मेरो विकेट नै खेलको टर्निङ प्वाइन्ट भयो : रोहित
मुम्बई, भारत / नेपाली कप्तान रोहित पौडेलले आइसीसी टी २० विश्व कप क्रिकेटको इटाली विरुद्धको खेलमा आफ्नो विकेट टर्निङ प्वाइन्ट भएको बताएका छन्।
मोस्का दाजुभाईले इटलीलाई दिलाए ऐतिहासिक जित, नेपाललाई चखाए नमिठो हार
बिहीबारको खेलमा नेपालले इटली सँग दश विकेटको लज्जास्पद हार बेहोरे पछि कप्तान पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन्।
समूहको पहिलो खेलमा इंग्ल्यान्डलाई अन्तिम ओभर सम्म चुनौती दिएको नेपाल इटली विरुद्ध भने निकै फितलो भयो र इतिहासकै ठूलो हार बेहोर्न पुग्यो।
कप्तान पौडेलले इटलीले राम्रो खेलेको बताए।
‘आज इटालीले राम्रो खेलेर जित्यो। विशेषगरी ब्याटिङमा हामीले धेरै कमजोरी देखायौँ। सुरुमा ब्याटिङ गर्न निकै गाह्रो थियो, तर पनि १२३ रन त लज्जाको विषय होइन।’ कप्तान पौडेलले भने, ‘हामीले ६०-७० रनमा नै अल आउट हुने अवस्था आएको थियो, जुन हाम्रो खराब ब्याटिङकै कारण भयो। यसलाई कुनै बहाना बनाउन मिल्दैन। हामीले पिच र कन्डिसनलाई सम्मान गर्न सकेनौँ,’ रोहितले खेलपछिको पोस्ट म्याच प्रिजेन्टेसनमा भने।
पौडेलले आफू आउट भए पछि सबै कुरा बदलियो बताए
‘सुरुमा गाह्रो थियो र हामीले केही हतारो/रिस्की शट खेल्यौँ। मेरो विकेट नै खेलको टर्निङ प्वाइन्ट भयो। मैले र आसिफले राम्रो साझेदारी गर्यौँ, पावरप्लेमा राम्रो खेल्यौँ, तर म आउट भएपछि सबै कुरा बदलियो। त्यसपछि हामीले राम्रो गर्न सक्थ्यौँ।’
उनले यो खेल कठिन नभएको पनि बताए।
‘यो खेल हाम्रो लागि त्यति कठिन थिएन। यस्तो अवस्थामा धेरै खेल खेलिसकेका छौँ र हाम्रा खेलाडी अनुभवी छन्। टिमको रूपमा हामी सुधारिँदै छौँ।’ पौडेलले भने, ‘इंग्ल्यान्ड विरुद्ध राम्रो खेलेर उच्च स्तर देखाएपछि आज यस्तो नतिजा आउनु निराशाजनक भयो। हामी जस्तो टिमले लगातार राम्रो गर्नुपर्छ।’
कप्तान पौडेले आफूहरूले प्रमाणित गर्ने दिनमा चुकेको स्वीकारे।
‘आज हामीले आफूलाई प्रमाणित गर्ने दिन थियो, तर त्यसो गर्न सकेनौँ। तर इटालीलाई पनि क्रेडिट दिनुपर्छ। उनीहरूले आज साँच्चै राम्रो खेले। उनीहरूलाई पूर्ण श्रेय दिन्छु।’

















