वेलिङ्टन फिनिक्सलाई ठूलो झट्का, नेपाली स्ट्राइकर साम्बा सिजनभर खेल्न नपाउने
कार्लाल, पेन्सिलभेनिया / वेलिङ्टन फिनिक्स महिला टोलीले गम्भीर घुँडाको चोटका कारण तेस्रो खेलाडी गुमाउँदा ठूलो झट्का बेहोरेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सबित्रा भण्डारी ‘साम्बा’ मिडफिल्डर टेसल मिडाग र एलिसा विनह्यामसँगै बाँकी जारी निन्जा ए–लिग महिला फुटबल सिजनका लागि खेल्न नपाउने भएकी हुन् ।
एमआरआई परीक्षणबाट साम्बाको दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) ग्राफ्ट च्यातिएको पुष्टि भएको हो । अब उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर रहने जनाइएको छ ।
गत शनिबार राति ब्रिसबेनमा भएको राउन्ड—११ को खेलमा ब्रिसबेन रोअरविरुद्धको दोस्रो हाफको अन्त्यतिर उनी घाइते भएकी थिइन् ।
यो टोलीमा भएको तीनमध्ये दोस्रो ‘कन्ट्याक्ट एसिएल’ चोट हो । चोटमा अत्यधिक बल प्रयोग भएकाले यसलाई रोक्न सकिने कुनै उपाय नभएको क्लबले जनाएको छ । फिनिक्सकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।
“टोली साम्बाका लागि अत्यन्तै दुःखी छु । यस्तो समाचार दिनु पर्दा म स्वयं पनि अत्यन्तै विचलित भएकी छु । हामीले एक असाधारण मान्छेलाई टोलीमा भित्र्याएका थियौं । साम्बा टोलीकै सबैभन्दा लोकप्रिय खेलाडीमध्ये एक हुन् । सबैले उनलाई माया गर्छन् । त्यसैले सिजन समाप्त हुने चोट लाग्दा पहिलो चिन्ता खेलाडी स्वयंप्रति नै हुन्छ ।”, प्रिस्टम्यानले भनिन् ।
“म उनको लागि निकै दुःखी छु, तर उनको आँखामा मैले फर्किने तीव्र चाहना देखेकी छु । उनीसँग हाम्रो दुई सिजनको सम्झौता छ र उ जति सक्दो चाँडो खेलमा फर्किन चाहन्छ ।”, प्रशिक्षक बेभले भनिन् ।
प्रिस्टम्यानले थपिन्, “२४ घण्टामा मैले यो खबरलाई आत्मसात गरेकी छु । यसअघि पनि चोटका कारण हामी समस्यामा परेका थियौं, तर अन्य खेलाडीहरूले जिम्मेवारी सम्हालेका छन् । यस्ता चुनौतीले टोलीको चरित्र परीक्षण गर्छन्।”
“यसअघि मेलबर्न भिक्ट्रीविरुद्ध पनि हामीले यस्तै अवस्था सामना गरेका थियौं। मलाई आशा छ, टोली साम्बाका लागि राम्रो प्रदर्शन र नतिजा ल्याउन एकजुट हुनेछ।”
फिनिक्स क्लबले साम्बाको स्थानमा चोट प्रतिस्थापन खेलाडी खोजिरहेको जनाएको छ । निन्जा ए–लिगको दर्ता समयावधि बन्द भइसकेकाले क्लब स्वतन्त्र खेलाडी (फ्री एजेन्ट) हरूमाझ सीमित खोजी गर्न बाध्य रहेको जनाएको छ ।
“खुला विन्डोजस्तो सहज त छैन, तर हामीले अर्को फरवार्ड खोज्नै पर्छ,” प्रिस्टम्यानले भनिन्। “हामी छिट्टै फरवार्ड अनुबन्ध गर्न प्रयास गर्नेछौं।”


















