एनआरटी शीर्ष स्थानमा दबाब बढाउँदै
काठमाडौं/ दुई खेलाडीले रातो कार्ड सामना गरेको खेलमा न्यु रोड टिम (एनआरटी) ले जित निकाल्दै राष्ट्रिय लिगको शीर्ष स्थानका लागि अंक बराबरी गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एनआरटीले बिहीबार संकटा क्लबमाथि ३–१ को जित निकाल्दै लिगमा चौथो जित आत्मसात गर्यो ।
एनआरटीको जितमा कृतिषरत्न छुन्जु र टिमोथीको ओकेरेकेले समान एक गोल गरे । संकटाका वेन्डपाङ्गा विल्गोले आत्मघाती गोल गर्न पुगे ।कृष्णबहादुर आलेले गोल फर्काए पनि संकटाको हार टरेन । खेलमा दुवै टोलीका समान एक जना विदेशी खेलाडीले रातो कार्ड सामना गरे । खेलको २४औँ मिनेटमा नै डिफेन्डर टाय ड्यानिएल बाडारुले दोस्रो पहेँलो कार्ड सामना गरेपछि संकटा १० खेलाडीमा सीमित भयो । उनले त्यसअघि तेस्रो मिनेटमा नै पहेँलो कार्ड बेहोरेका थिए । एनआरटीले ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
कप्तान कृतिषरत्नको गोलबाट एनआरटीले अग्रता लिँदै संकटामाथि दबाब बनायो । २४औँ मिनेटमा संकटाले एक खेलाडी गुमाएपछि भने एनआरटीले त्यसको फाइदा लिन सकेन । पहिलो हाफमा एनआरटीले थप गोल गर्न सकेन । दोस्रो हाफमा भने तीन गोल निस्कियो ।
५१औँ मिनेटमा संकटाका डिफेन्डर वेन्डपाङ्गाले आत्मघाती गोल गर्न पुगे । संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले नियन्त्रणमा लिन नसकेको बललाई क्लियर गर्ने प्रयासमा वेन्डपाङ्गाले आत्मघाती गोल गरेका हुन् । तर, त्यसको पाँच मिनेपछि संकटाले गोल गर्दै खेलमा फर्कने प्रयास गर्यो ।
सबिनकुमार लुङ्गेली मगरले राइट साइडबाट दिएको कट पासलाई कृष्णबहादुरले गोल गरेका हुन् । तर, ६७औँ मिनेटमा एनआरटीले तेस्रो गोल गर्दै संकटासँग अग्रता ३–१ ले अगाडि बढायो । एनआरटीका लागि नाइजेरिया खेलाडी ओकेरेकेको गोल गरेका हुन् ।
तर, ८६औँ मिनेटमा ओकेरेकेले आफूमाथि फउल भएको भन्दै विवाद गरेपछि लगातार दोस्रो पहेँलो कार्ड बेहोरे । तर, संकटाले त्यसको फाइदा उठाउन सकेन र एनआरटीले ३–१ को जित निकाल्यो । यो जितसँगै एनआरटी पाँच खेलबाट १२ अंक बटुल्दै तेस्रो स्थानमा उक्लियो । एनआरटीले पहिलो खेलमा नै मच्छिन्द्र क्लबसँग हार बेहोरेको थियो । तर, त्यसपछि एनआरटीले लगातार चार खेलमा जित निकालेको हो ।
पाँच खेलबाट संकटाले एक जित, दुई बराबरी र दुई हार सामना गर्यो । संकटाले लगातार दोस्रो हार बेहोरेको हो । मिलन राईको ह्याट्रिकमा चर्च ब्वाइज युनाइटेडले नव जनजागृति युवा क्लबमाथि ६–१ को फराकिलो जित निकाल्यो ।
मिलनको ह्याट्रिकसँगै अबायोमी फाकुन्लेले दुई गोल र एरिक विष्टले एक गो थपे । नव जनजागृतिका जोहान बोइरले एक गोल फर्काए पनि फराकिलो हार टार्न सकेनन् । यससँगै नव जनजागृतिले लगातार चौथो हार सामना ग¥यो । चर्च ब्वाइजले भने चौथो खेलमा दोस्रो जित निकाल्दै सात अंक बटुल्यो ।
–न्युज एजेन्सी नेपाल
















