आयरल्यान्ड र स्कटल्यान्ड आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि छनोट
काठमाडौं/ आयरल्यान्ड र स्कटल्यान्डले छनोट प्रतियोगिताको अन्तिम दिन जित हात पार्दै आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि आफ्नो स्थान सुरक्षित गरेका छन्।
आयरल्यान्डले थाइल्यान्डलाई ६२ रनले पराजित गर्दै यस वर्ष हुने विश्वकपका लागि टिकट पक्का गर्यो भने स्कटल्यान्डले अमेरिकालाई ४१ रनले हराउँदै छनोट सुनिश्चित गर्यो।
यसैबीच, बंगलादेशले नेदरल्यान्ड्सलाई सात विकेटले पराजित गर्दै नेपालमा सम्पन्न छनोट प्रतियोगितामा अपराजित यात्रा कायम राख्यो। उक्त खेलअघि नै दुवै टोली विश्वकपमा छनोट भइसकेका थिए।
शानदार प्रदर्शनसहित आयरल्यान्डको छनोट
अन्तिम दिनको दबाब आयरल्यान्डका लागि कुनै समस्या बनेन। आयरल्यान्डले थाइल्यान्डलाई सजिलै पराजित गर्दै आईसीसी महिला टी–२० विश्वकप २०२६ मा स्थान सुरक्षित गर्यो।
बलिङतर्फ अर्लिन केली र लारा म्याकब्राइड चम्किए। केलीले ७ रन खर्चेर ४ विकेट लिइन् भने म्याकब्राइडले ६ रनमा ३ विकेट हात पारिन्। १२२ रनको लक्ष्य पछ्याउँदै थाइल्यान्ड ५९ रनमै अलआउट भयो।
कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डका लागि ओपनर एमी हन्टरले १५ बलमा २४ रन बनाइन्। त्यसपछि गाबी लुइस (२५) र ओरला प्रेन्डरगास्ट (२४) ले उपयोगी योगदान दिए।
एक समय ७९/३ को अवस्थामा रहेको आयरल्यान्ड ९६/७ मा खुम्चिए पनि लुइस लिटिल (१४) र जेन मग्वायर (१५ नटआउट) को अन्तिम साझेदारीले टोलीलाई २० ओभरमा १२१/८ सम्म पुर्यायो।
जवाफमा थाइल्यान्डका ओपनर नाथ्थाकान चन्थाम (८) र नान्नाफात चाइहान (०) दुई ओभरभित्रै आउट भए। कप्तान नारुएमोल चाइवाइ (२२) र नान्नापाट कोन्चारोएनकाइ (१५) ले केही समय सम्हाल्ने प्रयास गरे पनि विकेट निरन्तर झरिरह्यो। केलीको घातक स्पेलसँगै थाइल्यान्ड ५१/५ बाट ५९ रनमै समेटियो।
स्कटल्यान्डले अमेरिकालाई हराउँदै विश्वकप यात्रा पक्का
आयरल्यान्डपछि स्कटल्यान्डले पनि आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि छनोट सुनिश्चित गरेको छ। स्कटल्यान्डले अमेरिकालाई ४१ रनले पराजित गर्यो।
ओपनर डार्सी कार्टरले ३४ बलमा ५२ रनको आक्रामक अर्धशतक प्रहार गर्दै स्कटल्यान्डलाई २० ओभरमा १७८/८ को विशाल योगफलमा पुर्याइन्।
क्याथरिन फ्रेजर (१७) र कप्तान क्याथ्रिन ब्राइस (०) लगातार बलमा आउट भए पनि कार्टरले आइल्सा लिस्टर (३२ बलमा ४३) सँग मिलेर इनिङ्स सम्हालिन्।
प्रियानाज चटर्जीले २८ बलमा ३९ रन बनाउँदै स्कटल्यान्डलाई छनोटकै उच्च स्कोरमा पुर्याइन्।
जवाफमा अमेरिकाका लागि दिशा ढिंग्रा दोस्रो बलमै आउट भइन्। चेतना पग्याड्याला (२४) र एला क्लारिज (३५) ले केही प्रतिरोध गरे पनि निरन्तर विकेट गुम्दा टोली १९ ओभरमै १३७ रनमा अलआउट भयो।
बंगलादेश अपराजित रहँदै शीर्ष स्थानमा
बंगलादेशले छनोट चरणमा सातै खेल जित्दै शीर्ष स्थान सुरक्षित गरेको छ। नेदरल्यान्ड्सलाई सात विकेटले पराजित गर्दै बंगलादेशले आफ्नो दबदबा कायम राख्यो।
नेदरल्यान्ड्सका लागि सान्या खुराना ४३ रनमा रिटायर्ड हर्ट भइन् भने रोबिन राइकेले ३९ रन बनाइन्। तर अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्।
बंगलादेशका लागि नाहिदा अख्तरले १० रनमा ३ विकेट लिइन्।
१०३ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले सुरुआती दुई विकेट छिट्टै गुमाए पनि कप्तान निगार सुल्ताना जोतीले ४४ बलमा नटआउट ५० रनको कप्तानी इनिङ्स खेलिन्। सोभाना मोस्तारी (३३ नटआउट) सँगको साझेदारीमा बंगलादेशले १६.४ ओभरमै लक्ष्य पूरा गर्यो।















