पेन्सिल्भेनियाको पाल्माइरामा स्रष्टाको सम्मान
पाल्माइरा, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गबाट अलिकति बाहिर शान्त, हरियालीले ढाकिएको सानो सहर पाल्माइरामा शनिबार नेपाली भाषीका लागि एक विशेष साङ्गीतिक र साहित्यिक वातावरण सृजना भयो।
विश्व भूटानी साहित्यिक संगठन (जीबीएलओ) र साहित्य कला संगम ल्यानक्यास्टरको संयुक्त आयोजनामा नेपाली भाषी भूटानी समुदायका चर्चित गीतकार गोविन्द हुमागाईँको सम्मानमा लाइभ साङ्गीतिक र सांस्कृतिक कार्यक्रम, एल्बम तथा पुस्तक विमोचन कार्यक्रम गरियो ।
गोविन्द हुमागाईँ नेपाली भाषाका संगीत, साहित्य,कलाको यात्रामा समर्पित नाम हो । उनले युवा अवस्थामा नै गीत–संगीत र भजनको क्षेत्रमा गहिरो छाप छोडेका छन्
भूटानको पंखेमा जन्मिएका ४४ वर्षीया हुमागाईँका अहिले सम्म ७० भन्दा बढी गीत तथा भजनहरू रेकर्ड भइसेका छन्। ‘बाबाको टोपी’ ले औधी चर्चा पाएको छ ।
तीनै स्रष्टाको नयाँ कीर्ति विमोचनका लागि शनिवार विषेश कार्यक्रम गरियो । जहाँ उनैले लेखेका १० गीत आठ गायकहरुले प्रत्यक्ष गाएर सम्मान गरियो ।
जीबीएलओका अध्यक्ष पातलो अन्तरे र देवीका बराल उद्घोषक रहेको कार्यक्रम साहित्य कला संगम ल्यानक्यास्टरका संरक्षक पण्डित हेम धितालको सभापतित्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि गायक महेश थुलुङ थिए ।
कार्यक्रम भजनबाट सुरु भयो। “मेरा कर्महरू” भजन श्याम पराशरले प्रस्तुत गरे, जसमा स्वर श्याम धिमालको रहेको थियो भने गीत तथा संगीत गोविन्द हुमागाईँकै थियो।
‘उहाँको साङ्गीतिक यात्रामा ७० भन्दा बढी गीत तथा भजनहरू रेकर्ड भइसकेका छन्, जुन संख्या मात्र होइन, समर्पण र साधनाको प्रतिफल पनि हो। गीत, भजन, दर्शन, अध्यात्म, शब्द रचना अनि संगीत, सबै विधामा दक्षता राख्ने हुमगाँईका सिर्जनाहरूले श्रोताको मन र आत्मासम्म छोएको देखिन्छ।’ जीवीएलओका अध्यक्ष पातलो अन्तरले हुमागाईँको बारेमा पोको खुलाउँदै गए।

त्यसपछि कार्यक्रम क्रमशः संगीत, कविता र सांस्कृतिक प्रस्तुतिहरूले अगाडि बढ्यो। हुमागाईँका सिर्जनाहरूलाई विभिन्न गायकले प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गरे ।
गायकहरू जीवन गुरुङ, जितेन्द्र गिरी, बिरेन रसाइली,भक्त घले,छवि नेओपाने,रोनन सुब्बा, नारायण खरेलले हुमागाईँको रचनामा स्वर भरे ।
बीच–बीचमा हुमागाईँको साङ्गीतिक यात्रा, उनका सिर्जनात्मक पक्ष र योगदानबारे डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।
विश्व भूटानी साहित्यिक संगठन (जीबीएलओ) का अध्यक्ष पातलो अन्तरे र साहित्य कला संगम ल्यानक्यास्टरका अध्यक्ष दिपेश चापागाईँले गोविन्दलाई कदर पत्र प्रदान गरे।
हुमागाईँ एल्बम र पुस्तक विमोचन
कार्यक्रममा हुमागााँईका “बुलाकी–२” गीति एल्बम र ‘फूलको आँसु’ गीत संग्रह विमोचन गरिएको थियो।

गीति एल्बम प्रमुख अतिथि गायक महेश थुलुङले सार्वजनिक गरे । छवि न्यौपानेले एल्बमको बारेमा आफ्नो मन्तव्य राख्दै हुमागाईँको साङ्गीतिक पक्षबारे चर्चा गरेका थिए।
‘फूलको आँसु’ गीत सङ्ग्रहको विमोचन पण्डित हेम धिताल, अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (इन्लाका) अध्यक्ष डा. हरि उप्रेती र साहित्यकार तथा व्यवसायी डिबी सारुले संयुक्त रुपमा गरे ।

कार्यक्रममा डा. हरि उप्रेतीले उक्त कृतिमाथि टिप्पणी प्रस्तुत गर्दै पुस्तकको साहित्यिक महत्त्व र भावनात्मक गहिराइबारे प्रकाश पारेका थिए।
पाल्माइरामा सम्पन्न यस कार्यक्रम केवल साङ्गीतिक प्रस्तुति मात्र नभई एक स्रष्टाको योगदानको सम्मान, सिर्जनात्मक यात्राको उत्सव र समुदायको एकताको प्रतीक बनेको देखियो।
पाल्माइरामा सम्पन्न ‘जिउँदो स्रष्टाको सम्मान’ मा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव वैरागी माइलो, क्रियामणा फाउन्डेशका सिइयो भरत तिमिल्सिनाले कविता वाचन गरे ।
यस्तै साहित्य कला संगम ल्यानक्यास्टरका अध्यक्ष दिपेश चापागाईँ र गीतकार कुमार सिवाकोटीले गजल प्रस्तुत गरेका थिए।


















