टी २० विश्व कप: पाकिस्तानले अमेरिकालाई ३२ रनले हरायो
कोलम्बो, श्रीलंका / आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत मंगलबार भएको समूह चरणको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको छ।
कोलम्बोस्थित सिंहलीज स्पोर्ट्स क्लब मैदानमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमै सीमित भयो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनायो।
पाकिस्तानका लागि साहिबजादा फरहानले उत्कृष्ट ब्याटिङ गर्दै ४१ बलमा ७३ रन प्रहार गरे। उनले ६ चौका र ५ छक्का प्रहार गर्दै आक्रामक पारी खेलेका थिए।
कप्तान बाबर आजम ले ३२ बलमा ४६ रनको योगदान दिए भने शादाब खानले मात्र १२ बलमा ३० रन जोड्दै अन्त्यतिर रन गति बढाए।
अमेरिकाका बलरमध्ये शाड्ली भान शाल्कविकले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। सौरभ नेत्रावलकर, मोहम्मद मोहसिन र हरमीत सिंह ले समान १–१ विकेट लिए।
१९१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको अमेरिकी टोलीले संघर्षपूर्ण सुरुआत गर्यो। शायन जहाङ्गिरले ३४ बलमा ४९ रन र शुभम रञ्जने ले ३० बलमा ५१ रनको आक्रामक पारी खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। मिलिन्द कुमार ले २२ बलमा २९ रन जोडे।
पाकिस्तानका बलरहरूमा उस्मान तारिक ले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। शादाब खान ले २ विकेट लिए भने शाहिन शाह अफ्रिदी, अबरार अहमद र मोहम्मद नवाज ले समान १–१ विकेट लिएर अमेरिकी इनिङ्सलाई दबाबमा राखे।
यस खेलमा शानदार ब्याटिङ प्रदर्शनका कारण साहिबजादा फरहान ‘प्लेयर अफ द म्याच’ घोषित भए।
अमेरिकाको यो दोस्रो हार हो । यस अगाडि भारत सँग पनि पराजित भएको थियो।

















