ट्रम्प प्रशासनको नयाँ नियम : ग्रीन कार्डवाहकलाई ‘एसबीए’ ऋणबाट वञ्चित गरिने
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / ट्रम्प प्रशासनले जारी गरेको नयाँ नियमअनुसार ग्रीन कार्डवाहकहरूले अमेरिकी साना व्यवसाय प्रशासन (एसबीए) बाट प्रदान गरिने ऋणका लागि आवेदन दिन नपाउने भएको छ ।
(एसबीए)को सूचनाअनुसार अब नागरिक स्वामित्वमा रहेका व्यवसायहरू मात्र यस्तो ऋणका लागि योग्य हुने जनाइएको छ ।
(एसबीए) अमेरिकी सरकारी निकाय हो । जसले देशभरका लाखौं साना व्यवसायलाई ऋण तथा अन्य सहयोग प्रदान गर्दै आइरहेको छ । ग्रीन कार्डवाहकहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न कानुनी अनुमति प्राप्त हुन्छ ।
मानव अधिकार समूहहरूले ट्रम्प प्रशासनका आप्रवासनसम्बन्धी नीतिहरूको आलोचना गर्दै आएका छन् । उनीहरूका अनुसार भिसा तथा ग्रीन कार्ड खारेजी, डिपोर्टेसन प्रयास र सङ्घीय एजेन्ट परिचालनजस्ता कदमहरूले अल्पसंख्यक समुदायमा भयको वातावरण सिर्जना गरेको छ । ट्रम्प प्रशासनले भने आन्तरिक सुरक्षाको चिन्ता र ठगी नियन्त्रणको उद्देश्यले यी नीतिहरू लागू गरिएको जनाएको छ ।
(एसबीए) को सूचनाअनुसार आगामी मार्च १ देखि (एसबीए) द्वारा प्रत्याभूत (ब्याक्ड) ऋणका लागि आवेदन दिने व्यवसाय पूर्ण रूपमा अमेरिकी नागरिक वा अमेरिकामा मुख्य बसोबास रहेका अमेरिकी नागरिक राष्ट्रियको स्वामित्वमा हुनु पर्ने जनाएको छ ।
(एसबीए)को नयाँ सूचनाले अघिल्लो निर्देशिका खारेज गरेको छ । जसअनुसार कुनै व्यवसायमा अधिकतम ५ प्रतिशतसम्म विदेशी नागरिक वा अमेरिकाबाहिर मुख्य बसोबास भएका अमेरिकी नागरिक, अमेरिकी राष्ट्रिय वा कानुनी स्थायी बासिन्दाको स्वामित्वलाई अनुमति दिइएको थियो ।
सूचनामा थप उल्लेख गरिएअनुसार कार्यान्वयन मितिदेखि कानुनी स्थायी बासिन्दा (एलपीआर) हरूले आवेदन दिने व्यवसायमा कुनै पनि प्रतिशत स्वामित्व राख्न पाउने छैनन् । साथै, नयाँ नियमले गैर–नागरिकहरूलाई अमेरिकामा व्यवसाय स्वामित्व राख्न वा परम्परागत बैङ्क ऋण लिन भने प्रतिबन्ध लगाएको छैन ।

















