कांग्रेस र थारो गाइ
बिष्णु हरि घिमिरे
खलेगरामा दाँई सक्दा नसक्दै कार्तिकको अन्तिम अन्तिम देखि नै बस्तुभाउ छाडा छोडिन्थ्यो। गोठालो जानेलाई पनि ढुक्क । डियाँले कसैको बाली खाला भन्ने पिरै भएन।
मज्जाले गिर खेल्न पाइने। उही डन्डी वियो खेल्दा आँखा जोगाउने पिर त हुन्थ्यो नै।
हामी खेल्दै हुन्थ्यौ, त्यतिकैमा काकाबाहरु भन्थे। ‘ए कान्छा ती डाम्ना साँढेहरूलाई ढुङ्गा हान त, यिन बुढा गोरुहरूले गाई घेरे, बहर आउनै पाएन, गाई थारो हुन्छ।‘
मेरो केटाकेटी बुद्धि, अराएको माने। मलाई पनि पहारिलो घामा गरी खेल्नुको हतारो थियो।
बुढा गोरु, गाई थारोको कुरा बुझ्न मलाई तन्नेरी नै हुन पर्यो।
नचल्ने भएका बुढा गोरुहरू गाई घेरी रहेका थिए। नजिकै बहर कुरिरहेको थियो।
गाई थारो हुँदा एउटा किसानले बेहोर्नु पर्ने क्षति, त्यसको पिडा स्वमय किसान नै थाहा हुन्छ।
अहिले सात समुन्द्र पारीबाट नेपाल निहाल्दा केही दिन देखि म बाल्यकालमा फर्किरहेको छु।
ती बुढा गोरुबाट घेरिएको गाई र नेपालको पुरानो ‘लोकतान्त्रिक?’ पार्टी नेपाली कांग्रेसको हालत उस्तै उस्तै हो कि भन्ने लागेको छ।
हो, एक समय थियो, बीपी कोइरालाका कान्छा छोरा डा. शशांका कोइरालाको राप ताप । बीपीका जेठा छोरा प्रकाश खोइ किन हो काकाबाहरु सँग मिल्नै सकेन। अर्को धार समाते। माहिला छोरा श्रीहर्ष लामो समय नेपाल क्रिकेट संघ क्यानको पदाधिकारी रहे।
म चार वर्षको हुँदा बीपी खसेका । लालटिन जुलुस निकालिएको बेला मैले बीपीको बारेमा खुब सुनेको । मेरै घरको मुलिओछ्यानमा अगेनाको आगो ताप्दै । हिउँदको मौषम थियो। सत्याग्रहको बेला। मेरो ठुलदाइ स्व. भरतमणि घिमिरेले लालटिन जुलुसमा भाग लिए बापत मनाङमा रहेको स्थायी शिक्षकको जागिर गुमाउनु भएको थियो।
त्यही बेला हो, मेरो बाल मस्तिष्कमा बीपीका कुराले जरा गाढेको । दाइहरूको गफ हुन्थ्यो। राजालाई आफ्नो र परिवारको बाहेक चिन्तै छैन। जस्तो सुकै होस, रानीको कोखमा जन्मिए पछि राजा। उनीहरुले जे गरे पनि बोल्नै नपाउने । जनता भोक भोकै उनीहरू, हासिखुसी।
‘कम्युनिस्टहरू पनि ठिक होइनन् है। उनीहरूमा पनि एउटा पदमा आए पछि छोड्दै छोड्दैनन्। आफ्नो उत्तराधिकारी पनि आफै छान्छन्। उनीहरुले जे गरे पनि बोल्नै पाइँदैन।‘ त्यो अगेनाको वरिपरि आगो ताप्दै कोही बोलिरहेको हुन्थे।
म मेरो प्यारो मुलिओछ्यानमा निद्रा कुरिरहेको हुन्थे। हामी मामा भन्थ्यौ । दामोदर अधिकारी हाम्रो स्कुलमा पढाउन आउनु भएको थियो। दुराडाडाबाट जहाँ मेरो मामली।
‘कांग्रेस यस्तो पार्टी हो, जहाँ जनताले नेता चुन्छन् र उनीहरूको कुरामा चित्त नबुझे बोल्न पाइन्छ।’ उहाँले भन्नु भयो।
थाहा छैन, आफ्नो कट्टु पनि राम्रो सँग स्याहार्न नसक्ने मलाई त्यो चित्त नबुझेको कुरा बोल्न पाइन्छ भन्ने शब्दले किन घोच्यो।
मनमनै लाग्यो, चित्त नबुझेको कुरा बोल्न पाउनु पर्यो नि। खै कति खेर निदाउँथेँ । उहाँहरूको गफगाफ कति बेला सकिन्थ्यो । यो क्रम केही वर्ष चल्यो। मेरो मनमा बीपी गढ्दै गए।
काठमाडौँमा खेलकुद पत्रकारिता शुरु गरे पछि क्रिकेटको कार्यक्रममा हर्षलाई टाढैबाट देख्दा म रोमाञ्चित भएको थिए। मेरा शरीरमा काँडा उम्रिएका थिए।
म बीपीका छोरा सँग भेट्दै छु। मैले किताबमा पढेका जसलाई आदर्श मानेको छु तिनै बीपीका छोरा कस्ता होलान् । तर जब उनी सामुन्ने परे मैले नाक थुन्नु पर्यो। दिउसै ह्वास्स गन्ध आयो ।
बीपीका कान्छा छोरा डा. शशांकलाई मैले पहिलो पटक प्रत्यक्ष न्यु योर्कको जेएफके विमानस्थलमा भेटेको। उनी महामन्त्री निर्वाचित भए पछि पहिलो विदेश भ्रमणमा थिए।
डा. सायवको भ्रमण पारिवारिक थियो। तर नेपाली कांग्रेसको निर्वाचित महामन्त्री, बीपीका छोरा जो आफ्नै पिताले स्थापना गरेको पार्टीको दोस्रो शक्तिशाली पदमा थिए।
हाम्रो पुस्ताको जल्दो बल्दो नेता गगन थापा र उनका ससुरा अर्जुन नरसिंह केसी आपसमा भिड्दा फुत्किएका बीपी पुत्र शशांकले के भन्छन् मेरा लागि त्यो समाचारको विषय थियो।
बीपी पुत्रबाट फेरि म अर्को पटक निरास बने। जेएफके विमानस्थलमा छोटो कुराकानीमा उनले राजसंस्था र धर्मका विषय विवादास्पद अभिव्यक्ति दिए। मैले पहिलो पोस्टका लागि गरेको रिपोर्टिङले त्यो दिन काठमाडौँका सबै मिडियाका हेडलाइनमा स्थान पायो।
काठमाडौँ आएकै वर्ष म चाक्सीवारी पुगेको थिए। मेरो डेराबाट खासै टाढा थिएन्। कांग्रेस र बाम घटकले एक साथ बिगुल फुकेको ठाउँ, तीस वर्षे पञ्चायत विरुद्ध । २०४६ सालको परिवर्तनको लागि । जुन बेला म कट्टु खोल्दा लाज मान्ने भइसकेको थिए। त्यो चाक्सी बारी कस्तो होला भन्ने मेरो मनमा कौतुहलता थियो म गाउँमै हुँदा।
तीनै लौह पुरुष गणेश मान सिंहका छोरा प्रकाशमान । कांग्रेसको १४ औ महाधिवेशनमा प्रकाशमानले के के गरे मैले यहाँ गनथन गरिन। काठमाडौँ भन्दा बाहिर खासै पहुँच नभएका प्रकाशमानले एक खेप देश घुमेर फर्किएका डा. शेकर कोइरालालाई ‘जुनियर’ ‘मेरो कर्मचारी’ रिटार्ड भएर राजनीतिमा आएको नभनिदिएको भए ?
शुरुमा शेर बहादुर देउवा सँगै चुनाव लडेका प्रकाशमान सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरे बापत आफ्नी श्रीमती श्रृजनालाई काठमाडौँ मेयरको टिकट नदिलाएको भए ? के यो ‘स्वतन्त्र’ हरुको यो रूपको चर्चा हुन्थ्यो?
विमलेन्द्र निधी । जो महेन्द्र नारायण निधिका छोरा । देउवा ग्रुटका दोस्रो शक्तिशाली व्यक्ति । जो चुनावमा टिकट बाँड्ने हैसियतमा पुगेका थिए। जसले देउवा सँग त्यो महाधिवेशनमा असफल विद्रोह गर्दै फेरि उनकै शरणमा नपुगेको भए ?
झापामा पटक पटक चुनाव हारेका कृष्ण सिटौलाको त के कुरा भो र ? ‘कोइराला’ गुटका भित्रिया सिटौलाले रामचन्द्र पौडेलको छत्रछाया अस्वीकार गर्दै देउवा गुटमा जम्प नगरेको भए। के चितवनमा ‘घण्टी’ रालो त्यो रुपमा बज्थ्यो?
जसले आफ्नै आँखा अगाडि आफ्नै बाउको घाँटी रेटेर मारे। जसका कारण विधवा हुनु पर्यो। कतिका काख रित्तियो जसका कारण टुहुरो हुन पर्यो। जसका कारण गाउँको थातथलो छोड्नु पर्यो। आफ्नै आँगनमा आफन्तको रगतको आहाल देखेकाहरूलाई हँसिया हथौडामा भोट हाल भनेर उर्दी दिने मान्छे कांग्रेस जस्तो विरासत बोकेको पार्टीको सभापति चुनिन्थे ?
यदि चितवनको मत पत्रमा ‘रुख’ चिन्ह गायब नभएको भए, दिइएको टिकट नखोसिएको भए अमेरिकामा दर्जनौँ मुद्दा मामिला खेपेका, पारिवारिक विचलन भएका, आफ्नै नाबालक छोरा छोरीलाई भुईँमा छोडेर दुनियाँको छोराछोरीको जिम्मा लिन्छु भन्ने व्यक्तिलाई जनताले पत्याउने वातावरण बन्थ्यो ?
राजनीतिमा सबै भन्दा ठूलो शक्ति, सिद्धान्त, नैतिकता र जबाफदेहिता हुन्। यो भूले पछि हो सबका सब भएको ।
सत्ताका लागि जे पनि गर्न सक्ने शेर बहादुर देउवाको ‘बहादुरी’ ले उनलाई आफ्नै घरमा श्रीमती सहित निर्घात कुटायो। त्यो घटनाले मर्माहत बनायो जवकी दिनभर देउवा दम्पती केही सेनाको घेरामा टिनको पाता मुनि सुरक्षा खोज्दै गर्दा, नेविसंघ कहाँ गयो तरुण दल कहाँ गयो?
पछिल्ला केही दिन । यो सात समुन्द्र पारी । म थारो गाई र कांग्रेस सम्झी रहेको छु।
गिरिजा प्रसाद कोइरालाले बहुदल पछिको पहिलो संसद जब भङ्ग गरे पार्टीको आन्तरिक कलहका कारण, त्यस पछि कांग्रेस सँगको मोह ओरालो लागेको हो। त्यो अगाडि नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको दास ढुङ्गा दुर्घटना पछि काठमाडौँमा भएको उप चुनावमा कृष्ण प्रसाद भट्टराईलाई हराउने खेलको प्रत्यक्षदर्शी हुँदा मन खिन्न भएको थियो।
त्यही बेला देखि हो राजनीति निर्मम हुन्छ र मेरा लागि होइन भन्ने भएको । पछि पत्रकारिता शुरु गरे पछि म ‘डेमोक्रयाट’ । कांग्रेस र डेमोक्रयाटमा के फरक छ कुनै दिन लेखौला ।
म जनताका लागि जनताले नै शासन गर्ने व्यवस्थाको पक्षपाती।
मलाई थाहा छ, मेरै हितैषीहरू नै मलाई धारे हात लगाउने छन्। विदेशमा बसेर ‘ठुला कुरा नगर’ भन्दै ।
म परदेशबाट पनि यो लेखिरहेको छु। मैले जस्तै गरी अर्को मान्छेले देश नछोडोस्। मेरा भाइ भतिजले मेरो बाटो हिँड्न नपरोस्। त्यसका लागि देशमा लोकतन्त्र बलियो हुनु पर्छ। देशमा लोकतन्त्र बलियो हुनका लागि कांग्रेस सङ्लो हुनु पर्छ।
किनकि, मैले माथि पनि भने, चित्त नबुझेको कुरा बोल्न पाउनु पर्छ। हामीले ‘वाइसीएल’ भोगेकै हौ। ‘बा’ हरुका ‘साइबर सेना’ बेहोरेकै हौ । अब अहिले ‘स्वतन्त्र’ र ‘नयाँ’ भनिएकाहरूलाई देख्दै छौ। ‘फरक विचार माथि कुन हदमा प्रहार भयो र हुन्छ।’ त्यो बेला बन्दुकका नालबाट गोली निस्किए र अहिले इन्टरनेटबाट गोली निस्कन्छ। फरक विचार माथि ।
लोकतन्त्र त्यो बेला बलियो हुन्छ जुन समय हरेक व्यक्तिले निर्धक्क सँग आफ्नो भनाई राख्न पाउँछ।
अहिले आकासमा बादल मडारिएको । बागमती धमिलिएको छ। कुहिराको काग जस्तो छ मुलुकको राजनीति। मुलुक ट्र्याकमा आउनका लागि दलहरूको गति र मति फेरिनै पर्छ।
त्यसका लागि कांग्रेसले लय समाउनु पर्छ। त्यो भन्दा अगाडि बुढागोरुहरुले बहरलाई पालो दिनु पर्छ।
नत्र थारो गाई र कांग्रेस उस्तै उस्तै हुन्छ।















