‘आइआरएस’ को नयाँ नियमले कर रिफन्डमा ढिलाइ, लाखौँ अमेरिकी करदाताहरू प्रभावित
कार्लाल, पेन्सिलभेनिया / अमेरिकामा कर फिर्ता (ट्याक्स रिफन्ड) सिजन चलिरहँदा लाखौँ करदाताहरूले आफ्नो रकम पाउन ढिलाइ भोगिरहेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सिजनलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो कर फिर्ता सिजन’ भने पनि व्यवहारमा धेरै अमेरिकी नागरिकहरू निराश बनेका छन् । कागजी चेकबाट भुक्तानी लिने नागरिकहरूलाई बढी समस्या परेको छ ।
आन्तरिक राजस्व सेवा (आइआरएस) ले गत वर्षको सेप्टेम्बरमा घोषणा गरेको नीति अनुसार अब कागजी चेकमार्फत कर फिर्ता दिने प्रणाली क्रमशः हटाइँदैछ ।
यो निर्णय सन् २०२५ को मार्चमा जारी गरिएको कार्यकारी आदेशको आधारमा गरिएको हो । जसले सरकारी भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखेको छ ।
(आइआरएस)का अनुसार इलेक्ट्रोनिक भुक्तानी प्रणाली सुरक्षित छिटो र सस्तो हुने भएकाले यो परिवर्तन आवश्यक रहेको जनाएको छ ।
(आइआरएस)को यो परिवर्तनले धेरै करदाताहरूमा समस्या सिर्जना गरेको छ । रिपोर्टका अनुसार करिब १४ लाख करदाताले (आइआरएस)बाट आफ्नो रिफन्ड रकम प्राप्त गर्न ढिलाइ भएको बताइएको छ ।
‘सीपि ५३ इ’ नाम दिइएको उक्त सूचनामा करदाताहरूलाई आफ्नो बैङ्क विवरण अद्यावधिक गर्न भनिएको र करदाताहरूले डाइरेक्ट डिपोजिटमार्फत सजिलै रिफन्ड रकम प्राप्त गर्न सक्ने जनाएको छ । साथै, १ महिनाको समयभित्र विवरण अद्यावधिक नगरेमा करदाताहरूले थप ६ हप्ता कुर्नुपर्ने र त्यसपछि मात्र कागजी चेक पठाइने सूचनामा उल्लेख गरिएको छ ।
अमेरिकामा अझै पनि लाखौँ मानिसहरूको बैङ्क खाता छैन । बैङ्क खाता नभएका नागरिकहरूका लागि इलेक्ट्रोनिक प्रणाली अपनाउनु सजिलो छैन ।
त्यस्तै, विदेशमा बस्ने अमेरिकी नागरिकहरू धार्मिक कारणले बैङ्क प्रयोग नगर्नेहरू, घरेलु हिंसाका पीडितहरू र अपाङ्गता भएका व्यक्तिहरू पनि यस परिवर्तनका कारण कठिनाइमा परेका छन् ।
नेशनल ट्याक्सपेयर एड्भोकेटका अनुसार गत वर्ष मात्र करिब १ करोड करदाताले कागजी चेकमार्फत आफ्नो रिफन्ड रकम फिर्ता पाएका थिए ।
यसैबीच, सरकारले यो समस्या समाधानका लागि स्पष्ट नीति र प्रक्रिया सार्वजनिक गर्नुपर्ने माग बढ्दो छ । यदि समयमै सुधार गरिएन भने लाखौँ करदाताहरूले अझै लामो समयसम्म आफ्नो रिफन्ड रकम पाउन कुर्नुपर्ने अवस्था रहन सक्नेछ ।

















