मोस्का दाजुभाईले इटलीलाई दिलाए ऐतिहासिक जित, नेपाललाई चखाए नमिठो हार
मुम्बई, भारत / आइसीसी टी–२० विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। समूह चरणको दोस्रो खेलमा बिहिवार नेपालले इटाली सँग दश विकेटको लज्जास्पद हार बेहोर्यो।
इटलीका ओपनर एन्थोनी मोस्का र जस्टिन मोस्का दाजु भाईले आफ्नो देशको नाममा इतिहास मात्र लेखाइन नेपालाई नमिठो हार चखाए । टी-२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो। यसअघि नेपालले विश्वकपको खेलमा कहिल्यै १० विकेटले हार ब्यहोरेको थिएन।
इटलीका लागि भने यो विश्व कपकै पहिलो जित हो।
नेपालले दिएको एक सय २४ रनको लक्ष्य यी दाजु भाईले मात्र १२ ओचार चार बलमा बिना कुनै विकेट गुमाइ पूरा गरे । दुबैले अर्ध शतक पनि पुरा गरे।
नेपालका बलरहरू अतालिएका थिए। फिल्डिङमा पनि नेपाल चुक्यो । जसले दुई दाजुभाइलाई रन बनाउन सजिलो भयो। नेपाली बलरलाई निरिह बनाउदै एन्थोनी मोस्का ६२ र जस्टिन मोस्का ६० रनमा अविजित रहे।
जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए।
करण केसी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र सन्दीप लामिछाने प्रभावकारी हुन सकेनन्।
यस अगाडि नेपालले टस हारेर पहिलो व्याटिङको निम्तो पाएको थियो। सुरुदेखि नै नेपाली शीर्षक्रम दबाबमा रह्यो। ओपनरहरू छोटो स्कोरमै पवेलियन फर्किए र मध्यक्रमले साझेदारीको प्रयास गर्दा पनि रन गति नियन्त्रणमा राख्न सकेन।
वानखेडे रंगशालामा पहिलो खेलमा शक्तिशाली इङ्ग्ल्यान्डलाई अन्तिम ओभरसम्म दबाबमा राख्दै प्रशंसा कमाएको नेपाल, यसपटक तुलनात्मक रूपमा कमजोर मानिएको इटालीविरुद्ध भने अपेक्षाअनुसार देखिन सकेन।
दोस्रो ओभरमा कुशल भुर्तेल ५ रनमै क्याच आउट भए। अगाडि बढेर खेल्ने प्रयासमा उनी जस्टिन मोस्काको हातमा समातिँदा नेपाल ८ रनमै पहिलो विकेट गुमाउन पुग्यो। त्यसपछि आसिफ शेख र रोहित पौडेलले पारी सम्हाल्ने प्रयास गरे। रोहितले केही आकर्षक शट खेल्दै १४ बलमा २३ रन बनाए, जसमा दुई छक्का समावेश थिए। तर सातौं ओभरमा क्रिशन कालुगामागेको बलमा क्याच आउट भएपछि नेपाल ४९/२ को अवस्थामा पुग्यो।
त्यसको केही बलपछि आसिफ शेख पनि स्टम्प आउट भए। २० रन जोडेर लयमा देखिएका आसिफ अगाडि निस्केर प्रहार गर्न खोज्दा विकेटकिपर जियान–पिएरो मिडले चनाखो स्टम्पिङ गरे। नेपाल ७.२ ओभरमै ४९/३ मा झर्यो।
दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले मध्यक्रम सम्हाल्ने प्रयास गरे। दिपेन्द्रले १७ रन बनाउँदै टिकाउ खेल देखाए, तर १३.५ ओभरमा फेरि कालुगामागेको शिकार बने। त्यसबेला नेपाल ९३/४ मा थियो र ठोस आधार बनाउने अवसर थियो। तर त्यसपछि खेल एकाएक इटालीतर्फ मोडियो।
लोकेश बम ३ रनमा आउट भए भने गुलशन झा पनि ३ रनमै क्याच आउट भए। १५ देखि १६ ओभरको बीचमा लगातार विकेट झर्दा नेपाल १०२/७ को अवस्थामा पुग्यो। नन्दन यादव रनआउट हुँदा दबाब झन् बढ्यो। सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए भने अन्तिममा ललित राजवंशी पनि रनआउट हुँदा नेपाल १९.३ ओभरमा १२३ रनमै समेटियो।
अन्त्यतिर करण केसीले ११ बलमा अविजित १८ रन जोड्दै केही सम्मानजनक स्कोरमा पुर्याउने प्रयास गरे। तर समग्रमा नेपालको ब्याटिङ निरन्तर साझेदारी बनाउन असफल देखियो। कुनै पनि जोडीले लामो सहकार्य गर्न नसक्दा रनगति पनि ६.३१ मा सीमित रह्यो।
इटालीका क्रिशन कालुगामागे ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएर खेलका मुख्य पात्र बने। बेन्जामिन मानेन्टीले ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट लिए र नेपाललाई खुल्नै दिएनन्।
लगातार दुई खेलमा पराजित भएसँगै समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ। अब नेपालले आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डससँग खेल्दैछ। यी दुवै खेल जिते पनि नेपालको हातमा सुपर-८ पुग्ने समिकरण हुनेछैन।

















