत्यु भएको थियो ।
पेन्सिलभेनियामा महिला चालकको तुलनामा पुरुष चालकहरू बढी दुर्घटनामा परेका छन्। विशेष गरी २१ देखि २५ वर्ष उमेर समूहका पुरुष चालकहरूको दुर्घटना दर सबैभन्दा उच्च छ।
मदिरा सेवन गरी सवारी चलाउँदा हुने दुर्घटनाहरू मध्ये ६० प्रतिशत दुर्घटनाहरू रातको समयमा र विशेष गरी सप्ताहन्तमा हुने गरेको पाइएको रिपोर्टमा उल्लेख छ।
रिपोर्टमा विद्यालय बस दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको जनाइएको छ । पेन्सिलभेनियामा २०२५ मा दुई सय ३७ वटा विद्यालय बस दुर्घटनाहरू भएको उल्लेख छ । २०२४ को दुई सय २१ भन्दा दुर्घटना भएका थिए ।
स्कूल बस दुर्घटनामा सात जनाको मृत्यु भएको र यो विगत पाँच वर्षकै उच्च भएको जनाइएको छ ।
फोटो : पेनडट














