युएससीआइएसले तीन वर्ष भन्दा पुराना फोटो प्रयोग नगर्ने
ल्यानक्यास्टर पेन्सिल्भेनिया/ यूएस सिटिजन तथा इमिग्रेशन सर्भिस (यूएससीआइएस) आप्रवासनसम्बन्धी कागजातमा प्रयोग हुने विदेशी नागरिकको तस्बिरको म्याद अधिकतम तीन वर्षभित्र खिचिएको हुनुपर्ने गरी नयाँ नीति लागू गरेको छ।
यो व्यवस्था तत्काल लागू भएको यूएससीआइएसले जनाएको छ।
नयाँ निर्देशिकाअनुसार कुनै पनि आप्रवासन फारम दर्ता गर्दा प्रयोग हुने तस्बिर निवेदन दर्ता मितिभन्दा अघिल्लो तीन वर्षभित्र खिचिएको हुनुपर्छ।
यससँगै अब निवेदकले आफैँ बुझाएका तस्बिर स्वीकार गरिने छैनन्। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा वा त्यसका लागि अधिकारप्राप्त निकायले खिचेका तस्बिर मात्र प्रयोग गरिनेछ।
निकायका अनुसार यसले प्रयोग हुने तस्बिर हालसालैको, यथार्थ र भरपर्दो हुने सुनिश्चित गर्छ, जसले पहिचानसम्बन्धी ठगी र कागजात दुरुपयोग रोक्न मद्दत पुर्याउँछ। आप्रवासन प्रणालीको सुरक्षा र विश्वसनीयता जोगाउन कडा छानबिन र परीक्षण प्रक्रिया अत्यन्त आवश्यक रहेको जनाइएको छ।
‘कोभिड–१९ महामारीका बेला लागू गरिएका अस्थायी सहुलियतका कारण व्यक्तिको रूप रङमा ठूलो परिवर्तन आए पनि १० वर्षसम्म पुराना तस्बिर पुनः प्रयोग गर्न मिल्ने व्यवस्था लामो समयसम्म कायम रह्यो। यसले व्यक्तिको सही पहिचान, पहिचान पुष्टि र सुरक्षा जाँच प्रक्रियामा कमजोरी आएको निकायको निष्कर्ष छ।’ यूएससीआइएसको विज्ञप्तिमा भनिएको छ।
यो नीतिगत परिवर्तन गृह सुरक्षा विभागका प्राथमिकतासँग मेल खाने गरी छानबिन तथा परीक्षण प्रक्रियालाई आधुनिक बनाउने तथा पहिचान कागजातमा देखिएका कमजोरी सम्बोधन गर्ने उद्देश्यले गरिएको बताइएको छ।
कतिपय फारममा भने अघिल्लो तस्बिर कहिले खिचिएको भए पनि नयाँ तस्बिर अनिवार्य हुनेछ। ती फारममा स्थायी बसोबास परिचयपत्र प्रतिस्थापनका लागि फारम आई–९०, स्थायी बसोबास दर्ता वा स्थिति समायोजनका लागि फारम आई–४८५, नागरिकता प्राप्तिका लागि फारम एन–४००, तथा नागरिकता प्रमाणपत्रका लागि फारम एन–६०० रहेका छन्।















