ओमान सँगको जित सँगै नेपाल उपाधि नजिक

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया/पूर्वी एसिया-प्यासिफिक छनोट छनोटअन्तर्गत सुपर-६ को खेलमा लगातार तेस्रो खेलमा निकालेसँगै नेपाल उपाधि नजिक पुगेको छ।
यसअघि नै टी-२० विश्वकपमा छनोट भइसकेको नेपालले स्थानीय समय अनुसार बुधबार राति घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै ८ अंक पुर्याउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। दोस्रो स्थानको ओमानको ६ अंक छ।
अब सुपर-६ को अन्तिम दिन शुक्रबार नेपालले सामोआसँग खेल्नेछ। सो खेलमा जित निकाले नेपालले छनोटको उपाधि जित्नेछ।
यसअघि बुधबार दिउँसो युएईले सामोआलाई पराजित गरेपछि नेपाल र ओमान अन्तिम दुई खेलअघि नै आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकपमा पुगेका थिए। अब युएई र जापान मध्ये एक टोली एसियाबाट विश्वकपमा पुग्नेछ।
बुधबार नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाउँदा अरू ब्याटर चल्न सकेनन्।
बलिङमा नेपालका गुल्झन झाले ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवको नाममा २-२ विकेट रह्यो। सन्दीप लामिछानेले १ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमार्फत् एक रनआउट गरे
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। कुशलले ६९ रन जोड्ने क्रममा ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ रन जोडे।
तर रोहित पौडेल १ रन, दीपेन्द्रसिंह ऐरी २ रन र कुशल मल्ल ७ रनमा आउट हुँदा नेपालले मध्य ओभरमा दबाब झेल्न परेको छ।
आदिल अन्सारीले १५ बलमा १६ रन र गुल्झन झाले १८ रन बनाए। आदिलले १५ बलमा ३ चौका र गुल्झनले १० बलमा २ छक्का प्रहार गरे। नन्दन यादवले ९ रन जोड्दा सोमपाल कामी १ रन र लोकेश बम शून्यमा आउट भए।
बलिङमा ओमानका नदीम खानले ४ विकेट लिए।