त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनमाथि दुर्व्यवहार र धम्की, छानबिनको माग
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिमका बाट नेपाल गएका एक गैर आवासीय नेपाली (एनआरएन) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माथि भन्सार कर्मचारीबाट आफु माथि दुर्व्यवहार भएको र धम्की दिइएको भन्दै छानविनको माग गरेका छन्।
उक्त घटनाबारे गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पनि सम्बन्धित निकायसँग औपचारिक छानबिन र आवश्यक कारबाहीको माग गरेको छ।
अमेरिकाबाट नेपाल गएका एनआरएन तथा अमेरिकी नागरिक राजेन्द्र खड्काले मिति २०८२ मंसिर २७ गते (१३ डिसेम्बर २०२५) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष (टर्मिनल–१) मा भन्सार जाँचका क्रममा आफू र आफ्ना वृद्ध अभिभावकमाथि अपमानजनक तथा धम्कीपूर्ण व्यवहार भएको भन्दै गृह मन्त्रालय र गैरआवासीय नेपाली संघमा उजुरी दिएका छन्।
उजुरी अनुसार खड्का आफ्ना ७९ वर्षका बिरामी बुबा–आमासहित नेपाल गएका थिए।
उजुरी पत्रमा उल्लेख भए अनुसार उनले आफ्नो प्रयोग गरिएको एक थान मोबाइल फोन र अभिभावकका लागि दुई थान नयाँ (सिल प्याक) आइफोन सँगै लगेका थिए।
भन्सार जाँचका क्रममा ती मोबाइल फोनहरू रोक्का गरिएपछि नियमबारे शिष्टतापूर्वक जानकारी माग्दा एक भन्सार कर्मचारीले अत्यन्तै अपमानजनक भाषा प्रयोग गर्दै “एनआरएनलाई कुनै अधिकार हुँदैन”, “चुप लाग, नत्र जेल हालिदिन्छु” भन्ने धम्की दिएको उजुरीमा उल्लेख छ।
खड्काका अनुसार उक्त कर्मचारीले अर्का कर्मचारीलाई बोलाउँदै “यसलाई पक्र” भन्दै सार्वजनिक रूपमा डर देखाएका थिए। साथै, उनका वृद्ध बुबालाई समेत जेल पठाइदिने धम्की दिइएको र आमालाई पनि बोल्न नदिई अपमानजनक व्यवहार गरिएको आरोप छ।
यस घटनाले आफूहरूमा गहिरो मानसिक पीडा, अपमान र असुरक्षाको अनुभूति गराएको खड्काले बताएका छन्।
यस घटनापछि गैरआवासीय नेपाली संघले गृह मन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र भन्सार विभागलाई औपचारिक पत्राचार गर्दै घटनाको निष्पक्ष छानबिन, दोषी कर्मचारीमाथि कानुनी तथा विभागीय कारबाही, र भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट निर्देशन तथा तालिमको माग गरेको छ।
गैर आवासिय नेपाली संघले यस्तो व्यवहारले नेपालको अन्तर्राष्ट्रिय छवि र गैरआवासीय नेपालीहरूको सम्मानमा नकारात्मक असर पार्ने भन्दै घटनालाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराएको छ। संघले पीडितलाई आवश्यक न्याय दिलाउन र प्रणालीगत सुधारका लागि पहल जारी राख्ने जनाएको छ।
यस विषयमा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ।
खड्काले गृहमन्त्री समक्ष दिइएको उजुरी यस्तो छ।
From: Rajen Khadka <rajen.khadka.rk@gmail.com>
Date: December 13, 2025 at 8:59:03 PM EST
To: control@moha.gov.np, gunaso@moha.gov.np, usaicn1@gmail.com
Subject: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कर्मचारीबाट भएको दुर्व्यवहार तथा धम्कीसम्बन्धी उजुरी
श्रीमान् मन्त्रीज्यू
माननीय ओमप्रकाश अर्याल
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ
विषयः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कर्मचारीबाट भएको दुर्व्यवहार तथा धम्कीसम्बन्धी उजुरी
महोदय,
सादर नमस्कार।
म शनिबार, मिति २०८२ साल मंसिर
२७ गते (१३ डिसेम्बर २०२५) बिहान करिब ९:३० देखि १०:३० बजे बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ (Terminal–I, International Arrival) मा एतिहाद एयरवेज (EY 1384 / Air Arabia operated) मार्फत अमेरिका हुँदै नेपाल प्रवेश गरेको नागरिक हुँ।
म आफ्ना ७९ वर्षका वृद्ध तथा बिरामी बुबा–आमासहित नेपाल आएको थिएँ। मैले आफ्ना लागि एक थान प्रयोग गरिएको मोबाइल फोन तथा बुबा–आमाका लागि दुई थान नयाँ (सिल प्याक) iPhone 17 Pro ल्याएको थिएँ। तर भन्सार जाँचको क्रममा ती मोबाइल फोनहरू विमानस्थलमै रोक्का गरियो।
यस विषयमा मैले “एक व्यक्तिले कति वटा मोबाइल फोन ल्याउन पाउँछ ?” भनी शिष्टतापूर्वक जानकारी माग्दा, त्यहाँ कार्यरत एक कर्मचारीले
“अमेरिका, क्यानडा वा जापानबाट आउनेले मात्र एउटा नयाँ फोन ल्याउन पाउँछन्, प्रयोग गरिएको बाहेक। भ्रमणमा गएका वा अन्य देशका नागरिकले नयाँ फोन ल्याउन पाउँदैनन्” भन्ने जानकारी दिनुभयो।
मैले आफू अमेरिकी नागरिक (NRN) भएको जानकारी गराउँदै, यदि मैले नियमभन्दा बढी सामान ल्याएको भए त्यसबापत भन्सार शुल्क/कर तिर्न म पूर्ण रूपमा तयार रहेको र देशका लागि कर तिर्नु कुनै बोझ वा गाह्रो कुरा नभएको कुरा राख्दै गर्दा, करिब २७–२८ वर्ष उमेर देखिने अनुमानित उचाइ ५ फिट ३ इन्च र हल्का कालो छालाको रंग भएको एक कनिष्ठ भन्सार कर्मचारीले अत्यन्तै अपमानजनक, डरत्रासपूर्ण तथा धम्कीपूर्ण भाषा प्रयोग गर्दै
“तँ त अमेरिकाको नागरिक होस्, नेपालको नागरिक होइनस्, किन बोल्छस् ? चुप लाग्, नत्र जेल हालिदिन्छु” भनी बोले।
त्यसपछि उक्त कर्मचारीले अर्का कर्मचारीलाई बोलाउँदै
“यसलाई पक्र, पक्र” भन्दै सार्वजनिक रूपमा मलाई डर देखाए। साथै, मेरा बिरामी बुबालाई समेत ‘जेल पठाइदिन्छु’ भनी धम्की दिइयो।
त्यस्तै गरी, मेरी आमालाई पनि
“तपाईं चुप लाग्नुहोस्, यहाँ तपाईंको बोल्ने ठाउँ होइन” भनी अत्यन्तै अपमानजनक व्यवहार गरियो।
उक्त कर्मचारीले
“NRN हरूलाई कुनै अधिकार हुँदैन, तिमीहरू विदेशी हौ”
भनी बोलेको भनाइले मलाई अझै पीडादायी, अपमानजनक तथा नेपालको संविधान र प्रचलित कानुनविपरीत रहेको गहिरो अनुभूति भएको छ।
यस घटनाबाट हामीजस्ता सर्वसाधारण नागरिक तथा गैरआवासीय नेपालीहरूले गहिरो मानसिक पीडा, अपमान र असुरक्षा महसुस गर्नुपरेको छ।
अतः,
1. यस घटनामा संलग्न कर्मचारीहरूको पहिचान गरी निष्पक्ष छानबिन गरियोस्।
2. दोषी देखिएमा उनीहरूलाई प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरियोस्।
3. भविष्यमा कुनै पनि नागरिक, गैरआवासीय नेपाली (NRN) वा वृद्ध अभिभावकले यस्ता दुर्व्यवहार, धम्की र अपमान सहनु नपरोस् भनी आवश्यक संरचनागत तथा प्रशासनिक व्यवस्था गरियोस्।
यस विषयमा आवश्यक कारबाही तथा मार्गदर्शन गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।
धन्यवाद।
भवदीय,
राजेन्द्र खड्का
इमेल: Rajen.khadka.rk@gmail.com
नेपाल सम्पर्क नम्बर: +977-984-268-8473
एनआरएनएको पत्र
















