पेन्सिल्भेनियाको ह्यारिसबर्गमा मनाइयो तमु ल्होसार
ह्यारिसबर्ग पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग र आसपासमा रहेका गुरुङ समुदायले शनिवार तमु ल्होसार सामूहिक रुपमा मनाएका छन्।
भुट्नीज गुरुङ कम्युनिटी अफ सेन्टर पेन्सिल्भेनियाको आयोजनामा ह्यारिसबर्गमा तमु ल्होसार मनाइएको हो ।
ल्होसार मनाउन ह्यारिसबर्ग भन्दा बाहिरी क्षेत्रबाट पनि उपस्थिति रहेको थियो।

तोला अर्थात् तमु ल्होसार तमु/गुरुङ समुदायको महान् चाड हो। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ समुदायमा मनाइन्छ।
‘तमु’ भनेको गुरुङ वा तमु हो भने ‘ल्होसार’ भनेको नयाँ वर्ष हो। गुरुङ समुदायमा पुष १५ लाई नयाँ वर्षको रुपमा मनाउने परम्परा छ।

भुट्नीज गुरुङ कम्युनिटी अफ सेन्टर पेन्सिल्भेनियाका अध्यक्ष अर्जुन (लोक) गुरुङले समुदायको सबैको समय अनुकूल मिलाउन शनिवार सामूहिक कार्यक्रम आयोजना गरिएको बताए।
‘हामीले विधि अनुसार पुस १५ मा नै ल्होसार मनाउँछौ। तर अमेरिकामा सामूहिक कार्यक्रमका लागि शनिवार वा आइतबार नै पार्नु पर्ने हुन्छ।’ अध्यक्ष अर्जुनले समाज टाइम्स सँग भने।
‘हाम्रो सांस्कृतिक वंशावली, पुर्खाको परम्परा र गुरुङ समुदायको लागि नयाँ वर्षको सुरुवातको सम्मान गर्ने हामी कार्यक्रम आयोजना गरेका हौ।’ उनले भने।
कार्यक्रममा ल्होसारको शुभ कामना साटासाट गर्नुका साथै सांस्कृतिक प्रस्तुति पनि रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिक, युवा पुस्ता र बालबालिकाहरूको बाक्लो उपस्थिति थियो।

‘यो कार्यक्रमले हाम्रो सांस्कृतिक गौरवलाई युवा पुस्तामा पनि जोड्छ र हस्तान्तरण गर्छ।’ संस्थाका महासचिव वीरेन गुरुङले भने, ‘हाम्रो सांस्कृतिक पहिचानलाई जोगाउनु आवश्यक छ। जब हाम्रा युवा पुस्ताहरू जोडिएका हुन्छन् र हाम्रो सांस्कृतिक सम्पदाको महत्त्व सिक्छन्।’ , तिनीहरू यसलाई सम्मान गर्न, यसको वकालत गर्न र यसलाई मर्यादा र गर्वका साथ अगाडि बढाउन राम्रोसँग सुसज्जित हुन्छन्।
कार्यक्रममा सहभागी प्रायशः आ आफ्नो परम्परागत पोशाकमा उपस्थित भएका थिए।

‘समुदायमा सद्भाव, एकता र कृतज्ञताका साथ नयाँ वर्षलाई स्वागत गर्न यस्ता कार्यक्रमले सहयोग गर्छ।’ अध्यक्ष गुरुङले भने।
उनका अनुसार यस पटकको ल्होसारमा गत वर्षको तुलनामा सहभागिता बाक्लो थियो।
‘हामीले सोचेको भन्दा धेरै जना यस पटकको कार्यक्रममा सहभागी हुनु भयो।’ अध्यक्ष गुरुङले भने, ‘हामी खुसी छौ।’
कार्यक्रममा ९० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकहरूलाई सम्मान समेत गरिएको थियो।















