एफ-वाई २०२७ दर्ता सिजनको एच-१बी चयन प्रणाली : उच्च तलब पाउने कामदारलाई प्राथमिकता, रजिस्ट्रेसन मार्च ४ देखि १९ सम्म
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / यूएस सिटिजेन्सशिप एण्ड इमिग्रेसन सर्भिसेस (युएससीआईएस) ले एफ-वाई २०२७ एच-१ बी क्याप लटरी रजिस्ट्रेसन सिजनको लागि नयाँ नियम र मिति सार्वजनिक गरेको छ ।
(युएससीआईएस)का अनुसार प्रारम्भिक रजिस्ट्रेसन आगामी मार्च ४ तारिख मध्यान्ह १२ बजे बाट सुरु भएर मार्च १९ मध्यान्ह १२ बजेसम्म हुनेछ । यस अवधिमा रोजगारदाताहरूले प्रत्येक कामदारलाई अनलाइन दर्ता गर्नु पर्ने तथा प्रत्येक दर्ताका लागि २ सय १५ डलर शुल्क तिर्नु पर्ने जनाइएको छ ।
त्यस्तै छनोट रजिस्ट्रेसन भएका कामदारहरूले मात्र एच १ बी क्याप लटरी निवेदन दर्ता गर्न योग्य हुनेछन् । एडभान्स डिग्री एसेम्पसन अन्तर्गतका आवेदन पनि समावेश छन् । चयनको सूचना (युएससीआईएस) अनलाइन खाताबाट मार्च ३१ भित्र उपलब्ध गराइने जनाइएको छ ।
(युएससीआईएस)को नयाँ नियम अनुसार एच १ बी क्याप रजिस्ट्रेसन तलब स्तरमा आधारित ‘वेइटेड’ प्रणाली मार्फत हुनेछ । साथै, यसले उच्च दक्षता र उच्च तलब पाउने विदेशी कामदारलाई प्राथमिकता राख्ने बताइएको छ ।
र्यान्डम लटरीमा चयन हुने लाभग्राही अब डिपार्टमेन्ट अफ लेबर (डिएलओ) को ‘ओउस’को डेटाबेस अनुसार तलब स्तर अनुसार चयन हुनेछन् । ओउसका अनुसार प्रत्येक पेशाका लागि चार तलब स्तर लेभल १ देखि ४ सम्म निर्धारण गरिएको छ । जुन स्थान अनुसार फरक पर्ने जनाइएको छ ।
यदि रजिस्ट्रेसन लटरीमा चयन भएको खण्डमा रोजगारदाताले कामदारको लागि एच-१ बी निवेदन दर्ता गर्न सक्नेछन् । निवेदनमा एसओएस कोड, रोजगार क्षेत्र, र तलब स्तर जस्ता विवरण रजिस्ट्रेसनसँग मेल खाने हुनु पर्नेछ ।
(युएससीआईएस)को नयाँ नियम अनुसार उच्च तलब पाउने कामदारको चयनको सम्भावना बढी हुन्छ । इन्ट्रि लेभल भएकाहरु चयन हुने सम्भावना कम हुने बताइएको छ । रोजगारदाताले रजिस्ट्रेसन चरणमा एसओएस कोड, रोजगार स्थान तथा तलब स्तर सम्बन्धी अतिरिक्त जानकारी पेस गर्नु पर्नेछ ।
साथै, सन् २०२५ को सेप्टेम्बरमा ट्रम्प प्रशासनले लागू गरिएको १ लाख डलर शुल्क पनि एच-१ बी भिसामा लागु हुनेछ । यो शुल्क नयाँ एच-१ बी निवेदनमा लागु हुनेछ । जसले कन्सुलर सूचना वा पोर्ट–अफ–एन्ट्री सूचना माग्ने बताइएको छ ।
नयाँ नियम यही फेब्रुअरी २७ देखि प्रभावकारी हुनेछ । साथै, एफ-वाई २०२७ एच-१ बी क्याप रजिस्ट्रेसनमा लागु हुनेछ । रजिस्ट्रेसन मार्च २०२६ बाट सुरु हुनेछ ।

















