अमेरिकामा पर्यटक र व्यावसायिक भिसामा धरौटी अनिवार्य, नेपालसहित ५० देश प्रभावित
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाले पर्यटक तथा व्यावसायिक यात्रुहरूका लागि भिसा प्रक्रियामा नयाँ कडाइ लागू गरेको छ ।
नयाँ नियमअनुसार केही देशका नागरिकहरूले अब बी–१ (व्यवसाय) र बी–२ (पर्यटन) भिसा प्राप्त गर्नुअघि ५ हजारदेखि १५ हजार डलरसम्मको धरौटी रकम तिर्नुपर्ने जनाइएको छ ।
यो नीति राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनद्वारा विस्तार गरिएको हो । अमेरिकी अधिकारीहरूका अनुसार यो कदम भिसा अवधि नाघेर बस्ने (ओभरस्टे) समस्या नियन्त्रण गर्न लक्षित रहेको छ ।
नयाँ व्यवस्थाअनुसार सबै आवेदकलाई धरौटी अनिवार्य गरिएको छैन । भिसा अन्तर्वार्ताको क्रममा कन्सुलर अधिकारीले जोखिम मूल्याङ्कनका आधारमा मात्र धरौटी आवश्यक ठान्न सक्ने बताइएको छ ।

यस विस्तारसँगै अहिले नेपालसहित ५० देशहरू यो कार्यक्रमको दायरामा परेका छन् । हालै थपिएका देशहरूमा कम्बोडिया, इथियोपिया, जर्जिया, ग्रेनाडा, लेसोथो, मौरिसस, मंगोलिया, मोजाम्बिक, निकारागुवा, पपुआ न्यू गिनी, सेशेल्स र ट्युनिसिया रहेका छन् । यी देशहरू पहिले समावेश भएका अन्य देशहरूसँग जोडिएका हुन् ।
यो कदम अमेरिकी आप्रवासन नीतिमा भइरहेको व्यापक कडाइको हिस्सा रहेको छ । पछिल्लो समय भिसा अन्तर्वार्ता प्रक्रिया थप कडा बनाइएको छ । शुल्क वृद्धि गर्नुका साथै सामाजिक सञ्जाल जाँचलाई समेत विस्तार गरिएको छ ।
नियमअनुसार यदि यात्रुले आफ्नो भिसाको समयावधिभित्रै अमेरिका छोडेमा धरौटी रकम पूर्ण रूपमा फिर्ता पाइने जनाइएको छ । यदि भिसा सर्त उल्लङ्घन गरियो वा ओभरस्टे भयो भने उक्त रकम जफत गरिने उल्लेख गरिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले भविष्यमा यो कार्यक्रम अझ विस्तार हुन सक्ने सङ्केत दिएको छ । ओभरस्टे दर तथा अन्य आप्रवासन जोखिमका आधारमा देशहरू थप वा हटाइने सम्भावना रहेको छ ।
















