पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ :ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले साङ्गठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।
सोमबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी सामूहिक नेतृत्व, विधि र पद्धति अन्तर्गत ठिक ढङ्गले चलाउनको लागि भएको बताए ।
उनले भने, हाम्रो पार्टीको साङ्गठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो । तपाइहरूलाई अनौठो लाग्ला यो स्वाभाविक हो । उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । पार्टीलाई वास्तविक रुपमा सामूहिक नेतृत्व, विधि र पद्धति अन्तर्गत ठिक ढङ्गले चलाउने उद्देश्यसहित मेरो उम्मेदवारी हो ।’
त्यस्तै उनले काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुन व्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गर्नासाथै अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको धारणा राखे ।
यस्तै उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका पृथ्वी सुब्बा गुरुङले आगामी नेतृत्व चयनमा सहमतिको ढोका बन्द भइसकेको भन्दै आगामी नेतृत्वमा ओली नै दोहोरिने दाबी गरे ।
त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चुनावी प्रतिस्पर्धा भए पनि कसैप्रति पूर्वाग्रह नहुने बताउँदै नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएको बताए ।
सामूहिकतामा पार्टीलाई चलाउन लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।














