रुसको बैकल तालमा कार पल्टिँदा एक चिनियाँ पर्यटकको मृत्यु
मस्को/ रुसको बैकल तालको जमेको सतहमा बुधवार पर्यटक बोकेको एउटा कार पल्टिँदा एक चिनियाँ पर्यटकको मृत्यु भएको छ ।
तास न्युज एजेन्सीकाअनुसार यो दुर्घटना रुसको इर्कुत्स्क ओब्लास्टस्थित बैकल तालको ओल्खोन टापु नजिकैको बरफमा भएको हो ।
इर्कुत्स्कस्थित चिनियाँ महावाणिज्य दूतावासले मृत्युको पुष्टि गर्दै अन्य चार चिनियाँ पर्यटक सामान्य घाइते भएको जनाएको छ ।
घटनाको जानकारी पाउने बित्तिकै महावाणिज्य दूतावासले तुरुन्तै आपत्कालीन प्रतिक्रिया योजना सक्रिय गरी टुर गाइड, चिनियाँ पर्यटक र स्थानीय उद्धारकर्मीहरूसँग सम्पर्क गरेको थियो ।
यसका साथै दूतावासले स्वयंसेवकहरूलाई घटनास्थलमा खटाउन समन्वय गर्नुका साथै उद्धारकर्मीहरूलाई घाइतेहरूलाई उपचारका लागि खुझिर शहरको मेडिकल स्टेशनमा लैजान अनुरोध गरेको थियो ।
हाल घाइतेहरूलाई ओल्खोन जिल्लाको अस्पतालमा सारिएको छ र महावाणिज्य दूतावासले आगामी व्यवस्थापनका लागि हर सम्भव प्रयास गरिरहेको छ । रुसी अनुसन्धान समितिले यस घटनाको बारेमा अनुसन्धान शुरु गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

















