अमेरिकामा वर्क परमिट स्वतः नवीकरण नहुने
वासिङ्टन (डी.सी.) / अमेरिकी गृह मन्त्रालय (डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी-डीएचएस) ले बुधवार एक विज्ञप्ती जारी गर्दै रोजगारी अनुमति पत्र (अपोइन्टमेन्ट अथुराइजेशन डकुमेन्ट-इएडी) स्वतः नवीकरण नहुने जनाएको छ।
डीएचएसले यस अगाडि स्वतः म्याद विस्तारको प्रथा अन्त्य गर्ने अन्तरिम अन्तिम नियम जारी गरेको छ।
नयाँ नियम अनुसार, अक्टोबर ३० देखि नवीकरणका लागि आवेदन दिने व्यक्तिहरूले अब स्वतः इएडी विस्तार पाउने छैनन्। तर, कानुनले व्यवस्था गरेका वा टेम्पोररी प्रोटेक्ड स्टाटस (टीपीएस) सम्बन्धी फेडरल रजिस्टर सूचनाबाट हुने विस्तारहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्।
अमेरिकामा बसोबास गरिरहेका गैर–अमेरिकी नागरिकहरूलाई कानुनी रूपमा काम गर्न अनुमति दिने कागजातलाई इएडी भनिन्छ। यसलाई सामान्यतया “वर्क परमिट” पनि भनिन्छ।
यो अनुमति पत्र यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससिआइएस) बाट जारी गरिन्छ, र यसले विदेशी नागरिकलाई अमेरिकाभित्र कानुनी रूपमा काम गर्न अधिकार दिन्छ।
इएडी मुख्यतया अस्थायी भिसा, एसाइलम मागेका व्यक्ति , टिपीएस र का वा अन्य मानवीय आधारमा अमेरिकामा रहेका व्यक्तिहरूका लागि प्रयोग हुन्छ।
इएडी प्राप्त भएपछि अमेरिकामा कर तिर्न र सोसल सेक्युरिटी नम्बर लिन समेत योग्य हुन्छन् । जुन अमेरिकामा बसोबास र कामका लागि अत्यावश्यक मानिन्छ।
डीएसएसका अनुसार, यो नियमले अमेरिका भित्र रोजगारी अनुमति लिने विदेशी नागरिकहरूको पृष्ठभूमि जाँच र भिसा सुरक्षा प्रक्रिया थप कडा बनाउनेछ। यसले धोखाधडी नियन्त्रण गर्न र सुरक्षा जोखिम हुने सम्भावित व्यक्तिहरूलाई छानबिनपछि देशबाट निष्कासन गर्न सजिलो हुने बताइएको छ।
यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससिआइएस) का निर्देशक जोसेफ एड्लो का अनुसार, ‘यो नीति सामान्य ज्ञानमा आधारित कदम हो जसले हरेक व्यक्तिको उचित जाँच र छानबिन पूरा भएपछि मात्र रोजगारी अनुमति विस्तार सुनिश्चित गर्छ। अमेरिकामा काम गर्नु अधिकार होइन, एक विशेषाधिकार हो।’ उनले भने।
युएससिआइएसले विदेशी नागरिकहरूलाई आफ्नो रोजगारी अनुमति समाप्त हुनु एक सय ८० दिनअघि नै नवीकरणको लागि आवेदन दिन सिफारिस गरेको छ। ढिलो आवेदन दिएमा अस्थायी रूपमा रोजगारी अनुमति गुम्ने जोखिम रहन्छ।
नयाँ नियमले २०२५ अक्टोबर ३० अघि स्वचालित रूपमा विस्तार भइसकेका इएडीमा कुनै असर नपार्ने बताइएको छ।
यो नयाँ नियमबाट लाखौँको संख्यामा रहेका विदेशीहरू प्रभावित हुने जनाइएको छ।
यसबाट शरणार्थी / असाइली स्टाटसमा रहेका व्यक्तिहरू, एडजस्मेन्ट स्टाटसमा रहेका व्यक्तिहरू, एच-४ वा अन्य डिपेन्डेनमा रहेकाहरू प्रभावित हुने छ।












