ट्रम्प प्रशासनअन्तर्गत ‘डिएचएस’को ऐतिहासिक उपलब्धि दाबी, सीमा सुरक्षा र आप्रवासन नियन्त्रणमा ठूलो सफलता
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / यु-एस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ‘डिएचएस’ सचिव क्रिस्टी नोयमले आफ्नो सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेकी छिन् ।
डोनाल्ड ट्रम्पको ४७ औँ राष्ट्रपतिका रूपमा पहिलो स्टेट अफ दि युनियन सम्बोधनको अवसरमा ‘डिएचएस’ सचिव नोयमले कर्मचारीहरूलाई धन्यवाद दिएकी हुन् । उनीले ‘डिएचएस’ का कर्मचारीहरूले अमेरिकालाई पुनः सुरक्षित बनाउन दिनरात काम गरिरहेको बताइन् ।
साथै, सचिव नोयमले ट्रम्प प्रशासनले आफ्नो पुनरागमनसँगै अमेरिकी नागरिकको सुरक्षा र कानुनको शासनलाई प्राथमिकता दिने नीतिहरू अघि बढाएको दाबी गरिन् । ‘डिएचएस’ ले सीमा सुरक्षा सुदृढीकरण, गैर कानुनी आप्रवासी निष्कासन, साइबर सुरक्षा मजबुत बनाउने, विपद् व्यवस्थापन सुधार गर्ने तथा यात्रा प्रणाली आधुनिकीकरण गर्ने जस्ता पहलहरू अघि बढाएको जनाएको छ ।
सचिव नोयमका अनुसार, ट्रम्प प्रशासनको कडाइका कारण पछिल्लो १३ महिनामा झन्डै ३० लाख गैर कानुनी आप्रवासी अमेरिका बाहिरिएका छन् । जसमा करिब २२ लाख स्वयं–निर्वासन र ७ लाख १३ हजारभन्दा बढी औपचारिक निष्कासन समावेश छन् ।
यु-एस कस्टम एण्ड बोर्डर प्रोटेक्सन ‘सीबिपी’ले दक्षिण पश्चिमी सीमामा पक्राउ सङ्ख्या ऐतिहासिक रूपमा घटेको दाबी गरेको छ । प्रशासनका अनुसार दैनिक भेटघाट ९५% ले घटेको जनाइएको छ । पछिल्ला ९ महिनामा कुनै पनि गैर कानुनी आप्रवासीलाई देशभित्र रिहा गरिएको बताइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको ‘वन बिग ब्युटिफुल बिल एक्ट’ अन्तर्गत ६५ अर्ब डलर सीमा सुरक्षामा लगानी गरिएको बताइएको छ । स्मार्ट वाल निर्माण, निगरानी प्रविधि, सडक तथा अवरोध संरचना निर्माणमा अरबौँ डलर खर्च भइरहेको जनाइएको छ ।
यता यु-एस इमिग्रेसन एण्ड कस्टम इफोर्समेन्ट ‘आइस’ ले सयौँ हजार आपराधिक गैर कानुनी आप्रवासी पक्राउ गरी निष्कासन गरेको दाबी गरिएको छ । । ‘डिएचएस’ले युएस डिपार्टमेन्ट अफ हेल्थ एण्ड हुमन सर्भिसेससँग सहकार्य गर्दै अघिल्लो प्रशासनको अवधिमा हराएका भनिएका १ लाख ४५ हजार बालबालिका फेला पारेको दाबी समेत गरेको छ ।
त्यस्तै. ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेसन ‘टिएसए’ ले सन् २०२५ मा यात्रु जाँचको कीर्तिमान कायम गरेको जनाएको छ । रियल आइडी कार्यान्वयन ९४ % अनुपालनसहित लागू गरिएको र सुज अन अभियानमार्फत यात्रुहरूलाई जुत्ता नखोली सुरक्षा जाँच पार गर्न अनुमति दिइएको बताइएको छ ।
फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी ‘फिमा’ ले १२ वटा राज्यमा आपत्कालीन विपद् घोषणा कार्यान्वयन गर्दै अरबौँ डलर सहयोग उपलब्ध गराएको जनाएको छ ।
डिजिटल उपकरण सुधार गरेर राहत वितरण समय २–३ हप्ताबाट घटाएर १–२ दिनमा ल्याइएको दाबी गरिएको छ । साथै यु-एस कोस्ट गार्डले ५ लाख ४७ हजार पाउन्डभन्दा बढी लागु औषध बरामद गरेको तथा हजारौँ उद्धार अभियान सञ्चालन गरेको जनाएको छ ।
‘डिएचएस’का अनुसार, ट्रम्प प्रशासनअन्तर्गत सीमा सुरक्षा, आप्रवासन नियन्त्रण, साइबर सुरक्षा, विपद् व्यवस्थापन र राष्ट्रिय सुरक्षामा ऐतिहासिक उपलब्धि हासिल गरेको बताइएको छ । विभागले आफ्नो अभियान अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

















