अमेरिका २५० वर्ष: ट्रम्पको तस्बिर सहित नयाँ पासपोर्ट ल्याइने
वासिङ्गटन डीसी / अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा, यूएस डिपार्टमेन्ट अफ स्टेटले नयाँ विशेष डिजाइनको पासपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ।
यस पासपोर्टमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर समावेश गरिने बताइएको छ। यूएस डिपार्टमेन्ट अफ स्टेटको सामाजिक संञ्जालमा सार्वजनिक गरिएको डिजाइन अनुसार, पासपोर्टको भित्री कभरमा ट्रम्पको तस्बिर राखिएको छ, जसको पृष्ठभूमिमा स्वतन्त्रता घोषणापत्र र बगिरहेको अमेरिकी झण्डा देखिन्छ।
ट्रम्पको विशेष हस्ताक्षर सुनौलो रङ्गमा तस्बिरको ठिक तल राखिएको छ, जससँगै “यूनाइटेड स्टेट अफ अमेरिका ” शब्द लेखिएको छ।
अर्को पृष्ठमा कलाकार जोन ट्रम्बुलको ऐतिहासिक चित्र—संस्थापकहरूले स्वतन्त्रता घोषणापत्रमा हस्ताक्षर गरेको दृश्य—समावेश गरिएको छ ।
पासपोर्टको पछाडिको कभरमा सन् १७७७ मा अपनाइएको पहिलो अमेरिकी झण्डाको नौसेना-निलो र सुनौलो संस्करण राखिएको छ । उक्त झण्डामा १३ वटा ताराबिच “२५०” अंक राखिएको छ ।
विदेश मन्त्रालयका अधिकारीले अमेरिकाले जुलाईमा २५०औँ वार्षिकोत्सव मनाउने क्रममा यो ऐतिहासिक अवसरलाई स्मरण गर्न सीमित संख्यामा विशेष डिजाइनका पासपोर्ट जारी गरिने जनाएका छन् ।
यी पासपोर्ट पूर्ण रूपमा वैकल्पिक हुनेछन् । कुल २ लाख ५० हजार प्रति मात्र छापिने जनाइएको छ ।
मुख्य रूपमा वासिङ्टनस्थित पासपोर्ट एजेन्सीबाट उपलब्ध हुनेछ ।
पासपोर्टका लागि आवेदन दिने जुनसुकै अमेरिकी नागरिकले उपलब्धताअनुसार प्राप्त गर्न सक्नेछन् ।
नयाँ डिजाइन भए पनि पासपोर्टका सबै सुरक्षा विशेषताहरू यथावत् रहने सरकारको भनाइ छ।

















