थ्री ई इन्टरटेन्मेन्टले ल्यायो सांस्कृतिक क्यालेन्डर: अमेरिकामा नेपाली पहिचानलाई जीवन्त बनाउने
फेयरफ्याक्स, भर्जिनिया / नेपाली पहिचानलाई अमेरिकाभर जीवन्त बनाउने उद्देश्य सहित थ्री ई इन्टरटेन्मेन्टले सन् २०२६-२०२७ सांस्कृतिक क्यालेन्डर घोषणा गरेको छ ।
थ्री ई अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने संस्था हो ।
दुई दशक देखि सक्रिय थ्री ई ले आफ्नो अहिलेसम्मकै सबैभन्दा महत्त्वाकाङ्क्षी कार्यक्रम तालिका सार्वजनिक गरेको छ। जसमा प्रमुख उत्सवहरू, राष्ट्रिय स्तरका कलाकारहरूको टुर, र समुदायलाई सहयोग गर्ने प्रतिबद्धता समावेश छ ।
थ्री ईका प्रमुख सुरेश सापकोटाका अनुसार यस्ता कार्यक्रमले हजारौं परिवारमा सकारात्मक प्रभाव पार्ने लक्ष्य गरिएको छ।
‘हामी सँग दुई दशक भन्दा लामो सांस्कृतिक नेतृत्व र सफल कार्यक्रमहरूको अनुभव छ, सन् २०२४ मा १९७४ एडीको कन्सर्ट जसमा ठूलो मात्रमा सहभागि थिए त्यो सफलता पूर्वक सम्पन्न गर्यौ।’ समाज टाइम्स सँग सापकोटाले भने,’ थ्री ई इन्टरटेन्टमेन्टले दोस्रो पुस्ताका नेपाली र मुख्य धाराका दर्शकहरूलाई लक्षित गर्दै आफ्नो “जीवित पुल” दृष्टिकोणमार्फत सांस्कृतिक पहिचानलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।’
सापकोटाले आफूहरूले मनोरञ्जन मात्र नभई नेपाली सांस्कृतिक विस्तारका लागि आन्दोलन निर्माण गर्ने बताए ।
“हामी मनोरञ्जन मात्र सिर्जना गर्दैनौँ—हामी संस्कृति जोगाउने, पुस्ताहरूलाई जोड्ने, र दीर्घकालीन प्रभाव पार्ने आन्दोलन निर्माण गर्छौँ।’ उनले भने ।
थ्री ई का तीन आधार स्तम्भ: प्रोत्साहन, संलग्न र सशक्त
सापकोटाका अनुसार नेपाली पहिचानप्रति गर्व जगाउने र सृजनात्मक प्रतिभालाई प्रोत्साहित गर्ने का संस्थाले गर्दै आएको छ ।
यस्तै पुस्ताहरूबिच सम्बन्ध जोड्ने र विविध संस्कृतिहरूबिच पुल निर्माण गर्ने काममा पनि थ्री ई संलग्न भएको छ ।
त्यसका साथै कलाकार, युवा र समुदायलाई आत्मविश्वासका साथ अघि बढ्न प्लेटफर्म प्रदान गर्ने काम गरि सशक्तीकरण समेत गर्ने गरेको छ ।
सापकोटाले ‘प्रोत्साहन, संलग्न र सशक्त’ नारालाई सार्थक बनाउन थ्री ई ले आफ्नो आम्दानीको २०% गैरनाफामूलक संस्थाहरूलाई दान गर्ने गर्दै आएको बताए ।
‘यसले नेपाली समुदाय, संस्कृति संरक्षण, र युवा शिक्षा कार्यक्रमलाई सहयोग गर्छ।’ सापकोटाले भने।
उनका अनुसार थ्री ईले सार्वजनिक गरेको २०२६-२०२७ कार्यक्रम तालिकामा मुक्ति पुनरुत्थान ब्यान्डको अमेरिकी भ्रमण सेप्टेम्बर- अक्टुबर २०२६ मा हुने छ ।
‘हामी नेपाली समुदायको बाक्लो बसोबास रहेका मुख्य मुख्य शहरमा यो टुर गराउँछौ।’ सापकोटाले भने।
यस्तै बहुपुस्ता आकर्षणसहितको रक संगीत यात्रा डिटीफेस्ट अक्टोबर ११ तारिख भर्जिनियामा हुने छ।
‘डिटी फेस्ट उत्तर अमेरिकामा दशैं–तिहारको सबैभन्दा ठूलो उत्सव हो यसलाई अझ आकर्षक बनाउन हामीले मेहनत गर्ने छौ ।’ सापकोटाले भने।
थ्री ई ले आगामी अक्टोबर र नोभेम्बरमा समीक्षा अधिकारी र शिव परियारको ‘अमेरिका टुर’ लाई पनि आफ्नो क्यालेन्डरमा राखेको छ।
यस्तै २०२७ को स्प्रिङ्गमा अमेरिकाका प्रमुख शहरहरूमा राष्ट्रिय स्तरको कार्यक्रम ग्लोबल नेपाल फेस्ट २०२७ हुने छ ।
‘यो हाम्रो फरक फरक शहरमा आयोजना गर्ने कार्यक्रम हो ।’ सापकोटाले भने, ‘नेपालको पर्यटन र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्ने छौ।’
सापकोटाका अनुसार थ्री ई इन्टरटेन्टमेन्ट सन् २००० देखि अमेरिकामा नेपाली मनोरञ्जन क्षेत्रमा योगदान दिँदै आएको संस्था हो
थ्री ई ले कुटुम्ब लाइ कन्सर्ट, ग्लोबल नेपाल फेस्ट, नेपाली समर पेस्ट कन्भेन्सन (२०१२)
आनी चोइङ ड्रोल्मा युएसए टुर (२०१७), १९७४ इस्वी लाइभ इन भर्जिनिया (२०२४), स्वार नयाँ वर्षको पूर्वसन्ध्यामा कन्सर्ट (२०२५) आयोजना गरिसकेको छ ।
युवामा केन्द्रित रणनीति
थ्री ईले कार्यक्रमहरू विशेष गरी युवालाई लक्षित गरेर डिजाइन गरिएका हुने सापकोटाको भनाई छ । जसले उनीहरूलाई नेपाली भाषा, संगीत र संस्कृतिसँग जोड्ने काम गर्छ।
‘संस्कृति टिक्नका लागि युवाले आफूलाई समावेश भएको महसुस गर्नुपर्छ।’ सापकोटाले भने,’हामीले त्यसै अनुसार काम गर्दै आएका छौ ।’
उनले विशेषगरी अमेरिकामा हुर्किरहेको दोस्रो पुस्ताका नेपाली युवालाई लक्षित गर्दै कार्यक्रम तयार गरिने गरिएको बताए।
‘हाम्रो कार्यक्रम संरचनाले नेपाली पहिचानलाई आधुनिक सन्दर्भमा पुनः परिभाषित गर्ने प्रयास गरेको छ ।’ उनले भने ।

















