केपी ओली फेरि एमाले अध्यक्षमा निर्वाचित, महासचिवमा पोखरेल विजयी
काठमाडौं/ नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा भारी मत सहित केपी शर्मा ओली विजयी भएका छन्।
उनी एमाले अध्यक्षमा निर्वाचित भएको यो तेस्रो पटक हो। यस पटक ओली दुई तिहाइ मतसहित विजयी भए।
ओलीले प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराए।
ओलीले १६६३ भोट ल्याउँदा पोखरेल ५६४ मा रोकिए । दुई जना बीचको फरक एक हजार ९९ मत रहेको छ ।
ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।
११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।
एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । पोखरेलले १२ सय २८ मत ल्याए । पोखरेलका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले नौ सय ९९ मत ल्याए ।















