अमेरिकामा बस्ने आप्रवासी ज्येष्ठ नागरिक : मौन पीडा, साझा जिम्मेवारी
मनिष उप्रेती
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकामा आप्रवासी भएर बसिरहेका हजारौँ ज्येष्ठ नागरिकहरू आज भौतिक सुविधाको देशमा भए पनि मानसिक, सामाजिक र कानुनी रूपमा असहज जीवन बिताइरहेका छन्। छोराछोरीको भविष्य सुरक्षित बनाउने आशामा आएका यी अभिभावकहरूको पीडा प्रायः मौन रहन्छ।
सबैभन्दा ठूलो समस्या भाषा हो। अंग्रेजी नआउँदा अस्पताल, बैंक, बीमा, सरकारी कार्यालयजस्ता ठाउँमा उनीहरू अरूमा निर्भर हुन बाध्य छन्। साधारण कागजपत्र नबुझ्दा डर लाग्ने, गल्ती हुने चिन्ता रहने र आत्मविश्वास कमजोर हुँदै जान्छ।
अर्को गम्भीर समस्या एक्लोपन हो। अमेरिकाको व्यस्त जीवनशैलीमा छोराछोरी काममा व्यस्त हुन्छन्, नातिनातिना फरक संस्कार र भाषामा हुर्किन्छन्। यसले पुस्तागत दूरी बढाउँछ र ज्येष्ठ नागरिकलाई आफू अनावश्यक भएको अनुभूति गराउँछ। यही कारण धेरैमा उदासी, चिन्ता र डिप्रेसन देखिन थालेको छ।
स्वास्थ्य सेवा र बीमा प्रणाली बुझ्न पनि उनीहरूलाई कठिन हुन्छ। मेडिकेयर, मेडिकेड, निजी बीमा, अपोइन्टमेन्ट प्रणाली र औषधि प्रक्रिया नबुझ्दा समयमै उपचार नपाउने अवस्था आउँछ। मानसिक स्वास्थ्यको कुरा गर्दा अझै पनि लाज र डरको वातावरण रहेको देखिन्छ।
आर्थिक पक्ष पनि उत्तिकै संवेदनशील छ। अमेरिकामा काम नगरेका धेरै ज्येष्ठ नागरिक सोसल सेक्युरिटी वा पेन्सन पाउँदैनन्। परिवारमा पूर्ण रूपमा निर्भर हुनुपर्दा उनीहरू आफू बोझ भएको महसुस गर्न थाल्छन्, जुन आत्मसम्मानका लागि ठूलो चोट हो।
यससँगै कानुनी जोखिमहरू पनि लुकेर बसेका छन्। ग्रीन कार्ड भएर लामो समय अमेरिका बाहिर बस्नु, नागरिकता फर्म गलत भरिनु, नपाउने सरकारी सुविधा लिनु वा नबुझी कागजमा हस्ताक्षर गर्नु जस्ता साना गल्तीले ठूलो कानुनी समस्या निम्त्याउन सक्छ। फोन र इमेलमार्फत आउने इमिग्रेशन, आइआरएस वा मेडिकेयरको नाममा हुने ठगी ज्येष्ठ नागरिकका लागि गम्भीर खतरा बनेको छ।
यी समस्याको समाधान परिवार, समुदाय र संस्थाको साझा प्रयासबाट मात्र सम्भव छ। परिवारले समय दिनु, निर्णय प्रक्रियामा सहभागी गराउनु र धैर्यपूर्वक कुरा बुझाउनु अत्यन्त आवश्यक छ। समुदाय स्तरमा मन्दिर, गुम्बा, चर्च तथा आप्रवासी संघसंस्थाले ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्छ। साथै, कानुनी र स्वास्थ्य जानकारी केवल प्रमाणित स्रोतबाट उपलब्ध गराउन ध्यान दिनुपर्छ।
अमेरिकामा बस्ने आप्रवासी ज्येष्ठ नागरिकहरू केवल आश्रित होइनन्; उनीहरू अनुभव, संस्कार र इतिहासका जीवित पुस्तक हुन्। उनीहरूलाई सम्मान, सुरक्षा र सहज जीवन दिनु हाम्रो सामाजिक र नैतिक दायित्व हो। मौन पीडालाई आवाज दिनु आजको आवश्यकता हो।
र यो पनि …















