अनेसासको नवौ अन्तर्राष्ट्रिय सम्मेलन : ९ बुँदे घोषणापत्र जारी, नौ महिला साहित्यकारलाई नवरत्न सम्मान
डेनभर,कोलोराडो / नौ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सोमबार सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटल ड्ररीमा शनिबारदेखि सुरु भएको सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ समेत जारी गरेको छ ।
घोषणापत्रमा विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्द्धन लगायतका गतिविधि समेटेर वार्षिक रुपमा जर्नल प्रकाशित गर्ने, युवा लेखकलाई प्रोत्साहनका लागि अनेसास लेखवृत्ति प्रदान गर्ने, प्रकासोन्मुख पाण्डुलिपी सम्पादनका लागि विज्ञ लेखक उपलब्ध गराउने, बालबालिकालाई लेखनमा प्रोत्साहन गर्न बाल प्रतिभा पुरस्कार घोषणा तथा पुरस्कृत गर्ने, विश्वभर रहेका नेपालीहरुलाई साहित्यमा प्रोत्साहन गर्न लेखन प्रशिक्षण सञ्चालन गर्ने लगायत बुँदा उल्लेख छन् ।
सम्मेलनमा ९ जना प्रतिभाशाली महिला साहित्यकार, लेखक तथा साहित्य अभियान्तालाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ पनि वितरण गरिएको छ ।
नवरत्न सम्मान पाउनेमा रेणुका सोल (नेपाल), रिजा प्रधान (अष्ट्रेलिया), सीतादेवी बास्तोला (डेनमार्क), सवि श्रेष्ठ (पोर्चुगल), सीता अर्याल (अमेरिका), कमला न्यौपाने (अमेरिका), लक्ष्मी श्रेष्ठ (अमेरिका), आना स्टिर (अमेरिका) र विष्णु घले (अमेरिका) छन् ।
नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धन, अध्ययन, लेखन तथा अभियानमा विशेष भूमिका निर्वाह गरेबापत हरेक दुई वर्षमा दिइने यो सम्मान तथा पुरस्कारको राशि दुई सय अमेरिकी डलर छ ।
एनआरएनए एनसीसी अमेरिका लगायत संघ संस्थाको सहयोगमा आयोजित सम्मेलनको उद्घाटन वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता प्रमुख अतिथी डा.नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा र अनेसासका वर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले संयुक्त रुपमा गरेका थिए ।
विशेष अतिथीका रुपमा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा.ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, कोलोराडोको बोल्डर सहरका मेयर आरोन ब्रकेट, वेष्टमिनिस्टर सहरकी मेयर क्लेयर केरमेलिया लगायत थिए ।
उद्घाटनलगत्तै डा. ज्याकलिनले ‘कि नोट स्पीकर’का रुपमा विश्व साहित्यको वर्तमान चुनौति, नेपाली साहित्यको सम्भावना र योगदानका विषयमा चर्चा गरेकी थिइन् ।
अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले सञ्चालन गरेको सम्मेलनमा एक सयभन्दा धेरै पुस्तक विमोचन गरिएको थियो भने झण्डै १४० जना साहित्यकारले आफ्नो रचना वाचन गरेका थिए ।
वरिष्ठ साहित्यकार, पत्रकार तथा चर्चित लेखक सहभागी भएका दर्जन बढी सेसनहरुमा रोचक छलफल, बहस तथा अन्तरक्रिया गरिएको थियो ।
जसमध्ये ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ सेसनमा साहित्यकार निलम कार्की निहारिका, कान्तिपुरका पूर्वप्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, अनलाइनखबरका प्रधानसम्पादक तथा लेखक बसन्त बस्नेत वक्ता रहेको सेसन रोचक रह्यो ।
बीबीसी साझा सवालका पूर्वप्रस्तोता नारायण श्रेष्ठले सहजीकरण गरेको यो सेसनले इतिहासका चर्चित घटनाहरुलाई आख्यानमार्फत आम पाठकमाझ ल्याउने लेखकको योगदान र भूमिकालाई विशेष रुपमा चर्चा गरेको थियो ।
यस्तै नेतृत्व र साहित्य सेसनमा अनेसासका पूर्वअध्यक्षहरुको अनुभव प्रस्तुत गरिएको थियो भने नेपाली महिला साहित्य सेसनमा महिला साहित्यकारहरुको संघर्षदेखि सशक्तिकरणका विषयमा विशेष छलफल भएको थियो । यस्तै काव्यिक परम्परा र समकालिन अभिव्यक्ति, नेपाली साहित्यको प्रवर्द्धनमा डायस्पोरामा सक्रिय पत्रकार तथा मिडियाको भूमिकाका विषयमा पनि बहस भएको थियो ।
सम्मेलनमा सहभागी हुन नेपालबाट वक्ता तथा सहजकर्ताका रुपमा वरिष्ठ साहित्यकार डा.लम्सालसहित, सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत, टीकाराम यात्री लगायत पत्रकार सहभागी भएका थिए । यस्तै देउडा गायक तथा सर्जक नन्दकृष्ण जोशी पनि नेपालबाटै सहभागी थिए । अमेरिकाबाट पत्रकार नारायण श्रेष्ठ, प्रेम बानिया, राजन कुँइकेल लगायतको सहभागिता थियो ।
यस्तै साहित्यकारमा अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, भुटानी साहित्य परिषद्का अध्यक्ष खेम रिजाल, राधेश्याम लेकाली, गोवर्धन पुजा लगायतको सहभागिता थियो ।
कोलोराडोमा भव्य रुपमा साहित्य सम्मेलन सम्पन्न गर्न अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा कार्यक्रम संयोजक किरण अधिकारी, अनेसास बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा, महासचिव राजु सिटौला, कोषाध्यक्ष तारा अधिकारी लगायतको विशेष भूमिका रहेको मिडिया कोर्डिनेटर दीर्घराज उपाध्यायले जानकारी दिए ।
विगतका साहित्य सम्मेलनमा साहित्यकारहरुको जमघट, भेटघाट तथा छलफलमा बढी केन्द्रित रहने गरेकोमा यसपटक साहित्यकारसँगै चर्चित लेखक, पत्रकार तथा युवाहरुको भूमिकाले विशेष ठाउँ पाएको अनेसासका महासचिव राजु सिटौलाले बताए ।
‘अनेसासको यो नवौँ सम्मेलनले पहिलोपटक व्यापक रुपमा चर्चित लेखक, वरिष्ठ साहित्यकार, पत्रकारहरुको बेजोड प्रस्तुतीमा दर्जन बढी सेसनहरु सम्पन्न गरियो । यो नेपाली साहित्यको अन्तराष्ट्रिय प्रवर्द्धनमा विशेष उपलब्धी हो’ महासचिव सिटौलाले भने, ‘अबका दिनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रवर्द्धनमा युवा साहित्यकारको सहभागिता, भूमिका र सबै संघ संस्थाहरुको सहयोग लिएर अगाडि बढ्नुपर्ने जिम्मेवारी आएको छ । हामीले घोषणापत्रमा पनि त्यही कुरामा जोड दिएका छौँ ।’
अमेरिकामा सम्पन्न नवौँ सम्मेलनपछि अनेसासले दशौँ सम्मेलन नेपाल, जापान वा अरु कुनै देशमा गर्ने जनाएको छ । सम्मेलनमा सहभागी अतिथी, साहित्यकार, पत्रकार तथा लेखकहरुले अमेरिकामा रहेका नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, समाजसेवी एवं युवाहरुसँग पनि छलफल, अन्तरक्रिया तथा भेटघाट गर्दै ‘कलरफूल कोलोराडो’का विभिन्न ठाउँहरुको भ्रमण गरेका थिए ।
तस्बिर नाति बाबु भट्ट

















