अमेरिकासहित तीन देशमा हुने विश्वकप फुटबल २०२६ का लागि १० लाख बढी टिकट बिक्री
फिफा विश्वकप २०२६ को लागि भिसाको प्रि-सेल ड्र (पहिला नै टिकट किन्ने अवसर) भएसँगै १० लाख भन्दा बढी टिकट बिक्री भएका छन्। गत सेप्टेम्बरको मध्यमा सुरु भएको प्रि-सेल ड्रमार्फत २१२ देश र क्षेत्रका फ्यानहरूले टिकट किनेको फिफाले जनाएको छ।
आयोजक तीन देश अमेरिका, क्यानडा र मेक्सिकोमा बस्ने फ्यानले सबैभन्दा धेरै टिकट किनेका छन्। त्यसपछि इंग्ल्याण्ड, जर्मनी, ब्राजिल, स्पेन, कोलम्बिया, अर्जेन्टिना र फ्रान्सका फ्यानले धेरै टिकट खरिद गरेका छन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले एक चरणमा दश लाख बढी टिकट बिक्री भएपछि निकै उत्साहित भएको बताएका छन्। उनले भने, ‘आज हामी भिसा प्रि-सेल ड्र पछि १० लाख भन्दा बढी फिफा विश्वकप टिकट बिक्री भएको उत्सव मनाउँदैछौं। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका आयोजकको नेतृत्वमा २०० भन्दा बढी देश र क्षेत्रका फ्यानहरूले पहिले नै टिकट खरिद गरिसकेका छन्।’
प्रि-सेलमा टिकट नपाएका वा टिकट किन्न नपाएका फ्यानले अब अक्टोबर २७ तारिख सोमबारदेखि ‘अर्ली टिकट ड्र’ (छिटो टिकट किन्ने अवसर) को लागि आवेदन दिन सक्नेछन्।
यसअघिदेखि नै सबै १०४ खेलका लागि सिंगल-म्याच टिकट, साथै कुनै निश्चित स्थान र टोलीका लागि विशेष टिकटको योजना भने सञ्चालन छ। यो योजनामार्फत पनि टिकट किन्ने दर बढिरहेको फिफाको भनाइ छ।
टिकट होल्डरहरूका लागि FIFA.com/tickets मा एक आधिकारिक फेरि टिकट बिक्री गर्न सकिने प्लेटफर्म पनि उपलब्ध छ। यसले फ्यानलाई नक्कली वा अनाधिकृत टिकटबाट जोगाउन मद्दत गर्छ।
फ्यानहरूले FIFA.com/hospitality बाट सिंगल-म्याच र मल्टी-म्याच हस्पिटालिटी प्याकेज पनि किन्न सक्छन्, जसमा खेलको टिकट समावेश हुन्छ।
फिफाले सधैँ फ्यानलाई FIFA.com/tickets बाट मात्र टिकट किन्न प्रोत्साहन गरेको छ। किनभने यो फिफा विश्वकपको लागि टिकटको आधिकारिक माध्यम हो। अनाधिकृत स्रोतबाट खरिद गरिएका हस्पिटालिटी प्याकेज र टिकटहरू मान्य नहुन सक्छन्।
टिकटको समय तालिका र अन्य जानकारीका लागि FIFA.com/tickets हेर्न सकिन्छ।
















